माछाका राजा मुखियाजी
जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिका ४ ननुपट्टीस्थित मुखिया माछा फार्म आफ्नो स्वादिलो माछाका लागि देशमा मात्रै नभई छिमेकी राष्ट्र भारतको बिहारमा समेत प्रसिद्ध छ । निकै स्वादिलो, पोषिलो र हेर्दा नै आकर्षक देखिनु मुखियाजीको माछाको विशेषता छ । त्यसैले पनि होला मुखिया माछा फार्मबाट उत्पादित माछाको माग स्थानीयदेखि लिएर सीमावर्ती बजारमा पनि निकै बढी छ ।
बुवाले सुरु गरेको व्यवसायलाई निरन्तरता दिइरहेका ४५ वर्षीय रमेश मुखिया र उनका दाजु कन्हैया मुखियाले माछा उत्पादन क्षेत्रमा निजी स्तरबाट ठूलो योगदान दिइरहेका छन् । उनको माछा फार्मले उनको गाउँलाई नै पहिचान दिएको छ भने विदेशमा मात्रै श्रम गरेर आर्जन गर्न सकिन्छ भन्ने सोच बनाएका युवाहरूलाई स्वदेशमै गरे सफलता सम्भव छ भन्ने सन्देश समेत दिएको छ ।
३५ बिघामा साना, ठूला पोखरी निर्माण गरी वार्षिक सय क्विन्टलसम्म माछा उत्पादन गर्ने गरेका रमेश मुखियाले वार्षिक डेढदेखि दुई करोडसम्मको कारोबार गरिराखेका छन् । उनी आफ्नो उत्पादनलाई अझ बढाउन अहोरात्र मेहनत गरिराखेका छन् । पंगासिस र कार्प जातको माछाको भुरा तथ हेचलिङ उत्पादन र बिक्रीवितरणमा देशमै अग्रणी स्थान प्राप्त गर्न सकेका मुखियाको फार्मबाट उत्पादित माछा नेपालमा मात्रै नभई भारतमा समेत निर्यात भइरहेको छ ।
युवा किसान रमेश माछा उत्पादनको प्रेरणा आफ्ना बुवा स्व. बौबेलाल मुखियाबाट पाएका हुन् । तन्नेरी हुँदा विदेश गएर उत्तै भविष्य बनाउने योजना बुनेका रमेशलाई उनका बुवाले स्वदेशमै उत्कृष्ट काम गरेर स्वरोजगार हुने बाटो देखाएका थिए । रमेशका दाइ कन्हैया मुखिया पनि माछा व्यवसायमै लागेपछि दुवै दाजुभाइले माछा खेतीलाई व्यवसायका रूपमा अपनाए । रमेश अहिले उत्कृष्ट माछा कृषक बन्न सफल भएका छन् । आफ्नो फर्ममा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सय जना भन्दा बढीलाई रोजगार दिएका रमेश शहिदनगर नगरपालिका ४ का वडाअध्यक्ष पनि हुन् । कृषि कर्मबाटै पाएको प्रतिष्ठा र सामाजिक पहिचानले मुखियाको परिवारलाई राजनीतिक पहिचान पनि दिएको छ । यसअघिको स्थानीय तहको निर्वाचनमा रमेशका दाइ कन्हैया पनि वडाअध्यक्षका रूपमा विजयी भएका थिए भने यसपटक रमेश जनप्रतिनिधि भएर काम गरिराखेका छन् ।
आफ्नै माछा फार्ममा काम गर्दै रमेश मुखिया ।
माछापालन सम्बन्धी व्यावसायिक तालिमनै लिएका रमेश र उनका दाइले किसानहरूलाई निःशुल्क तालिम र माछा व्यवसायका क्रममा हुने विभिन्न खालका समस्याहरूको निराकरणका लागि परामर्श समेत दिन्छन् । शनिबार विदाको दिन पारेर किसानहरूलाई अनलाइन तालिम दिने र वडा कार्यालयमा आउने किसानहरूलाई समेत पोखरीमै गएर माछापालनको क्रममा पानी जाँच गरिदिने र माछाहरूको रोगको औषधिका बारेमा समेत बताईदिने काम रमेश गर्छन् । पहिला ननुपट्टीमा माछापालनका लागि खासै उत्साहित नभएका युवाहरू अहिले रमेशको प्रगति देखेर वडामै सय देखि डेढसय माछा कृषकहरूले व्यावसायिक रूपमा माछापालन सुरु गरेका छन् ।
कृषिकर्मबाट काम, दाम र नाम पाएका मुखियाले विदेश गएर आफ्नो श्रम अर्काको देश बनाउन उपयोग गर्नु साटो स्वदेशमै मेहनत गरे जीवनस्तर राम्रो पार्न सक्ने बताउँछन् । उनी भन्छन्, ‘हाम्रो माटोमा पनि सुन फल्न सक्छ हामीले फलाउन जान्नु पर्यो ।’
माछा खेतीका लागि सयौं पोखरी
माछा किसान मुखियाले शहिदनगर नगरपालिकामा आफ्नो निजी सात बिग्घामा खनिएका पोखरीहरू, सबैला नगरपालिकाका पोखरीहरू र चारनाथ नगरपालिकामा करिब दुई सय भन्दा बढी साना ठूला पोखरीहरूमा माछाको खेती गरिरहेका छन् । ननुपट्टीमा करिब १३ बिग्घा क्षेत्रफलमा फैलिएको मुखिया मत्स्य प्रजनन फार्मले गाउँकै पहिचान फेरेको छ ।
बुवाकै माछा फार्मलाई अझ परिस्कृत गरि र थप १५ बिग्घा जति खेतमा पोखरी खनाएर ७५ लाख रूपैयाँ आफ्नो लगानी गरेर रमेशले माछा खेतीलाई नमुना बनाउने काम २०६५ सालदेखि सुरु गरेका हुन् ।
‘मैले नयाँ प्रविधिहरू अपनाए । टेग्रा माछा, गैचा माछाको भूरा उत्पादनदेखि लिएर नयाँ नयाँ प्रविधिहरू अपनाएर माछाको भूरा उत्पादनमा लागेको छु,’ रमेश भन्छन्, ‘अहिले सात प्रजातिको भूरा उत्पादन हामी गरिराखेका छौं । सिलभर कार्प, बिगहट कार्प, कमन कार्प, रौह, नैनी, भाकुरा, कालबासो, पुंगिसस लगायतका जातहरूको भूरा उत्पादनमा हामी लागेका छौं ।’ मुखिया माछा फर्मबाट उत्पादित माछाको भूरा झापा, हेटौंडा, मकवानपुर, रामेछाप, दोलखा, खुर्कोट देखि सोलुखुम्बु सम्म खरिद गर्ने गरिएको र भारतको विहारका कृषकहरूले समेत खरिद गरेर लग्ने गरेका छन् । माछाको कारोबारबाट वार्षिक रूपमा डेढ देखि दुई करोड रूपैयाँसम्मको उत्पादन रमेशले गर्दै आएका छन् ।
माछाबाट पाएको पहिचान
आफ्नै देशमा यदि मेहनत र लगनका साथ व्यवसाय गरियो भने त्यसले सफलता दिन्छनै यसको उदाहरण हुन माछा व्यवसायी रमेश र उनको परिवार ।मलाह (माछाको व्यवसाय गर्ने जात) जातका रमेश मुखियाका बुवा स्व. बौबेलाल मुखियालाई माछाको राजा भनेर चिनिन्थ्यो । ०२९ सालदेखि माछा उत्पादनको कामलाई व्यावसायिक रूपमा सुरु गरेका बौबेलालले चरम गरिबी देखेका थिए । अति गरिब परिवारमा जन्मिएका बौबेलालको बाल्यकाल खोलाखल्सीमा माछा मारेर त्यसकै बिक्री गरि बित्थ्यो । तर, उनी युवा हुँदै जाँदा आफ्नै गाउँको पोखरीहरू लिजमा लिएर माछा उत्पादन गर्न थाले । बौबेलालले गाउँकै साहुको माछा फर्म महासेठ माछा फर्म लिजमा लिएर त्यहाँँ भूरा उत्पादनको काम सुरु गरे ।
मलाह जातिका बौबेलालको पुस्तेनी पेशा नै माछा व्यवसाय थियो तर, उनको कामलाई अझ बढी तालिम र प्रविधिमैत्री बनाउनमा सहयोग गरेका थिए कृषि विशेषज्ञ विजयराज श्रेष्ठले । १३ वर्षको उमेरमा आफ्नै गाउँका छिमेकीहरूको घरमा श्रमिकको काम गरि जेनतेन जीवन निर्वाह गर्दै आएका बौबेलालाई गाउँमा माटो र पानी परीक्षणका लागि अमेरिकाबाट आएका एक जना विदेशीले भएका कुराहरूले निकै प्रभावित गरेको थियो । ती विदेशीले गाउँको माटो माछापालनका लागि निकै राम्रो भएको सुझाव दिएका थिए । तर, विदेशीको कुरालाई आफ्नो कर्ममा परिवर्तित गरि सानो पोखरीबाट बौबेलालले माछा उत्पादन सुरु गरेका थिए । ९०० रूपैयाँ ऋण लिएर माछा व्यवसाय सुरु गरेका बौबेलालले करोडौंको व्यवसाय स्थापित मात्रै गरेर देशमै माछा व्यवसायलाई पहिचान दिए ।
सानो स्तरबाट माछाखेती सुरु गरेका बौबेलाल आफ्नो मेहनतको बलमा निजीस्तरमा ४० वटा माछा उत्पादनका माउ पोखरी र नर्सरी पोखरी निर्माण गरेका थिए । स्व. बौबेलाल मुखियाको माछा खेतीमा उत्कृष्ट योगदानको कदर गर्दै राज्यले उनलाई २०४६ सालमा माछा उत्पादन तालिमका लागि एक महिना बंगलादेश पनि पठाएको थियो । त्यसैगरी उनको परिश्रम र माछा उत्पादनमा पुर्याएको योगदानलाई कदर गर्दै २०५३ सालमा तत्कालीन राजा वीरेन्द्र शाहको हातबाट गोरखा दक्षिण बाहु पुरस्कारबाट समेत सम्मानित भएका थिए ।
२०८१ मा बुवाको निधन पछि उनकै मार्गदर्शनमा मुखिया माछा फार्मलाई रमेश र उनका दाजु कन्हैया मुखियाले अझ बढी आधुनिक बनाउँदै लगेका छन् । ‘हामीले बुवाबाट नै तालिम लिएर माछा व्यवसाय सुरु गरेका थियौं । यो हाम्रो पुख्र्यौली पेशा हो यस व्यवसायलेनै हामीलाई सामाजिक प्रतिष्ठा, सम्मानर स्तरीय जीवन दिएको छ,’ माछा किसान कन्हैया मुखिया भन्छन्, ‘अहिलेका युवा पुस्ताले आफ्नो अगाडि भएको पुर्ख्यौली कामहरू हेर्दैनन् । उनीहरू छिटो आम्दानी हुने र मेहनत कम पर्ने व्यवसाय खोज्छन् तर, सफलताका लागि सर्टकर्ट हुँदैन ।’
हतारले होइन धैर्यताले बढाउँछ उत्पादन
माछा व्यवसायमा हतारले काम गर्दा उचित रिजल्ट पाउन नसकिने सफल व्यवसायी रमेश बताउँछन् । माछा उत्पादनका लागि प्रत्येक वर्ष माछा पोखरीलाई सुखाउनु पर्छ । त्यसपछि लेयर हेरेर यदि माटो राम्रो छ भने त्यसमा चुना छर्केर सोझै पानी हालि माछाको भूरा राख्न मिल्छ होइन भने यदि पानीमा एमोनियाको स्तर बढेको छ भने माटो हटाएर अर्को माटो हाल्ने र त्यसपछि चुना र पोटास छर्केर अनि मात्रै पानी हालि माछाको भूरा हाल्नु पर्छ । पटक–पटक माछाको पिएच व्यवस्थापन गर्नुपर्ने । उनीहरूको अक्सीजन लेभल चेक गर्नुपर्ने र एमोनियाको जाँच गरिराख्नु पर्छ । यी सबै कामहरू गर्न किसानले धैर्यता अपनाउनु पर्छ । एकैचोटि पानि हालेर भूरा हाल्दैमा उत्पादन राम्रो नहुने माछा कृषक बताउँछन् ।
‘अहिले त आधुनिकताको जमाना आएको छ । पानी जाँच्ने मेसिन छ । पिएच जाँच्ने मिटर आएको छ । अक्सिजन जाँच्ने मेसिन नै आउँछ । अहिले विश्व डिजिटलाईज भइसकेको छ यस्तोमा आफैंंले पनि तालिम लिएर किसानहरू राम्रो माछा उत्पादन गर्न सक्नुहुन्छ,’ कृषक रमेश भन्छन्, ‘प्रत्येक दाना खुवाउँदा ध्यान दिनु पर्छ । माछा हो भन्दै दाना फालेर दियो भने आधा खान्छा आधा बेकार जान्छ यस्तोमा किसानले दानामै बढी लगानी गरेर फेलियर हुन्छन् त्यसैले यी कुराहरूको प्राविधिक ज्ञान भयो भने कम लगानीमा राम्रो प्रतिफल पाउन सकिन्छ ।’
माछामा लाग्ने रोगका विषयमा पनि यदि किसानलाई जानकारी भएन् भने त्यसले पनि मेहनत अनुसारको उत्पादन दिँदैंन् । ‘माछा उत्पादन सहज भने छैन । निकै मेहनत चाहिन्छ । पोखरीमा निरन्तर हेरचाह गरेन भने माछाले आफैंंले निकाल्ने फोहोर जमेर पनि उनीहरू मर्ने खतरा हुन्छ,’ कृषक कन्हैया मुखिया भन्छन्, ‘बेला बेलामा हामीले रोगहरूको जाँच गरिराख्नु पर्छ । नभई किरा लागेर माछा सखाप हुन्छ । यदि माछाहरू निरन्तर छटपटीरहेका हुन्छन् र पोखरीमा बढी हलचल हुन्छ भने बुझ्नु पर्छ हाम्रो माछामा कुनै रोग लागेको छ ।’
माछामा जुम्रा लाग्ने, संक्रमण हुने र अन्य थुप्रै रोगहरूको प्रकोप हुन्छ । त्यसैले समयसमयमा किटनाशक हाल्नुपर्ने सल्लाह कृषकहरू दिन्छन् । गाईको गोबरलाई मल बनाएर पोखरीमा छर्यो भने त्यसले माछाको उत्पादन बढ्छ । तीन देखि चार किलो दाना खुवायो भने एक किलो माछा तयारी हुने सरदर अनुमान गरिन्छ ।
माछा किसानलाई छैन सरकारी सहयोग
माछा व्यवसायलाई प्रवर्द्धनका लागि प्रदेश सरकार र संघ सरकारबाट खासै ध्यान नदिइएको गुनासो रमेश मुखिया र उनका दाजु कन्हैया मुखियाको छ । ‘हामी वार्षिक ३ देखि ४ लाख रूपैयाँ सम्म कृषि विद्युत्तिकरणका लागि तिर्छौ । हामीले पोखरीमा सिँचाइका लागि मोटर प्रयोग गर्छौ र त्यसमा विद्युत्तको खपत हुन्छ तर, माछा कृषकलाई सहुलियत दरमा विद्युत्तिकरणको सुविधा सरकारले दिएको छैन,’ कृषक कन्हैया मुखिया भन्छन्, ‘न त दानामा कर छुटको व्यवस्था छ नत भारतबाट दाना ल्याउँदा भन्सार छुटनै गरिएको छ यस्तोमा माछा खेती तर्फ किसानहरू कसरी आकर्षित हुन्छन् त । मात्रै गफमा माछा व्यवसाय प्रवद्र्धनको कुरा गर्नु भन्दा पनि यदि सहि रूपमा सरकारले सहुलियत दियो भने मधेसका माछाले देशलाई खुवाउन पर्याप्त हुन्छ ।’
- ३५ बिघामा माछा खेती, वार्षिक दुई करोडको कारोबार
- धनुषामा मात्रै नभई सम्पूर्ण मधेसमै प्रख्यात छ मुखियाजीको माछा ।
माछा व्यवसायमा पोखरी व्यवस्थापनमा कठिनाइ, माछाको दाना महँगो हुनुका साथै गुणस्तरयुक्त उपलब्ध नहुनु, उत्पादनको आंकलन गर्न कठिन हुनु, सबै ठाउँमा गुणस्तरयुक्त पानीको उपलब्धता नहुनु, नयाँ नयाँ रोगको प्रकोप जस्ता चुनौतीहरू माछा व्यवसायमा रहेको कृषकहरू बताउँछन् ।
खडेरीको मारमा माछा व्यापार
मधेसमा अन्य वर्षको तुलनामा यस वर्ष वर्षानै नभएपछि त्यसको प्रत्यक्ष मारमा माछा व्यापारीहरू परेका छन् । पानी नपर्दा र गर्मी अत्यधिक भएको कारणले माछा किसानहरूले भूरा खरिद गर्ननै छाडेको कृषक रमेश बताउँछन् । अन्य वर्षहरूमा १० हजार क्वीन्टल सम्म भूरा बेच्ने गरेको मुखिया माछा मार्फमा यस वर्ष हालसम्ममा ४ हजार क्वीन्टल पनि भूरा बिक्री हुन सकेको छैन । त्यसैगरी सुक्खा मौसमका कारण माछाको बिक्री समेत प्रभावित भएको व्यवसायीहरूको गुनासो छ ।
मधेसमा माछा उत्पादनको अवस्था
नेपालमा १४ हजार ७४५ हेक्टर क्षेत्रफलमा माछा उत्पादन हुँदै आएको छ । वार्षिक रूपमा नेपालभरी ८२ हजार मेटिक टन भन्दा बढी माछा उत्पादन हुन्छ जसमध्ये मधेसमा ४७ हजार मेटिक टन भन्दा बढी माछा उत्पादन हुने गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशको तथ्यांकले देखाउँछ । मधेसमा ७ हजार २७३ हेक्टर क्षेत्रफलमा माछा उत्पादन गरिन्छ र मधेसको माछा उत्पादनले देशको कुल माछा उत्पादनमा ५७ प्रतिशत योगदान दिन्छ । मधेसमा सबैभन्दा बढी माछा उत्पादन बारा जिल्लामा हुन्छ भने सबैभन्दा कम सर्लाही जिल्लामा उत्पादन हुने गर्छ ।
किन खाने माछा ?
माछामा अपाच्य बोसोको मात्रा न्यून हुन्छ तथा स्वास्थ्यलाई आवश्यक ओमेगा ३ र ओमेगा ६ फ्ईंटी एसिड प्रचुर मात्रामा पाइन्छ, यी दुवैले कोलेस्ट्रोल नियन्त्रण गर्न मद्दत गर्ने हुनाले पनि माछा खानु स्वास्थ्यका लागि निकै फलदायी मानिन्छ ।
माछामा मानव शरीरलाई मांसपेशीहरू बनाउन आवश्यक प्रोटिन, जिंक, क्याल्सियम, म्याग्नेसियम र अन्य आवश्यक खनिजहरू पाइन्छ । साथै माछामा विटामिन ए पाइन्छ जो एक आवश्यक एन्टिअक्सिडेन्ट तत्व पनि हो, जुन आँखाको स्वास्थ्यसँग जोडिएको हुन्छ । आयातित माछाहरूमा विभिन्न किसिमको स्वास्थ्यका लागि अत्यन्त हानिकारक तत्वहरू प्रयोग गरिएको हुनाले पनि नेपाली र स्थानीय माछाहरू प्रयोग गर्नलाई प्रोत्साहित गरिन्छ ।
मत्स्यपालनको महत्व
नेपाली जनजीवनको सामाजिक, आर्थिक तथा धार्मिक क्षेत्रमा माछाको महत्व छ । नेपाल सानो देश भएतापनि यहाँ भित्र बसोबास गर्ने विविध जातजाति सम्प्रदायको आफ्नै परम्परा, रहनसहन, भेषभूषा, चालचलन छ । कतिपय जातजातिले माछालाई सगुनका रूपमा प्रयोग गर्छन् । घर बाहिर निस्कदाँ माछालाई देखेमा राम्रो साईट परेको मान्ने र विवाह तथा अन्य धार्मिक कार्यमा माछा र दहीलाई अनिवार्य रूपमा राख्ने परम्पार मिथिलामा छ । आजभोलि खाना खुवाउने होटेलहरूमा हप्तामा कम्तीमा एक दिन माछा खुवाउने कार्यको सुरुवात भएको छ ।
माछा पौष्टिक आहार हुनुका साथै यसको आर्थिक महत्व पनि निकै बढी छ । अन्य व्यवसायको तुलनामा माछापालन व्यवसायबाट प्रति इकाई क्षेत्रफलबाट बढी आम्दानी गर्न सकिने उत्पादन लागत कम हुने भएकोले नाफा बढी लिन सकिने हुँदा माछापालनबाट आर्थिक अवस्था सुधार गर्न सजिलो छ ।
प्रतिक्रिया दिनुहोस !