अध्यक्ष नेपाललाई खनालले फर्काए जवाफ, भने– पार्टी चलाउन नसक्ने भए आफैँ छाडेर हिँड्नु
काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधव नेपाललाई जवाफ फर्काएका छन्। शनिबार पत्रकार सम्मेलन गर्दै उनले अध्यक्ष नेपाललाई जवाफ फर्काएका हुन्।
नेता खनालले एमाले फुटाएर गल्ती भयो भनेपछि अध्यक्ष नेपालले जथाभाबी नबोल्न भन्दै खुरुक्क राजीनामा दिएर पार्टी छाड्न भनेका थिए। त्यसको जवाफमा नेता खनालले अध्यक्ष नेपाललाई पार्टी चलाउन नसक्ने भए आफैँ छाडेर हिँड्न भनेका हुन्।
नेता खनालले अध्यक्ष नेपालले भनेको कुराले आफूलाई दुःख लागेको बताए। उनले आफूले बोलेका कुराले पार्टीमा केही समस्या भए बैठक बोलाएर छलफल गर्न सुझाव दिए।
उनले भने, ‘उहाँले आदेश दिने बित्तिकै कुनै पार्टीको सदस्यले छाड्छ। नेताले छाड्छ। यही हो पार्टीको नेताको हैसियत ? मैले त भव्य नेताको रूपमा हेरेको थिएँ उहाँलाई तर यति तल्लो स्तरको चिन्तन पनि उहाँसँग रहेछ।’
नेता खनालले पार्टी अध्यक्षबाट आफूलाई पार्टी छाड भन्ने अभिव्यक्ति आउला भन्ने कल्पना पनि नगरेको बताए।
प्रतिक्रिया दिनुहोस !