चितवनमा बन्दै दोस्रो चरणको पेट्रोलियम पाइपलाइन

चितवनमा बन्दै दोस्रो चरणको पेट्रोलियम पाइपलाइन
सुन्नुहोस्

चितवन : नेपाल आयल निगमले चितवनको लोथरमा अनुमानित १४ अर्ब ९ करोड ६० लाख रुपैयाँमा दोस्रो चरणको पेट्रोलियम पाइपलाइनसहित भण्डारण गृह निर्माण गर्ने भएको छ । उक्त पाइपलाइन परियोजना ३ वर्षभित्रमा सकाउने गरी राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रिन फिल्ड टर्मिनल निर्माण गरिने भएको हो ।

निगमले शुक्रबार एक कार्यक्रममार्फत औपचारिक रूपमा लोथरस्थित जग्गा परिसरमा कार्यालय सञ्चालन गरेर परियोजनाको काम सुरु भएको जानकारी गराएको हो । यससँगै अब निर्माणको काम सुरु हुने बताइएको छ । 
जसअनुरूप अब बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्मको ६२ किलोमिटरको दूरीमा १०.७५ इन्चको पाइपलाइन बिछ्याइने भएको छ । सरकारको लक्ष्यअनुसार ३ महिनालाई पेट्रोलियम पुग्ने भण्डारण गृह निर्माण गर्न लागिएको हो । 

इन्डियन आयल कर्पोरेसन (आईओसी)को मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै लोथरसम्म पाइपलाइनका लिग पेट्रोलियम पदार्थ पम्पिङ गर्ने व्यवस्था गरिने छ । यसअघि २०८१ असोज १७ गते इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबीच बी टु बी सम्झौता भएको थियो । 
सोही सम्झौताअनुसार पाए बिछ्याउन लाग्ने लागत इन्डियन आयल कर्पोरेसनले बेहोर्नेछ भने लोथरमा भण्डारण गरिने डिपोको लगानी आयल निगमले बेहोर्ने जनाइएको छ । परियोजना प्रमुख ई.प्रदीपकुमार यादवले पेट्रोलियम पाइपलाइन विस्तार परियोजना शुक्रबारदेखि सुरु भएको घोषणा गरे । उनका अनुसार सम्पूर्ण कागजी प्रक्रिया पूरा भएको छ र अब कार्यान्वयन सुरु भयो । उनले भने, अब सडक निर्माण गर्ने, आईओसीसँग समन्वय गर्ने काम धमाधम सुरु हुन्छ । सम्झौता अनुसार ५४ महिना भनेपनि हामीले तीन वर्षभित्र निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउछौँ ।’

पाइपलाइन परियोजनाबाट पेट्रोलिमय पदार्थ ढुवानी गर्दा वातावरणीय प्रभाव न्यून हुने, पेट्रोलिमय पदार्थको चोरी तथा मिसावट कम हुने परियोजना प्रमुख यादवले बताए । यससँगै उनले निगमले स्थानीयसँग समन्वय गरेर काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । यो परियोजनाले रोजगारीदेखि स्थानीयलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने उनले जनाए । 

यसै क्रममा राप्ती नगरपालिका– १ का वडाध्यक्ष सिद्धलाल स्याङ्तानले परियोजना चितवनको गौरव भएको भन्दै उनले परियोजनाको सफलतापूर्वक कार्यान्वयनबाट यस क्षेत्रको आर्थिक आयआर्जन गर्ने, जीविकोपार्जनमा सहज हुने बताए । 

पाइपलाइन बनेपछिका फाइदा 
पाइपलाइनबाट २ सय ७३ किलोलिटर प्रतिघन्टाको गतिमा तेल आपूर्ति गर्न सकिने निगमका सहायक प्रबन्धक अनुपम पराजुलीले जानकारी दिए । उनका अनुसार पूर्वपश्चिम राजमार्गको समानान्तर पाइपलाइन निर्माण गरिनेछ । ६२ किलोमिटर लामो पाइपलाइनमा जुनसुकै बेला नियमित रूपले ३२ सय किलोलिटर इन्धन भण्डारण भइरहेको हुनेछ ।

पाइपलाइनबाट वार्षिक २० मिलियन टन इन्धन ढुवानी गर्न सकिने सहायक प्रबन्धक पराजुलीले जानकारी दिए । लोथरमा १ सय ६० वर्गमिटरको क्षेत्रफलमा पाइपलाइन स्टेसन निर्माण हुनेछ । त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल टयांकी निर्माण हुनेछ । यस्तै, डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीनवटा र मट्टितेल भण्डारणका लागि ८ सय किलोलिटर क्षमताका दुईवटा ट्यांकी निर्माण गरिनेछ । 

यस्तै, हवाई इन्धनका लागि ३ हजार ६०० किलोलिटर क्षमताका ३ ट्यांकी निर्माण गरिने छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुईवटा ट्रान्समिक्स ट्यांक निर्माण गरिनेछ । 

भारतको मोतिहारीदेखि बाराको खमलेखगन्जसम्मको ६९ किलोमिटर लामो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना २०७६ सालदेखि सञ्चालनमा आएको हो । सुरुवाती चरणमा डिजेल र मट्टितेल पाइपलाइनमार्फत आयात गरिएकामा केही समय अघिदेखि पेट्रोलियम पदार्थ पनि पाइपलाइनबाट ल्याइएको छ । उक्त परियोजना निर्माण भएपछि नेपालका पश्चिमी र उत्तरी क्षेत्रमा पेट्रोलियम पदार्थको आपूर्तिमा सहज हुने विश्वास व्यक्त गरिएको छ । विसं २०२७ मा मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति, भण्डारण र वितरण कार्यका लागि निगमको स्थापना भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.