मानवबस्ती माथिबाट ढुंगो घरतिर झर्ने खतरा
नुवाकोट : नुवाकोटको बाह्रबिसेमा मानव बस्तीमाथिको ठूलो ढुंगो झरिरहेको छ। गाउँतिर झरिरहेको उक्त ठूलो ढुंगोका कारण तल रहेका मानव बस्ती झण्डै एक महिनादेखि निदाउन सकेका छैनन्।
तादी गाउँपालिका-४ बाह्रबिसे माथिको उक्त ढुङ्गो सरिरहेको गाउँपालिका अध्यक्ष सन्तमान तामाङले बताए। उक्त स्थलमा पुगेर शुक्रवार जिल्ला विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण तथा अवलोकन गरेको छ।
स्थलगत अनुगमनका क्रममा उक्त ढुंगो एक फिट तल सरेको पाइएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए।
मनव बस्तीदेखि दुई समय मिटर माथि रहेको उक्त ढुंगो सर्दै गरेको र वरिपरिका जमिनसमेत चिरा परेको भेटिएको प्रजिअ घिमिरेले बताए। उनका अनुसार पालिकास्तरको विपद व्यवस्थापन समितिबाट निर्णय भएर जिल्लामा आएपछि जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटले उक्त ढुंगो फुटाउने निर्णय छिट्टै गर्ने तयारी गरेको छ।
त्यहाँ ६ घर परिवार रहेका छन्।
स्थानीयवासीका अनुसार ढुंगो झरिरहेका कारण तल रहेका घरका मानिसहरू आलोपालो गरेर राति पालो पहरा गर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !