बजेट अभावले थलियो महाकाली करिडोर

बजेट अभावले थलियो महाकाली करिडोर
महाकाली करिडोरअन्तर्गतको टिंकर सडक ।
सुन्नुहोस्

महेन्द्रनगर : पर्याप्त बजेट विनियोजन नहुँदा महाकाली करिडोर निर्माणले गति लिन सकेको छैन । करिडोर निर्माणको सुरुवातदेखि बजेट अभाव र रुख कटानलगायतको समस्याका कारण निर्माणले गति लिन नसकेको हो । 

चालु आर्थिक वर्षमा करिडोर निर्माणका लागि २२ करोड ९७ लाख रुपैयाँमात्रै बजेट विनियोजन भएको महाकाली करिडोर सडक (ब्रह्मदेव–झुलाघाट–दाचुला–टिंकर सडक) योजना कार्यालयका योजना प्रमुख दीपक सुनारले जानकारी दिए । ‘योजनाअन्तर्गत कार्यालयले डेढ अर्ब रुपैयाँ दायित्व भुक्तानी गर्नुपर्नेछ तर बजेट झन्डै २३ करोडमात्रै आएको छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा आएको बजेट न्यून छ । यसले नयाँ ठेक्का खोलेर काम गर्न सकिने अवस्था छैन ।’ उनले यही गतिमा बजेट आए करिडोर निर्माण गर्न अझै वर्षौं लाग्ने बताए । 

कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किलोमिटरमध्ये अझै ५४ किलोमिटरमा ट्र्याक खोल्न बाँकी छ । करिडोरअन्तर्गत डडेल्धुरामा करिब २७ किलोमिटर, बैतडीमा ९ र दार्चुलामा १८ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । करिडोरको हालसम्म करिब ५ किलोमिटर सडक कालोपत्र गरिएको छ । 

विभिन्न स्थानमा कालोपत्रका लागि ठेक्का भएर काम चलिरहेको भए पनि बजेट अभावका कारण निर्माण व्यवसायीलाई भुक्तानी दिन सकिने अवस्था छैन । दार्चुलाको मालिकार्जुन र खलंगा–हिकिला खण्डमा कालोपत्रका लागि काम भइरहेको छ । महाकाली करिडोर योजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तुसारपानीसम्म ३ सय ३४ किलोमिटरमध्ये कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८, बैतडीमा १ सय ४४ र दार्चुलामा १ सय २१ किलोमिटर सडक पर्छ । तुसारापानीदेखि टिंकरसम्मको ७९ किलोमिटर सडक खण्डमा ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । योजना कार्यालयका अनुसार करिडोरअन्तर्गत कञ्चनपुरमा ११ किलोमिटर, डडेल्धुरामा ५८ किलोमिटर, बैतडीमा १ सय ४४ किलोमिटर र दार्चुलामा १ सय २१ किलोमिटर सडक निर्माण हुनेछ । जसमध्ये कञ्चनपुरमा ११ किलोमिटर ट्र्याक खुलिसकेको छ भने डडेल्धुरामा २८ किलोमिटर ट्र्याक खुलेको छ । त्यसैगरी बैतडीमा १ सय १४ किलोमिटर र दार्चुलामा ७७ किलोमिटर ट्र्याक खुलेको छ । 

महाकाली करिडोरलाई त्रिदेशीय व्यापारिक नाकामा रूपमा समेत हेरिएको छ । कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण थालनी भइसकेको छ । बन्दरगाह निर्माणस्थलदेखि गड्डाचौकी पूर्वपश्चिम राजमार्गको जिरो प्वाइन्टसम्म ६ लेनको पक्की सडक निर्माण भइसकेको छ । यही बिन्दुमा महाकाली करिडोरलाई जोडेर महाकाली नदीको किनारैकिनार उत्तरतर्फ चीनसँग व्यापारिक मार्ग बनाउने योजना भए पनि सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन नगर्दा निर्माणले गति लिन नसकेको हो । करिडोर निर्माण सुरु भएको झन्डै दुई दशक बित्न लाग्दासमेत अपेक्षाकृत काम हुन सकेको छैन । यो सडक नबन्दा व्यासका नागरिकहरूले दार्चुला खलंगा आवतजावत गर्नका लागि भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । 

करिडोरलाई सरकारले प्राथमिकतामा राखेर चाँडो सम्पन्न गर्नुपर्ने यहाँका उद्योगी व्यवसायीहरूको माग छ । ‘अहिले पनि दार्चुला सदरमुकामबाट टिंकरसम्म जानका लागि प्रशासनबाट पास बनाएर भारतको बाटो हुँदै जानुपर्ने बाध्यता छ ।’ दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेशसिंह थापाले भने, ‘सरकारले चाँडै करिडोर निर्माण गरिदिए टिंकरसम्म सहज आवागमन हुन्छ । व्यावसायिक हिसाबले पनि हामीलाई फाइदा पुग्छ ।’ डेढ दशकअघि सुरु भएको योजना सरकारको प्राथमिकतामा नपर्दा अहिलेसम्म अधुरै रहेको उनले बताए । 

आर्थिक वर्ष २०६५/०६६ देखि सुरु भएको करिडोर सुदूरपश्चिम प्रदेशका चार जिल्ला कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै नेपाल र चीनको ताक्लाकोटको सिमानामा रहेको पिल्लर नं.१ सम्म निर्माण ४ सय १३ किलोमिटर लम्बाइ रहेको छ । यो सडकबाट उक्त क्षेत्रमा बसोबास गर्ने करिब ८ लाख जनता प्रत्यक्ष लाभान्वित हुने र त्रिदेशीय नाका भएका कारण व्यापारिक महŒव धेरै छ । आयोजनाको सुरुको कुल लागत अनुमान १८ अर्ब १६ करोड रुपैयाँमा आर्थिक वर्ष २०८०/८१ सम्म पूरा गर्ने लक्ष्य थियो । तर बजेट अभाव, रुख कटानलगायतका प्रक्रियागत अल्झनले योजनाको लागत र समय लम्बिँदै गएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.