मधेसका पर्यटकीय क्षेत्र विकास गर्न माग
काठमाडौं : मधेसका पर्यटकीय क्षेत्रहरूको विकासका लागि नीतिगत रूपमै सुधार गर्न माग गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले उक्त माग गरेको हो । मधेस सरकारका पर्यटन मन्त्री ई.वसन्त कुशवाहाले संघीय सरकार पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेलाई सातबुँदे मागपत्र बुझाएका छन् । राष्ट्रिय पर्यटन परिषद्को बैठकमा मधेस सरकारले उक्त मागपत्र मन्त्री पाण्डेलाई बुझाएका हुन् ।
मधेसको हवाई पहुँचलाई देश तथा विदेशमा पुर्याउनुपर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नुपर्ने, मधेसमा पर्यटकीय स्थलको प्रचारप्रसार गर्नुपर्ने, सीमा नाकामा पर्यटक प्रहरी पोस्ट स्थापना गर्नुपर्ने, पर्यटनको विकासका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्यलगायतको माग गरिएको छ ।
सरकारसँग जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थलका रूपम स्तरोन्नति गर्न माग गरिएको छ । भारतका प्रमुख धार्मिक तथा सांस्कृतिक सहरहरू अयोध्या, वनारस, लखनउ, पटना, दिल्लीसँग सीता माताको जन्मभूमिलाई सिधा हवाई सेवासँग जोड्न माग गरिएको छ । त्यससँगै देशभित्रका भैरहवा, नेपालगन्ज, विराटनगर र पोखरा सहरका विमानस्थलसँग पनि आन्तरिक हवाई कनेक्टिभिटी माग गरिएको छ । मधेसको सांस्कृतिक परम्परागत वास्तुकला संरक्षणका लागि आवश्यक कार्यक्रम अघि बढाउन पनि माग गरिएको छ ।
त्यसैगरी, मधेस प्रदेशका ८ वटै जिल्लका नेपाल–भारत नाकाहरूमा पर्यटक सूचना केन्द्र स्थापना गर्न माग गरिएको छ । ती स्थानहरूमा एकीकृत सुरक्षा प्रणाली लागू गरी पर्यटक आवागमनलाई सहज एवं सुरक्षित बनाउन पनि माग गरिएको छ । हाल पर्यटक प्रवेश स्थानहरूमा प्रहरी प्रशासनले पर्यटकलाई दुव्र्यवहार गरिरहेको प्रदेश मन्त्री कुशवाहाले जनाए । उनले भने, ‘पर्यटकको सुरक्षाका लागि सीमा क्षेत्र, प्रवेश स्थानहरू र मधेसका मुख्य पर्यटकीय स्थलहरूमा आवश्यक पर्यटक प्रहरी तथा आईपी बेस्ट सीसीटीभी प्रणाली जडान गर्नुपर्छ ।’
मधेस प्रदेशको पर्यटन विकासका लागि संघीय नीति, कानुन र बजेट व्यवस्थापनमा प्रदेशको पूर्ण सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । संघ, प्रदेश र स्थानीय तहबीच समन्वयमा आधारित पर्यटन प्रवर्धन कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ ।
सीमावर्ती भारतीय प्रदेशहरू उत्तर प्रदेश र विहारसँग धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्धन गर्न द्विपक्षीय सम्झौता गरी संयुक्त कार्यक्रमहरू सञ्चालन गर्न संघीय सरकारसँग माग गरिएको छ । ‘भीजीट मधेस’ नामबाट डिजिटलसहितका प्रचारप्रसार अभियान सञ्चालनको माग गरिएको छ । यसले मधेसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको गन्तव्यका रूपमा विकास गर्न मद्दत गर्ने बताइएको छ ।
मधेस प्रदेश देशकोे सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेको पर्यटनमन्त्री कुशवाहाले जनाए । उनका अनुसार प्रदेशको समृद्ध सांस्कृतिक धरोहर, खुला सीमा क्षेत्र, ऐतिहासिक स्थलहरू, जैविक विविधता र धार्मिक पर्यटनले देशको बृहत् पर्यटन क्षेत्रलाई मजबुत बनाउन ठूलो योगदान पुर्याउन सक्छ । तर, यी सम्भावनाहरूलाई पूर्ण रूपमा उपयोग गर्न विभिन्न पर्यटकीय पूर्वाधार र नीतिसम्बन्धी चुनौतीहरू देखिएका छन् ।
यता संघीय पर्यटनमन्त्री पाण्डेले मधेस सरकारले उठाएको मागहरूमा आफू सकारात्मक रहेको बताए । उनले सीमा नाकामा पर्यटकसँग भइरहेको दुर्व्यहारजन्य घटना नियन्त्रणका लागि गृहमन्त्रालयसँग समन्वय गरेर समाधान गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस !