१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादन ठप्प, पुसअघि सम्भावना न्युन
काठमाडौं : रसुवामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा ठूलो रसुवागढीको उत्पादन बन्द छ। गत असार २४ गते आएको भोटेकोशीको बाढीले आयोजनाको संरचनामा क्षति पुर्याएपछि १११ मेगावाटको उत्पादन बन्द भएको हो। त्यसको केही दिनअघि आयोजनाको डिसेन्डरमा लेदो आएर थुप्रिएका कारण आयोजनाले उत्पादन बन्द गरेको थियो।
थुप्रिएको लेदो पन्छाएर सञ्चालनमा ल्याउने तयारी हुँदै गर्दा ठूलो बाढी आएर आयोजनाको हेडवर्क्स र ड्याम साइडमा क्षति गर्यो। पावर हाउसमा बाढी पस्दा उत्पादन सुरु हुन् सकेन। आयोजना प्रमुख तथा निमित्त प्रमुख कार्यकारी अधिकृत सत्य राम ज्याख्वका अनुसार वर्षाको समयमा आउने बाढी थेग्नसक्ने संरचना थियो।
अहिले आएको बाढीले पनि प्रोटेक्सन वालमा क्षति नपुर्याउको उनले बताए। ‘बाढीले बाहिरी संरचनामा ठूलो क्षति गरेको छ। वर्षाको कारण आएको बाढीले सानोतिनो क्षति त गर्थ्यो तर यति ठूलोचाहिँ गर्ने थिएन। हामीले बाढीको जोखिमलाई मध्यनजर गरेर नै सोहीअनुरूप संरचना निर्माण गरेका थियौं। तर, धेरै ठूलो बाढी आएका कारण क्षति पनि ठूलो भयो,’ अन्नपूर्णसँ उनले भने। हिमताल विस्फोट भएर आएको खण्डमा चाहिँ ठूलो क्षति हुने आयोजनाले आकलन गरेको थियो।
आयोजनाका अनुसार बाढीले गेटमा ठूलो पुर्याएको छ। जसले गर्दा तत्काल उत्पादन सुरु गर्ने सम्भावना छैन। बाढीले गेटमा कति क्षति गरेको छ भन्ने एकीन भइसकेको छैन। यो आयोजना चिनियाँ ठेकेदार चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुई)ले निर्माण गरेको हो। आयोजना निर्माण गरेको सिडब्लुईका टोली आएर क्षतिको अवस्था हेर्ने छन्। आयोजना प्रमुख ज्याख्वले भने, ‘निर्माण पक्षसँग हामीले कुराकानी गरेका छौं। उनीहरू आउने तयारीमा छन्। तर, बाढीले क्षति गरेको सडक सञ्चालनमा नआएका कारण उनीहरू आउन ढिलाइ भएको छ। उनीहरू आएर ड्यामेज भएको संरचना हेरेपछि मात्र यसको काम अघि बढ्ने छ।’

नयाँ गेट जडान गर्ने वा त्यसलाई नै मर्मत गर्ने भन्नेबारे टोलीले आएर जाँच गरेपछि मात्र पत्ता लाग्ने छ। आयोजनाले उत्पादन सुरु गरेपछि चिनियाँ ठेकेदार फर्किइका थिए। अहिले आयोजनामा ठेकेदारका तर्फबाट दुईजना चिनियाँ रेखदेखका लागि बसेका छन्। आयोजना निर्माण गरेपछि दुई वर्षसम्म मर्मत लगायतका काम ठेकेदारले नै गर्ने गर्छ।
२०७० माघदेखि निर्माण सुरु भएको आयोजनाले गत पुसदेखि उत्पादन सुरु गरेको थियो। उत्पादन सुरु भएको ६ महिना नबित्दै आयोजनाको उत्पादन बन्द हुन पुग्यो। निर्माणको समयमा बाढी, पहिरो र कोरोनालगायतका कठिनाइ व्यहोरेको आयोजनाले अहिले अर्को चुनौतीको सामना गर्न परेको हो।

बर्खा सकिएपछि मात्र मर्मत
बाढीले क्षति गरेको आयोजनाको मर्मतको काम बर्खा सकिएपछि मात्र हुने छ। बर्खाको समयमा सामग्री ढुवानी गर्न नसकिने र बाढीको जोखिम पनि हुने भएकाले मर्मतको काम ढिला गरी सुरु हुने भएको हो। अहिले सडक अवरुद्ध भएका कारण सामग्री ढुवानी हुन सकेको छैन। बाढीले क्षति गरेको स्याफ्रु-रसुवागढी सडक अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। जसका कारण सामग्री आयोजना स्थलसम्म पुर्याउन नसकिएको हो।

बर्खाको समयमा यो सडक प्रत्येक वर्ष बन्द हुने गरेको छ। सडक सञ्चालनमा आएपछि मात्र चिनियाँ ठेकेदारको टोली आयोजना स्थलमा आउने छन्। चिनियाँ टोलीले आएर निरीक्षण गरेपश्चात् मर्मत तथा पुनःनिर्माणको काम अघि बढ्ने आयोजना प्रमुख ज्याख्वले बताए। उनका अनुसार आयोजना पुसअघि सञ्चालनमा आउने सम्भावना कम छ।

आयोजना बन्द भएका कारण कम क्षति
बाढी आउने दिन आयोजना बन्द थियो। ठूलो बाढी आउनुभन्दा तीन दिनअघिदेखि आयोजनाले उत्पादन गरेको थिएन। बाढीले डिसेन्डरमा क्षति गरेपछि सबै भल्ब बन्द हुँदै गयो। जसले गर्दा आयोजनाले प्लान्ट बन्द गर्यो। जसले गर्दा आयोजनामा कम क्षति भयो। इन्टेक बन्द भएका कारण भित्री संरचनामा कम क्षति भयो। मुनिको गेटबाट बाढी छिरे पनि ठूलो क्षति गर्न पाएन।

प्रतिक्रिया दिनुहोस !