नुवाकोटमा १८ घर पहिरोको जोखिममा, १२८ घर प्रभावित
नुवाकोट : नुवाकोटस्थित लच्याङको तीन बस्तीका १८ घर पहिरोको उच्च जोखिममा परेको छ।
सरोकारवाला निकायले पहिरो प्रभावित सूर्यगढी गाउँपालिका-१ लच्याङ पुगेर स्थलगत अध्ययन अवलोकन गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिको टोलीले पहिलो चरणमा अस्थायी बसोबासका सामग्रीहरू समेत हस्तान्तरण गरेको छ।
सदरमुकाम विदुरदेखि दुई घण्टाको मोटर यात्राको दूरीमा रहेको उक्त स्थानका तीन मानव बस्ती बर्खाको समयमा पहिरोको जोखिममा रहेको छ। पहिरोको उच्च जोखिम रहेको सूर्यगढीको लच्याङमा आवश्यक विपद् पूर्व तयारीका साथ अस्थायी घर (टेन्ट) हस्तान्तरणसँगै निर्माण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए।
उनका अनुसार समितिले पहिलो चरणमा लच्याङमा २५ थान अस्थायी घर (टेन्ट) र ३० थान त्रिपाल हस्तान्तरण गरेर स्थापना गरिएको छ। लच्याङको बुलबुले, काउले र स्याम्राङ बस्तीको १८ घरधुरी पहिरोको उच्च जोखिममा रहेको समितिले जनाएको छ। यसका साथै ती बस्तीहरूको एक सय २८ घरधुरी प्रभावित भएका छन्।
पहिरोले क्षति गर्नु अगावै पूर्व तयारीका साथ ती सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष शन्तबहादुर घलेले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !