विदेशको सीप, स्वदेशमा कर्म
प्यूठान : मल्लरानी गाउँपालिका–५ सरङकोटका मुकुन्दबहादुर मल्लले विदेशमा सिकेको सीपलाई स्वदेशमै उपयोग गर्न थालेका छन् । तीन वर्ष मेलेसियामा कृषि कर्म गरेका उनले अहिले स्वदेशकै माटोमा कृषिमै भविष्य खोज्दै छन् ।
बाख्रापालन र च्याउ खेती सुरु गरेका उनले अहिले बेमौसमी तरकारी खेती सुरु गरेका छन् । ‘मेलेसियामा बस्दा कृषि काम सिकेको हुँ’, उनले भने, ‘स्वदेशमै केहि गर्नुपर्छ भन्ने लागेर दाङमा कुखुरापालन सुरु गरे’, कुखुरापालन गर्दाको समय सम्झँदै उनले भने, ‘लकडाउनका कारण यो व्यवसाय टिक्न सकेन ।’ दाङको जमिन भाइलाई छोडेर उनी अहिले सरङकोटमा कृषि कर्म थालेका छन् ।
गतवर्ष २१ क्विन्टल च्याउ उत्पादन गरेका उनले कुखुरापालन र बाख्रापालनसँगै अघि बढाएका छन् । ‘झन्डै ७० माउ बाख्रा छन्’, उनले भने, ‘कृषि उत्पादनमा विविधता अपनाउने हो भने राम्रो आम्दानी गर्न सकिन्छ भन्ने लागेको छ,’ उनले अहिले टनेल खेती सुरु गरेका छन् ।
एउटा पक्की टनेलबाट सुरु गरेका उनले यसलाई विस्तार गरी ७३ वटा पुर्याएका छन् । टनेलमा मौसमी तथा बेमौसमी टमाटर उत्पादन गर्ने उनले बताए । ‘एउटा टनेलबाट १० क्विन्टल टमाटर उत्पादन हुनेछ’, उनले भने, ‘टनेलभित्र उत्पादन गर्दा चियोयाममा समेत उत्पादन दिन्छ ।’ उनको टनेल खेतीबाट यहाँका किसानहरू समेत उत्साहित भएका छन् । यस क्षेत्रमा अहिले १ सय ३ वटा टनेल निर्माण भएका छन् । यसको उत्पादनका लागि थोपा सिँचाइ प्रविधि प्रयोग गर्न दुईवटा प्लास्टिक पोखरीसमेत निर्माण गरिएको छ ।
बेमौसमी प्याज उत्पादनका लागि मल्लले २५ क्विन्टल प्याजको बिउ उत्पादन गरेका छन् । ‘भदौको पहिलो सातातिर प्याज खेती सुरु गर्छु’, उनले भने, ‘चाडपर्वको महिना असोज, कात्तिकमा हरियो प्याजको माग बढी हुन्छ ।’ २५ क्विन्टल प्याजको बिउमध्ये ५ क्विन्टल बिक्री गरी बाँकी २० क्विन्टल आफंै खेती गर्ने उनको योजना छ ।
उत्पादनको बजारीकरणमा समस्या नहुने उनी बताउँछन् । ‘अहिले पनि जिल्लामा दैनिक ३५/४० साना तरकारी÷फलपूmलका गाडी आउने गर्दछन्’, उनले भने, ‘यही उत्पादन भएको अर्गानिक, विषादी प्रयोग नभएको उत्पादनको बजार राम्रो छ ।’ मल्लले कृषि व्यवसाय सञ्चालनका लागि यहाँका अन्य युवाहरूलाई समेत रोजगार दिएका छन् । उनले मासिक २० हजार रुपैयाँ पारि श्रमिक दिएर तीन जनालाई रोजगार दिएका छन् । कामका आधारमा दैनिक ज्यालादारीमा समेत जनशक्ति परिचालन गर्दै आएका छन् । कृषि व्यवसायकै लागि उनले यहाँ करिब ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।
किसानले उत्पादन गरेको कृषि उपज सामग्रीमा मल्लरानी गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिने गरेको छ । ‘गाउँपालिकाले तोकेको संकलन केन्द्रमा किसानले ल्याउने उत्पादनका आधारमा अनुदान दिने व्यवस्था मिलाएका छौं’, गाउँपालिकाका उपाध्यक्ष रमेशकुमार श्रेष्ठले भने, ‘वितरणमुखी अनुदानभन्दा यो अनुदानले कृषकहरू उत्साहित छन् ।’ उत्पादनमा आधारित अनुदान वास्तविक किसानसम्म पुग्ने र यो उपयोगी भएको उनले अनुभव सुनाए । उनका अनुसार अहिले पालिका भित्र किसानहरू उत्पादनका लागि मिहनेत गर्न थालेका छन् ।
लकडाउनका कारण बिदेसिने सोचमा रहेका मल्ललाई पुनः कृषि पेसामै व्यावसायिक बनाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानले समेत सहयोग गरेको छ । ‘कृषि पेसाप्रतिको उनको लनशीलता निक्कै प्रेरणादायी छ,’ कार्यालय प्रमुख चुमानसिंह गिरीले भने, ‘उनलाई कृषि पेसामा अडाई राख्न हामीले प्राविधिक सहयोग गर्दै आएका छौं ।’
कार्यालयमार्फत टनेल निर्माणका लागि प्रविधि सहयोग, प्लास्टिक पोखरी निर्माण, औजार, बिउ तथा विषादी, प्याजको बिऊ उत्पादन गरी यस वर्ष करिब ८ लाख रुपैयाँबराबरको सहयोग गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस !