लाभांशको आसमा लगानीकर्ताको आकर्षण
काठमाडौं : नयाँ आर्थिक वर्षको सुरुवातसँगै सेयर बजारले दिन प्रतिदिन नयाँ रेकर्ड राख्दै आएको छ । विशेषगरी आर्थिक वर्ष (आव) २०८१/८२ को अन्त्यसँगै कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले लाभांश प्राप्तिको आसमा लगानीकर्ताहरू तुलनात्मक रूपमा सेयर बजारमा आकर्षित भएको सरोकारवालाहरू बताउँछन् ।
कारोबार प्रवृत्तिले पनि त्यस्तै देखाउँछ । साताको पहिलो दिन आइतबार २१ अर्ब ६४ करोड ७६ लाख हाराहारीमा सेयर खरिदबिक्री भएर नयाँ रेकर्ड राख्यो । यो झन्डै १ वर्षपछिकोे दैनिक कारोबारको ठूलो आकार थियो । यस्तै, यसअघि साताको दोस्रो दिन सोमबार कारोबारका आधारमा अघिल्लो दिनको बराबर नभए पनि नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा पुग्यो । जबकि, अघिल्लो दिन कारोबारको आकार बढे पनि नेप्से परिसूचक भने एकल अंकले घटेको थियो । सोमबार नेप्से परिसूचकका आधारमा भने साढे ४ महिनाकै उच्च रहेको छ ।
यसअघि २०८१ फागुन १८ मा नेप्से परिसूचक बढेर २८९०.२९ विन्दुमा पुगेर टुंगिएको थियो । यसपछिका दिन नेप्से परिसूचक ओरालो लागिरह्यो । हुन त यसबीच सबैभन्दा कम २५८२.७४ विन्दुसम्म नेप्से परिसूचक झरेको थियो । यद्यपि, साताको कारोबारको दोस्रो दिन भने परिसूचक बढेसँगै सो दिन सेन्सेटिभ इन्डेक्स ४.४६ अंकले, फ्लोट इन्डेक्स १.६० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६८ अंकले बढ्यो ।
अहिले समग्र सेयर कारोबार बढेसँगै परिसूचक पनि उकालो लाग्न थालेको देखिन्छ । सोमबार मात्रै ३ सय ११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भयो । उक्त कित्ताबराबरको खरिदबिक्री १ लाख ३८ हजार ८२८ पटकसम्म हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँबराबरको कारोबार देखियो ।
तर, कुल कारोबार रकम भने आइतबारको तुलनामा ५ अर्ब ३२ करोड ५ लाख रुपैयाँले कम थियो । तथापि, कारोबारमा आएका कुल कम्पनीमध्ये १ सय ५३ वटा स्टक्सको मूल्य बढ्दा ९६ वटाको भने घट्न गयो । यस दिन १३ वटै समूहको उपसूचकमा हरियाली छाएको छ । डेभलपमेन्ट, माइक्रोफाइनान्स, नन लाइफ इन्स्योरेन्स र अदर्स (अन्य) समूहको उपसूचक १ प्रतिशतले बढीले वृद्धि हुन पुग्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकअनुसार सोमबार मात्रै ३ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । जसअनुरूप थ्री स्टार हाइड्रोपावरको सेयर ९.९९ प्रतिशतले बढ्यो ।
ट्रेड टावर र सानभी इनर्जीको सेयर ९.९८ प्रतिशतले बढ्दा उन्नति सहकारी लघुवित्त वित्तीय संस्थाको ९.४० प्रतिशतले बढ्यो । तर, दुईवटा कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भयो । जसमा ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्टको सेयर १० प्रतिशतले र कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९६ प्रतिशतले घट्दा सिन्धु विकास बैंकको ६.३६ प्रतिशतले घट्यो । यसैबीच ७५ करोड ६६ लाख बढीको सेयर कारोबार गरी नेपाल री–इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । यससँगै, हिमालयन री–इन्स्योरेन्सले ७५ करोड २८ लाखको सेयर कारोबार गर्दा बुटवल पावरको ५६ करोड, फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोड मूल्यबराबरको सेयर कारोबार भयो ।
यसै क्रममा सेयर जानकार देव गुरागाईं नयाँ आर्थिक वर्ष लागेसँगै लगानीकर्ताको माहोल सकारात्मक बन्दै गएको बताउँछन् । उनका अनुसार यसअघिको गत आवको चौथो त्रैमास अर्थात् वार्षिक वित्तीय विवरणहरू सार्वजनिक हुन्छ । उनी भन्छन्, ‘अबको २–३ महिनामा कम्पनीहरूले दिने बोनसको घोषणा पनि हुन्छ । यसको आसले पनि लगानीकर्ताहरू अहिले लगानी गर्नुपर्छ भन्ने मानसिकतामा छन् । कतिपय लगानीकर्ताले नाफा बुक गर्ने र कतिपयले लाभांश खान पाइन्छ भन्ने हिसाबले पनि लगानी गरेका हुन्छन् ।’ पोर्टफोलियोको आधारमा विश्लेषण गर्दा नेप्से पुरानै लयमा भएको सेयर जानकार गुरागाईंले औंल्याए । ‘२०७८ को बुल मार्केट, गत वर्ष एक महिनामा एक हजार अंकले बढ्दा जुन–जुन कम्पनी अघि थिए, अहिले पनि त्यस्तै अवस्था देखिन्छ । किनभने, पछिल्लो समय खासै नयाँ लगानीकर्ताहरू छिरेका छैनन् । पुरानैले यो बजार धानेको छ,’ उनले अन्नपूर्णसँग भने । यसबीच लगानीकर्ताहरू थोरै सचेत भएको उनले अनुभूति गरेका छन् । थोरै भए पनि नाफा बुक गर्ने उद्देश्यले किनबेच गरिरहने लगानीकर्ता बढेको उनको ठहर छ ।
नेपाल राष्ट्र बैंकले चालु आवका लागि जारी गरेको मौद्रिक नीति कार्यान्वयनमा ल्याएको छ । उक्त व्यवस्थालाई साउन १ मा एकीकृत निर्देशन–२०८१ मा संशोधन, परिमार्जन तथा थप गरी लागू गरेको छ । यसमा अधिकांश व्यवस्था सेयर बजारमैत्री भएकाले पनि बजार बढेको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष तथा एनएमबी बैंकको पूर्वसिईओ सुनील केसीले औंल्याए । उनका अनुसार केन्द्रीय बैंकले नीतिगत दर घटाएसँगै बैंकहरूको ब्याज दर पनि घटेकाले सेयर बजारमा लगानीकर्ताहरू सकारात्मक भएकाले कारोबारसँगै परिसूचक पनि उकालो लागेको अनुमान गर्न सकिन्छ । ‘उक्त व्यवस्थाले कर्जाको ब्याज दर पनि क्रमशः घट्ने नै भयो । अर्कोतर्फ बैंकहरूमा अधिक लगानीयोग्य पुँजी (तरलता) छ । सेयर कर्जाको सीमा बढाएको स्थिति छ । ब्याज दर घट्नु र बैंकमा तरलता अधिक हुँदा सेयर बजारका लागि सहज हुन गयो । यसले लगानीकर्तालाई सकारात्मक बनाएको छ,’ उनले अन्नपूर्णसँग भने । यसर्थ, घट्दो ब्याज दरले बैंकमा पैसा राख्दा कम रिटर्न हुने भएकाले पनि धेरैजसो लगानीकर्ताले सेयर बजारजस्ता वैकल्पिक लगानीका माध्यमतर्फ ध्यान दिएको अनुमान गर्न सकिन्छ ।
चालु आव सुरु भएपछि लागू हुने मौद्रिक नीतिले ब्याज दर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतबाट घटाई ६.० प्रतिशत र ब्याज दर करिडरको तल्लो सीमाको रूपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशतबाट घटाई २.७५ प्रतिशत निर्धारण गरियो । नीतिगत दरलाई ५.० प्रतिशतबाट घटाई ४.५ प्रतिशत कायम गरेको छ । उक्त दर घटेसँगै यसको असर बैंकको ब्याज दरमा परेको छ । साउनमा मात्रै ब्याज दर करिडोरको सीमा घटाएसँगै निक्षेपको ब्याज दर ०.२५ प्रतिशतसम्मले तल जान सक्ने अनुमान गरिएको थियो । जसअनुरूप बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याज दर तालिकाअनुसार सञ्चालनमा रहेका २० वाणिज्यहरूको औसतमा साधारण बचत खाताको औसत न्यूनतम ब्याज दर २.७७ प्रतिशत र अधिकतम ३.९० प्रतिशत रहेको छ । यसैगरी, व्यक्तिगत मुद्दती निक्षेपको औसत न्यूनतम ब्याज दर ३.६० प्रतिशतदेखि अधिकतम ५.७० प्रतिशतसम्म रहेको संघले जानकारी दिएको छ । जबकि, यसअघि जेठ र असारमा ब्याज दर करिब स्थिर नै थियो । साउन १ मा बैंकहरूले नयाँ ब्याज दर लागू गरेका छन् । निक्षेपको कम ब्याजमा मुद्दती राख्नुको सट्टा सेयरमा लगानी गर्न पनि लगानीकर्ता आकर्षित भएको हुन सक्छ । यससँगै घट्दो कर्जाको ब्याज दरबाट पनि मार्जिन प्रकृतिको सेयर धितो कर्जामा पनि आकर्षण हँुदा पुँजी बजारमा लगानी जुटेको अनुमान गर्न सकिन्छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार भयो । यस्तै, वर्ष २०८१ को असार मसान्तमा ३५ खर्ब ५३ अर्ब ६७ करोड रुपैयाँ रहेको बजार पुँजीकरण २०८२ असार मसान्तमा ३१.०५ प्रतिशतले वृद्धि भई ४६ खर्ब ५६ अर्ब ९८ करोड रुपैयाँ पुग्यो । आर्थिक वर्ष २०८१/८२ को अन्तसम्ममा सूचीकृत कम्पनीको संख्या २ सय ७२ पुग्यो । उक्त आर्थिक वर्षमा मर्जर तथा एक्विजिसनका कारण ३ कम्पनी सूचीकरणबाट हटेका छन् भने प्रथम सार्वजनिक निष्कासनमार्फत ४ वटा कम्पनी थपिएका छन् ।
प्रथम निष्कासनमार्फत ३ करोड ६५ लाख कित्ता सेयर, थप निष्कासनमार्फत ११ लाख २० हजार कित्ता सेयर, सरकारबाट थप गरिएको तथा स्थानीयलाई वितरण गरिएको ४ करोड ३२ लाख ५८ कित्ता सेयर, सामूहिक लगानी कोषका ३७ करोड ८१ लाख एकाइ र संस्थागत ऋणपत्र ८३ लाख कित्ता गरी जम्मा ८० करोड ४२ लाख ८५ हजार कित्ता धितोपत्र सूचीकृत भएका छन् ।
प्रतिक्रिया दिनुहोस !