४५ हजार बढीले गरे बडीमालिका दर्शन

४५ हजार बढीले गरे बडीमालिका दर्शन
सुन्नुहोस्

बाजुरा : बाजुरामा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका भगवती माताको ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। साउन १४ देखि २३ सम्म चलेको मूल पूजा तथा मेलामा देशका विभिन्न स्थानसहित भारतबाट समेत दर्शनार्थीको आगमन भएको थियो।

नेपाल स्काउट सुदूरपश्चिम प्रदेश संयोजक नरेन्द्र थापाका अनुसार यस अवधिमा करिब ४५ देखि ५० हजारको हाराहारीमा भक्तजन बडीमालिका पुगेका थिए। यद्यपि, परम्परागत रूपमा मुख्य पूजा जनैपूर्णिमाको अघिल्लो दिन हुने गरे पनि यस वर्ष नयाँ मन्दिर निर्माणको अवसरमा साउन १४ देखि नै नवाह (९ ब्राह्मणद्वारा ९ दिनसम्म तीनपटक आवृत्ति पढ्ने र पूजाआजा गर्ने विशेष धार्मिक अनुष्ठान) सुरु गरिएको थियो।

यस वर्षको मेला विशेष आकर्षणको केन्द्र रह्यो। किनकी, नेपाली सेनाले करिब दुई करोड रुपैयाँ लागतमा प्यागोडा शैलीमा कलात्मक मन्दिर निर्माण गरिसकेको छ। भव्य संरचना, उत्कृष्ट शिल्पकला, शान्त वातावरण र सुन्दर परिसरले भक्तजनलाई दिनभर र रातभर लामबद्ध रहन प्रेरित गर्‍यो। मन्दिर क्षेत्र धामी–झाँक्रीको सांस्कृतिक प्रस्तुति, परम्परागत बाजागाजा र भक्तजनको उत्साहपूर्ण सहभागिताले जीवन्त बनाइएको थियो।

समुद्री सतहबाट ४,२०० मिटर उचाइमा रहेको बडीमालिका प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको अद्वितीय संगम मानिन्छ। यहाँका त्रिवेणी क्षेत्र, २२ पाटन, विष्णुपानी, धर्मद्वारजस्ता स्थल, रंगीचंगी फूलले ढाकिएका फाँट, दुर्लभ चराचुरुंगी (डाफे, मुनाल, कस्तुरी, झालर) तथा हिम शृंखलाको मनोरम दृश्य विशेष आकर्षण हुन्। सफा मौसममा यहाँबाट अपी, सैपाललगायत हिमशिखर स्पष्ट देख्न सकिन्छ।

धार्मिक विश्वासअनुसार बडीमालिकाको दर्शनले मनोकामना पूरा हुने, रोग निको हुने र पुत्र प्राप्ति हुने मान्यता छ। परापूर्वकालमा यहाँ भगवती र मैसासुरबीच युद्ध हुँदा खेतमा रोपिँदै गरेको धान यथास्थितिमा रहेको किंवदन्ती पनि प्रसिद्ध छ।

तर, यति महत्वपूर्ण स्थलको संरक्षण र पूर्वाधार विकासमा भने सरकारी ध्यान अभाव देखिन्छ। सहज पैदल मार्ग, खानेपानी र शौचालयको सुविधा, धर्मशाला, बाटोमा संकेत चिह्न अभाव तथा फोहोर व्यवस्थापनको चुनौती अझै समाधान हुन सकेका छैनन्। हरेक वर्ष बाटोमा चिप्लिएर भक्तजन घाइते हुने वा ज्यान गुमाउने घटनासमेत दोहोरिइरहेका छन्।

स्थानीयका अनुसार बडीमालिकालाई राज्यले संरक्षण क्षेत्र घोषणा गरी समिति गठन गरेर मेला व्यवस्थापन, स्वास्थ्य शिविर सञ्चालन र व्यवस्थित बासस्थानको जोहो गर्नु आवश्यक छ। प्रचार–प्रसारले पछिल्ला वर्षहरूमा भक्तजनको संख्या बढाएजस्तै पूर्वाधार र सुरक्षा व्यवस्थामा राज्यको लगानीले यस पवित्र स्थललाई अझ व्यवस्थित र सुरक्षित बनाउन सकिने उनीहरूको विश्वास छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.