प्रधानमन्त्रीले गरे मधेसको भ्रमण, पानीको समस्या दीर्घकालीन समाधान गरिने

प्रधानमन्त्रीले गरे मधेसको भ्रमण, पानीको समस्या दीर्घकालीन समाधान गरिने
तस्बिर : प्रधानमन्त्री सचिवालय

वीरगन्ज/महोत्तरी : प्रधानमन्त्री केपी शर्मा ओलीले सुक्खाग्रस्त मधेसमा पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकार जुटिसकेको बताएका छन्।

शुक्रबार बाराको परवानीपुर गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सरकारले विपद् संकटग्रस्त घोषणा गरेर यहाँ उत्पन्न पानीको समस्या दीर्घकालीन समाधानका लागि काम थालिसकेको बताए। उनले भने, ‘मधेसमा अहिले सुक्खाले समस्या बढाएको छ। त्यसकारण मधेसलाई संकटग्रस्त घोषणा गरिसकेका छौं। यसको दीर्घकालीन समाधानका लागि चुरेको संरक्षणमा लाग्नुपर्छ। यदि, चुरेको संरक्षणमा अहिल्यैदेखि लागिएन र चुरे क्षेत्रमा ठूल्ठुला तालतैलाया बनाइएन भने आगामी दिनमा मधेसमा सुक्खा हुने संकट अझ बढ्ने जोखिम छ।’  

उनले मधेस प्रदेशका १ लाख ८५ हजार बिघा खेतीयोग्य जग्गा सिँचाइका लागि सुनकोशी मरिन डाइभर्सन सिँचाइ परियोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको सुनाए। उनले देशमा केही पनि भएन भन्ने होइन, धेरै कामहरू भएको दाबी पनि गरे। तर, भनेजति भने अझै हुन नसकेको भन्दै त्यसतर्फ सरकार लागिपरेको उनले बताए। आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको बताउँदै उनले भने, ‘भौतिक पूर्वाधार, सडक, शिक्षा, स्वास्थ्य, कृषिलगायत चौतर्फी क्षेत्रमा देश अगाडि बढिरहेको छ। देशको विकासको गतिलाई अझ तीव्रताका साथ अगाडि बढाउने नीति सरकारले लिएको छ।’ उनले थप १०/१५ वटा स्मार्ट सिटी निर्माण गरिने बताए। कृषिको आधुनिकीकरण भइरहेको भन्दै उनले किसानको आम्दानी चार गुणाले बढेको जिकिर पनि गरे। 

देशको राजनीतिलाई अस्थिर पारेर सरकारलाई काम गर्न नदिने प्रवृत्तिहरू देखा परेकामा ती प्रवृत्तिहरूको सामना गर्दै सरकार अगाडि बढिरहेको प्रधानमन्त्री ओलीले बताए। एमाले र कांग्रेसले ७ बुँदे सम्झौता गरेर बनेको संयुक्त सरकारले अस्थिरताको अन्त्य गर्दै देशमा स्थायित्व कायम गरेर देशलाई विकासको बाटोमा अगाडि बढाएको उनले बताए।

परवानीपुर गाउँपालिकाका अध्यक्ष राम क्षत्री पटेलको अध्यक्षतामा भएको कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दहाल, श्रम तथा यातायातमन्त्री शरदसिंह भण्डारी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनल, सांसदहरू ज्वला साह, किसान श्रेष्ठ, प्रभु हजरालगायतको पनि उपस्थिति थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले ३ करोड २५ लाख ९१ हजार रुपैयाँको लागतमा गाउँपालिकाको प्रशासनिक भवनको निर्माण गरिएको बताए।   

महोत्तरीमा रातु खोला पुल उद्घाटन
सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको केही दिन नबित्दै प्रधानमन्त्रीसहितको टोलीले मधेसको भ्रमण गरेका छन्। नवनिर्मित विभिन्न संरचनाको उद्घाटन गर्न शुक्रबार महोत्तरी आएका प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसको भूमिलाई नजिकैबाट नियालेका हुन्। 

मटिहानीमा नवनिर्मित प्रसूतिगृह र बिग्ही नदीमा निर्मित पुल तथा बलवा नगरपालिका रौजास्थित रातु नदीमा नवनिर्मित पुलको प्रधानमन्त्रीले उद्घाटन  गरेका हुन्। उनले भने, ‘मैले मधेसका अधिकांश जिल्लाको प्रत्यक्ष रूपमा अवलोकन गर्न पाएको छु। यस प्रदेशको सप्तरीबाहेक अन्य सात जिल्लाको जनजीवन सुक्खाका कारण प्रभावित छन्। पिउने पानीको अभाव हुनुको साथै खेतमा सिँचाइको अभाव हुँदा रोपाइँ हुन सकेको छैन। किसानहरू चिन्तित छन्। यहाँको पोखरीमा पानीको सतह निकै नै घटेको छ।’ 

यस विपद्को घडीमा नेपाल सरकारले नागरिकलाई बचाउन हरसम्भव तयारी गरिरहेको प्रधानमन्त्रीले बताए। उनले भने, ‘आत्तिनुहुँदैन। खोनपानी र सिँचाइको समस्या अनावृष्टिको कारण भएको हो। 

सरकारले तत्कालै ५ सय डिप बोरिङ जडान गर्नेछ। एउटाबाट ६० बिघा खेतमा किसानले सिँचाइ गर्न सक्नेछन्।’ दीर्घकालीन रूपमा सुक्खाग्रस्त हुनबाट मधेसलाई बचाउन चुरेदेखि लिएर चुरेमा पानीको रिजर्वहरू बनाउने, तालतलैया बनाउने, पोखरी बनाउने योजना रहेको उनले बताए। यसबाट रिचार्ज सिस्टममा जमिनको सतहबाट पानी तल जान नदिन अनुकूल वातावरणतर्फ फर्काउने काम सरकारले गर्ने प्रधानमन्त्रीले आश्वासन दिए। 

खानेपानीको बन्दोबस्त जसोतसो गर्दैछु : मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेस अहिले पानीका लागि व्याकुल रहेको धारणा राखेका छन्। मुख्यमन्त्रीले भने, ‘यस प्रदेशमा अहिले सिँचाइको अभाव छ। जसका कारण यहाँका अधिकांश खेतीयोग्य जग्गा खाली रहेको छ। किसानहरू चरम पीडामा रहेका छन्। उब्जाउ नभएपछि वर्षभरि के खाने भनेर अहिले प्रदेशवासी चिन्तित छन्। पिउनेपानीको जोहो जसोतसो दमकलको माध्यमले घरघरमा प्रबन्ध गर्न प्रदेश सरकार लागिरहेको छ। 

मधेस प्रदेशसँग खडेरी र सुक्खाग्रस्त संकटसँग लड्ने क्षमता नरहेको उनले बताए। प्रदेशको पूरै बजेट लगाउँदासमेत मधेसलाई सुक्खामुक्त क्षेत्र बनाउन नसकिने मुख्यमन्त्रीले दोहोर्‍याएका हुन्। उनले यस विषयमा समयमै ध्यान दिन प्रधानमन्त्रीसमक्ष अपिल गरेका छन्।

मटिहानीवासी धन्य भयौं : मेयर मण्डल
मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले गर्मीले बेहालको अवस्थामा प्रधानमन्त्रीले यहाँ आएर नगरवासीको दुःखमा मलह दल्ने कार्य गरेको बताएका छन्। मटिहानीका दुई संरचनाको प्रधानमन्त्रीले उद्घाटन गरेपछि आयोजित सार्वजानिक समारोहकाबीच मेयर मण्डलले उक्त कुरा बताएका हुन्।

भारतीय सीमासँग जोडिएको यो पालिकाले हरपल राष्ट्रियताप्रति अटल रहने प्रतिबद्धता जनाएको छ। उनले प्रधानमन्त्रीलाई मञ्चमा हेर्न पाउँदा नगरवासी नै उत्साहित भएको जनाए।

प्रधानमन्त्रीद्वारा रौजा मजारमा चादरपोसी अर्पण

महोत्तरी, बलवा नगरपालिकाको ऐतिहासिक रौजा मजारमा प्रधानमन्त्री ओलीले चादरपोसी अर्पण गरेका छन्।nullमजारमा फूल अर्पण गरेर च्यादर चढाउँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : धनवीर महतो

उनको भ्रमणको अवसरमा मजार शरीफ समितिद्वारा विशेष कार्यक्रमको आयोजना गर्दै भव्य स्वागत गरिएको थियो। प्रधानमन्त्री ओली बिहान विशेष सुरक्षा व्यवस्थासहित रौजा मजार पुगेका थिए। उनले मजारमा फूल अर्पण गर्दै ज्यादर चढाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.