छाँगा झरना प्रवर्द्धन मेला
नुवाकोट : पर्यटकीयस्थलको प्रवर्द्धनका लागि नुवाकोटको तारकेश्वरमा रहेको छाँगा खोला झरना प्रवर्द्धन मेला गरिएको छ। तारकेश्वर गाउँपालिकाले गन्तव्य तारकेश्वर, पुगौं छाँगा झरना नारासहित छाँगा झरना अवलोकन मेला गरेको हो। तारकेश्वर गाउँपालिका-१ दाङसिङमा रहेको झरनामा आयोजित मेलामा सर्वसाधारणको उत्साहजनक सहभागिता भएको र यसले पर्यटन प्रवर्द्धनमा मद्दत पुगेको गाउँपालिका अध्यक्ष शिव अधिकारीले बताए।
उक्त झरना अवलोकन गर्न नुवाकोट, रसुवा, काठमाडौं र धादिङबाट सर्वसाधारण पुगेका थिए। झरनाको प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले विशेष सक्रियता देखाएको हो।
गाउँपालिकाले‘स्थानीय पर्यटन प्रवर्द्धनका लागि गन्तव्य तारकेश्वर’ अभियान अन्तर्गत एक दिने छाँगाखोला झरना अवलोकन मेला सम्पन्न गरेको हो।
मेलामा तारकेश्वर १ का वडाध्यक्ष चक्रवहादुर तामाङ, ३ का वडाध्यक्ष सुर्यमान तामाङ, ४ का वडाध्यक्ष हरिबहादुर पौडेल लगायतको सहभागिता थियो। सो झरनाको अवलोकन गर्न केही वर्षअघिदेखि आन्तरिक पर्यटक जाने क्रम बढिरहेको छ। विदुरदेखि ४५ मिनेटको दूरीमा पुगिने सो स्थानको पर्यटन प्रवर्द्धन गर्न विभिन्न योजना प्रस्ताव गरिएको छ।
प्रतिक्रिया दिनुहोस !