बाँझो खेतमा सामूहिक धानखेती
दोलखा : दोलखाको कालिञ्चोक गाउँपालिका-८ मा बाँझो रहेको खेतमा सामूहिक धानखेती सुरु गरिएको छ। लामो समयदेखि बाँझो रहेको खेत सदुपयोग गर्ने उद्देश्यले कृषि सहकारी र कृषकहरूको संयुक्त मिलेमतोमा ४२ रोपनी खेतमा धानखेती गरिएको कृषि सहकारी संस्थाका अध्यक्ष होम पाठकले बताए।
सुन्दर हिमाली जिल्ला दोलखा कालिञ्चोक गाउँपालिकाका धेरै युवाहरू विदेश पलायनसँगै धेरै खेत बाँझो रहेका छन्। स्थानीयवासीकै खेत धेरै समयदेखि बाँझो भएपछि सामूहिक धानखेती गर्ने र ३ भागको १ भाग उत्पादन जग्गाधनीलाई दिने बाँकी ज्याला कटाएर सामूहिक रूपमा नै उपयोग गर्ने अध्यक्ष पाठकले बताए। युवा सीपको अभावले कृषि क्षेत्रमा क्रियाशीलता कम हुँदै गएको अवस्था छ। धेरै जमिनहरू प्रयोगविहीन भएर बाँझो भइरहेका छन्। तर कृषकहरूको संयुक्त पहलले ४२ रोपनी बाँझो जमिनमा सामूहिक धानखेतीले कृषिमा नयाँ जोश र ऊर्जा थपेको हो।
युवा रोजगारीका लागि विदेश पलायन तथा सहरी बसोबासका कारण गाउँका खेतहरूमा श्रम संकट देखा परेको छ। यस्तै कारणले कृषिमा कमी आएको र खेतहरू थुप्रै वर्षदेखि बाँझो रहेका छन्। ‘संसारका मानिसहरूले खाने अन्न हो। अन्न बिना केही चल्दैन, कृषि क्रियाकलापमा कमी आएपछि आर्थिक लगायत सबै क्षेत्रमा प्रभाव पर्ने महसुस गरी यस्तो अवस्थालाई सुधार्न हामीले स्थानीय कृषक र सहकारी संस्था मिलेर बाँझो जमिनमा सामूहिक धानखेतीको योजना अघि बढाएका हौं,’ कृषि सहकारी संस्थाका अध्यक्ष होम पाठकले भने।
बाँझो जमिनलाई सदुपयोग गर्ने उद्देश्यले सुरु गरिएको यस सामूहिक खेतीले कृषकहरूको आत्मनिर्भरता बढाउन सहयोग पु¥याउने, खेतीपाती गरिबले मात्र गर्ने हो भन्ने केही मान्छेहरूमा भएको भ्रम चिर्न, बाँझो जमिनलाई उर्वर बनाउने, गोरु र हलोद्वारा गरिने खेतीपातीलाई बढवा दिने तथा स्थानीय बजारमा धानको माग पूरा गर्नसमेत मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्षको भनाइ छ ।
यो कार्यले कृषिमा युवाहरूको आकर्षण बढ्ने र युवाहरूलाई कृषिमा सक्रिय बनाउन बाँझो जमिनलाई सदुपयोग गर्न टेवा पुग्ने पनि उनले सुनाए। अबका दिनमा कृषि सहकारी संस्था र स्थानीय कृषकहरूले यस योजनालाई सफल बनाउन विभिन्न कृषि प्रविधिहरू अपनाइने, आधुनिक सिँचाइ प्रणाली र आधुनिक बिउ प्रयोग गरी उत्पादनको गुणस्तर र परिमाण दुवैमा सुधार गर्ने लक्ष्य राखिएको पनि उनले बताए। यस सामूहिक धानखेती कार्यक्रमले स्थानीय समुदायमा कृषिको महत्त्वलाई पुनः जगाएको छ। नेपाल सरकारको कृषि नीतिहरूले पनि यस्ता पहलहरूलाई प्रोत्साहन गर्ने भएकाले भविष्यमा थप यस्ता परियोजनाहरू बढ्ने विश्वास छ। यो प्रयासले केवल दोलखामात्र नभएर समग्र पहाडी जिल्लाहरूमा बाँझो जमिन उपयोग गरी कृषिमा नयाँ ऊर्जा थप्ने उदाहरण बन्ने अपेक्षा रहेको अध्यक्ष पाठकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !