अलमलमा शिक्षा ऐन

अलमलमा शिक्षा ऐन

खण्डित ऐनले वर्तमान अवस्थाको वास्तविक समस्यालाई सम्बोधन गर्न सक्दैन। सारवान् ऐन निर्माण गरेपछि अन्य व्यवस्था समेटिएको विद्यालय शिक्षा नियमावली निर्माणको जिम्मा स्थानीय तहलाई दिनु संघीयता, संविधान र शिक्षा सुधारका दृष्टिकोणले अपरिहार्य हुन्छ।

मौजुदा शिक्षा ऐन २०२८ सालमा जारी भएको हो । पाँच दशकभन्दा लामो यात्रामा तीनवटा संविधान बने । तर, संविधानअनुकूलको शिक्षा ऐन बनेन । पुरानै ऐनलाई संशोधन र टालटुल गरेर काम चलाइयो । स्वार्थ समूहको दबाबका कारण लामै समय चर्चा परिचर्चा अझ जारी गर्ने मिति नै तोक्ने काम गरे पनि शिक्षा ऐन जारी हुने छेकछन्द अहिलेसम्म देखिएको छैन ।

जितिन्छ कि बितिन्छ भन्ने नाराका साथ शिक्षक महासंघको एक महिनाको आन्दोलनले असार १५ सम्म नयाँ शिक्षा ऐन आउने वातावरण त बनायो तर जिम्मेवार निकाय गम्भीर नहुँदा साउन महिना लाग्दासमेत संघीय संसद्बाट शिक्षा ऐन आउँछ नै भन्न सकिने अवस्था देखिँदैन । एक समूहका माग पूरा गर्दा अर्को समूह तात्तिने, विद्यालयमा विद्यार्थीलाई केन्द्रमा नराखी शिक्षक र उनीहरूका जागिरलाई मात्र ध्यान दिई काम गर्ने प्रवृत्ति बढेकाले नेपाली माटो सुहाउँदो वास्तविक शिक्षा ऐन अन्योलमै छ ।

किन पाक्दैछ खिचडी ? : आन्दोलनले असार १५ सम्ममा शिक्षा ऐन आउने आशा जगाएको थियो । आन्दोलनलाई साम्य पार्न गरिएको सम्झौता पूरा हुने बलिया आधार र कारण नभए पनि योजना र पूर्व तयारीबिनाकै कार्यक्रमहरू हुने गरेको नेपाली परिप्रेक्ष्यमा शिक्षा ऐन जारी हुने झिनो आशा भने राखिएको थियो । लामो समयदेखि शिक्षा ऐनको कुरा गरे पनि शिक्षा ऐन जारी हुन नसक्नुका पछाडि मुख्य दुई कारण छन् । नेपालको संविधानमा रहेको अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी व्यवस्था र यसैलाई टेकेर निर्माण गरिएको अनिवार्य तथा निःशुल्क शिक्षा ऐन एवं नियमावली एउटा कारण हो भने निजी विद्यालयलाई नाफारहित गुठीमा रूपान्तरण गर्ने कानुनी व्यवस्था अर्को प्रमुख कारण हो । सरकारमा संलग्न राजनीतिक दलका धेरैजसो पहुँचवाला व्यक्तिका निजी विद्यालय कम्पनीका रूपमा छन् । उनीहरू आफ्नो लगानी संरक्षण हुनुपर्ने कुरामा लामो समयदेखि लबिङमा देखिन्छन् ।

निजी वा संस्थागत विद्यालयको लगानी सुरक्षित गर्ने मात्र होइन, लगानीअनुरूपको नाफा कमाउने व्यवस्था पनि हुनुपर्छ भन्ने दिशामा सरकार देखिएको छ । अनिवार्य तथा निःशुल्क शिक्षालाई अपव्याख्या गरी सरकारी तवरबाट सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा दिए राज्यको दायित्व पूरा हुन्छ भन्ने भाष्य स्थापित गरिएको छ । गुणस्तर त संस्थागत विद्यालयमा मात्र हुन्छ, सामुदायिक विद्यालय त शिक्षकले जागिर खाने ठाउँ मात्रै हुन् भन्ने जनमानसको धारणा देखिन्छ । यसैले दिनानुदिन सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको छ । गुणस्तरलाई सुनिश्चित गर्ने योग्य जनशक्तिको व्यवस्था गर्नुको सट्टा राजनीतिक आस्था, नाता र कृपाका आधारमा विद्यालयमा अनेक थरी शिक्षक राखिएका छन् ।

उनीहरूका आन्दोलन, सम्झौता र स्वार्थपूर्ण राजनीतिले सामुदायिक विद्यालय तहसनहस छन् । राजनीतिक दलसंरक्षित शिक्षकका पेसागत संघ संगठनले दक्ष व्यक्तिलाई शिक्षण पेसामा प्रवेश बन्द गर्दै शिक्षा सेवालाई पेवा बनाउने उद्देश्यले आन्दोलन गरिरहेका छन् । कार्यरतलाई नै स्थायी र स्वतः स्थायी गर्न आरक्षण गर्ने, नयाँलाई प्रवेशमा सहज वातावरण नबनाउने कामले सामुदायिक विद्यालयको गुणस्तर सुधार हुने सम्भावनाका ढोकासमेत बन्द हुँदै गएका छन् । त्यसो त पछिल्लो समय संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक शिक्षा विधेयक नबनी शिक्षक ऐन र निजी लगानीकर्ता संरक्षण ऐन बन्न थालेको आभास हुन्छ ।

जसले दबाब दियो उसैको प्रभाव ऐनमा पर्नु र स्वार्थ समूहको स्वार्थको द्वन्द्व छरपस्ट हुनु राम्रो लक्षण होइन । स्वार्थ समूह आ–आफ्ना उद्देश्य पूर्ति गर्ने दृष्टिकोणले दबाब सिर्जना गर्ने र सरकारले शिक्षाको उद्देश्य पूरा गर्ने नभई समझदारीमा ऐन जारी गर्ने मनसाय राख्नुले गुणस्तर, विद्यार्थी र अभिभावकका सरोकारका विषयले ऐनमा प्रवेश नै पाउन सकेका छैनन् । अहिले छलफल भएको मौजुदा विधेयक नै ऐनका रूपमा पारित भएमा यसले विद्यालयको गुणस्तर र व्यवस्थापनमा कुनै योगदान पुर्‍याउने छैन, बरु शिक्षामा व्यापारीकरण र राजनीतिक दलसंरक्षित संघ संगठनहरूको प्रभावलाई नै सशक्त बनाउने छ ।

समाधान के हो त ? : नेपाली शिक्षा क्षेत्रमा अनेक किसिमका समस्या छन् । तुलनात्मक रूपमा उच्च शिक्षा वा विश्वविद्यालयभन्दा विद्यालय तहका पठनपाठन क्रियाकलाप प्रभावकारी छन् । वर्तमान सन्दर्भमा नेपाली शिक्षामा सामुदायिक र संस्थागत दुवै किसिमका विद्यालयको योगदान छ । कुनै एक पक्षलाई तिरस्कार गरेर शिक्षा सुधार गर्ने सपना देख्नु निरर्थक हुन्छ । वास्तविक धरातलमा टेकेर आवश्यकता पूर्ति गर्ने निष्पक्ष ऐन निर्माण गर्नु आजको आवश्यकता हो । ऐन निर्माणका आधार संघीयता र संविधानले निर्दिष्ट गरेका विषयवस्तु हुनुपर्छ ।

शिक्षक वा लगानीकर्ताको स्वार्थ होइन, विद्यार्थी र अभिभावकलाई केन्द्रमा राखी राज्यको नीति दर्साउने संक्षिप्त ऐन निर्माण गर्नु आजको आवश्यकता हो । यसका लागि विद्यालयको पुनर्नक्सांकन, दरबन्दी मिलान, शिक्षक विद्यार्थी अनुपात समायोजन, भौगोलिक र जनसंख्यात्मक वितरणको अध्ययन शिक्षा ऐन जारी गर्नुका पूर्वसर्त हुन सक्छन् ।

राज्य संघीयतामा गएको वर्तमान परिप्रेक्ष्यमा विद्यालय शिक्षा ऐन होइन, अखण्ड शिक्षा ऐन जारी गरिनु आवश्यक छ । यस प्रकारको शिक्षा ऐनमा शिक्षासँग सम्बन्धित विद्यालय तहदेखि विश्वविद्यालयसम्मका सम्पूर्ण क्षेत्र समावेश हुनुपर्छ । जसले देशको शिक्षा नीति, व्यवस्था र कार्यक्रमका लागि स्पष्ट मार्गदर्शन गर्न सक्छ । खण्डित ऐनले वर्तमान अवस्थाको वास्तविक समस्यालाई सम्बोधन गर्न सक्दैन । सारवान ऐन निर्माण गरेपछि अन्य व्यवस्था समेटिएको विद्यालय शिक्षा नियमावली निर्माणको जिम्मा स्थानीय तहलाई दिनु संघीयता, संविधान र शिक्षा सुधारका दृष्टिकोणले अपरिहार्य हुन्छ । स्थानीय तहलाई जिम्मेवार नगराईकन सामुदायिक विद्यालयमा गुणस्तर कायम गर्न सकिँदैन । स्थानीय तहकै माध्यमबाट सामुदायिक र संस्थागत दुवै विद्यालयको गुणस्तर व्यवस्थापन, आर्थिक पारदर्शिता र विद्यालय नक्सांकनका काम पूरा गर्न सकिन्छ ।

स्थानीय तह ऐन निर्माण, अनुगमन र कार्यान्वयनमा लाग्ने हो भने समग्र विद्यालय शिक्षाको गुणस्तरमा आमूल परिवर्तन आई शिक्षा क्षेत्रमा थुप्रिँदै आएका विकृति निराकरण हुने छन् । संघीय सरकारले एकांकी विद्यालय शिक्षा ऐन भनेर विद्यालय शिक्षकको ऐन एवं निजी लगानीकर्ता संरक्षण ऐनको झझल्को आउने ऐन जारी गरेर शिक्षा क्षेत्रलाई झनै तहसनहस बनाउनुहुँदैन । अबको समाधान भनेकै संघीय व्यवस्थापिकाबाट शिक्षा ऐनको सैद्धान्तिक रूपरेखा निर्माण गर्ने र सम्बद्ध ऐन, नियम, नियमावली बनाउने कार्य स्थानीय तहलाई सुम्पनु हो । यसो गरेमा शिक्षा सुधार गर्ने अनुकूल ऐन जारी हुन सक्ने छन् । अन्यथा पाँच दशकभन्दा लामो समयदेखि अल्झिँदै आएको ऐन निर्माणको अलमल अनन्त कालसम्म लम्बिँदै जाने सम्भावना रहन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.