शिक्षा विधेयक समितिबाट पारित, शिक्षक असन्तुष्टै

शिक्षा विधेयक समितिबाट पारित, शिक्षक असन्तुष्टै
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गरेको छ । बिहीबार अबेर रातिसम्म चलेको बैठकले उपसमितिका सुझावलाई परिमार्जनसहित पारित गर्दै प्रतिवेदन बनाउने जिम्मा समिति सचिवालयलाई दिएको छ । यद्यपि, विधेयकमा आफ्ना सबै माग पूरा नभएको भन्दै शिक्षकहरूले असन्तुष्टि जनाएका छन् । 

यसअघि शिक्षकहरूको ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने विषयमा समितिमा विवाद भएको थियो । विवादित विषयमा सहमति जुटाउन सांसद छविलाल विश्वकर्मा संयोजकत्वमा उपसमिति गठन गरिएको थियो । सोही उपसमितिले दिएको प्रतिवेदन परिमार्जनसहित समितिले पारित गरेको हो । उपसमितिले दिएको प्रतिवेदन संशोधनसहित समितिले पारित गरेको सभापति अम्बरबहादुर थापाले जानकारी दिए । 

समितिबाट पारित विधेयकका प्रावधानप्रति नेपाल शिक्षक महासंघले असन्तुष्टि जनाएको छ । आफ्ना माग सम्बोधनका लागि दबाब कायमै राख्ने महासंघका प्रतिनिधिहरू बताउँछन् । महासंघका महासचिव तुलाबहादुर थापाका अनुसार विधेयक बनाउने क्रममा आफूहरूसँग गम्भीर छलफल र सहमति नभएको बताए । 

महासचिव थापाले प्रधानाध्यापकको ट्रेड युनियन सदस्यता, बढुवा र सरुवालगायत विषयमा आफूहरूसँग छलफल नभएको र प्रतिवेदनमा त्यस्ता कुराहरू समावेश गरिएको जानकारी दिए । अझै महासंघले प्रतिवेदनको विस्तृत अध्ययनपछि मात्र आधिकारिक धारणा सार्वजनिक गर्ने उनले बताए । विधेयकमा नमिलेका कुराहरू संशोधनका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभामा पहल गरिने थापाले बताए । यस विषयमा थप निर्णय गर्न भदौ ३ र ४ गते महासंघको केन्द्रीय कार्यसमितिको बैठक बस्ने उनले जनाए । समिति सभापति थापाले भने शिक्षा क्षेत्रमा अब शक्तिको नभई प्रणाली र कार्यसम्पादनको आधारमा काम हुने बताए । 
  
उनी भन्छन्, ‘विधेयकले शिक्षालाई’ सिस्टम’ भित्र ल्याउनेछ र शक्तिको आडमा हुने हस्तक्षेपलाई रोक्ने लक्ष्य लिएको छ ।’ यसअघि शिक्षक महासंघका अधिकारीहरूले पूर्ण सहमति नभएको भन्दै असन्तुष्टि जनाएको भए पनि प्रतिवेदन पूर्ण सहमतिका साथ आएको उनको दाबी छ । सभापति थापाले समितिले तयार पारेको प्रतिवेदनले शिक्षा विधेयकको कार्यान्वयनपश्चात् शैक्षिक सुधार ल्याउने विश्वास व्यक्त गरे । उनका अनुसार प्रतिवेदनका मुख्य बुँदाहरूमा पूर्ण छात्रवृत्तिमा जोड, शिक्षक बढुवाको नयाँ मापदण्ड, शिक्षकको उत्तरदायित्व र दण्ड–पुरस्कारदेखि प्रणालीगत सुधार जस्ता विषयमा जोड दिइएको छ । 

‘प्रतिवेदनले छात्रछात्रालाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्ने उल्लेख छ । विपन्न वर्गका विद्यार्थीलाई छात्रवृत्ति दिने र केही विपन्न विद्यार्थीका लागि आवासीय व्यवस्थाको समेत पहल भएको छ,’ उनले भने । यसअघि शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था रहेकोमा अब बढीमा २५ जना बराबर ३ देखि ५ जनालाई पूर्ण छात्रवृत्ति दिने अनुपातमा आउन सक्ने उनले जानकारी दिए । समितिले सो व्यवस्था उल्लेख गरेर पठाए पनि यसको अन्तिम टुंगो लाग्न बाँकी रहेको पनि उनले बताए । तर, यसले निजी विद्यालयमा दिइने छात्रवृत्तिमा आवास नसमेट्ने देखिन्छ । यसअघि निजी विद्यालयले छात्रवृत्तिको सूचीमा आवासलाई समेत समेट्नुपर्ने माग गरेका थिए । 

पुरस्कार र दण्डको व्यवस्था 
विधेयकमा राम्रो काम गर्ने शिक्षकलाई पुरस्कार र काम नगर्नेलाई दण्डको व्यवस्था गरिएको समिति सभापति थापाले जानकारी दिए । कार्यसम्पादनमा कमजोर देखिएका (४० प्रतिशतभन्दा तल ल्याउने) शिक्षकलाई दण्डनीय व्यवस्था र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कारको व्यवस्था गरिने व्यवस्था गरिएको सभापति थापाले जानकारी दिए ।
 
यस्तै, उक्त प्रतिवेदनले शिक्षक बढुवाको नयाँ मापदण्डअन्तर्गत शिक्षकको बढुवा आन्तरिक, ज्येष्ठता र कार्यक्षमताका आधारमा गरिनेछ उल्लेख गरेको छ । यससँगै, कार्यसम्पादनको मूल्यांकनलाई विशेष जोड दिइएको छ । उनी भन्छन्, ‘आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन, कार्यक्षमताको मूल्यांकनका आधारमा बढुवा गर्ने भनिएको छ ।’ जसमा तृतीय तह खुला प्रतिस्पर्धाबाट मात्रै छनोट हुनेछ भने दोस्रो र तेस्रो तहमा आन्तरिक प्रतियोगिता, ज्येष्ठता र कार्यक्षमताको मूल्यांकनलाई आधार मान्ने उल्लेख गरिएको छ । आधारभूत तहको दोस्रो तहमा आन्तरिक २०, ज्येष्ठतामा ४०, कार्यसम्पादनको मूल्यांकन ४० अंक, प्रथम श्रेणीको आन्तरिक १०, ज्येष्ठता ४५, कार्यक्षमताको मूल्यांकनमा ४५ अंक बनाउनेमा सहमति जुटेको छ । यसैगरी, माध्यमिक तहको खुला प्रतियोगिताद्वारा ८० प्रतिशत मात्रै हुने भनिएको छ । 

‘आन्तरिक प्रतियोगिताबाट २०, ज्येष्ठतमा ४०, कार्यक्षमताको ४० अंक हुने भएको छ । त्यस्तै, प्रथम तहमा आन्तरिकमा १०, ज्येष्ठतामा ४५ र कार्यक्षमतामा ४५ अंक रहेको छ,’ उनले अन्नपूर्णसँग भने । वास्तवमा शिक्षकको कार्यसम्पादन मूल्यांकनको गणना गर्दा पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन औसतमा ८० प्रतिशतमा हुने गरी बनाइएको छ । जबकि, यसअघि यस्तो मूल्यांकन औसत ९० प्रतिशत प्राप्त गरेको हुनुपर्ने प्रस्ताव गरिएको थियो ।

यस्तै, शिक्षक महासंघको सदस्य रहेका शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निष्क्रिय हुने प्रस्तावसमेत समितिले पास गरेको जनाकएको छ । यससँगै शिक्षक महासंघका पदाधिकारीलाई काज दिने र शिक्षक काजमा खटाउँदा स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा सहमति जुटेको जनाइएको छ । यद्यपि, लामो समेयदेखि बिथोलिरहेको विद्यालय शिक्षा विधेयक अन्तिम टुंगो नलगाएसम्म के कति परिमार्जन हुन्छ भन्नेबारे एकिन भने छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.