बडीमालिकामा निःशुल्क स्वास्थ्य शिविर, आठ सय बढी लाभान्वित
बाजुरा : बाजुराको बडीमालिका मेलाका अवसरमा नेपाली सेनाको ईश्वरीबक्स गुल्म बाजुराले निःशुल्क स्वास्थ्य सहायता तथा शिविर सञ्चालन गरेको छ। साउन २० गतेदेखि २४ गतेसम्म चलेको शिविरबाट आठ सयभन्दा बढी भक्तजनले उपचार र स्वास्थ्य सेवा प्राप्त गरेको सेनाले जनाएको छ।
समुन्द्रि सतहबाट ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका क्षेत्रमा लेक लाग्ने, अक्सिजनको कमी हुने तथा अन्य स्वास्थ्य समस्या देखिने भएकाले सेनाले हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। यस वर्ष पनि त्रिवेणी, बडीमालिका मन्दिर परिसरसहित तीन स्थानमा विशेषज्ञ चिकित्सक सहितको टोलीद्वारा सेवा प्रदान गरिएको गुल्मपति सेनानी कृष्ण तिमिल्सिनाले बताए।
शिविर अवधिमा तीन जना सिकिस्त बिरामीको आकस्मिक उपचार पछि घर पठाइएको र तीन जनालाई उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। आकस्मिक अवस्थाका लागि अक्सिजन सुविधा सहितको स्वास्थ्य सेवा उपलब्ध गराइँदा नेपाली सेनाको हेलिकोप्टर पनि सदरमुकाम मार्तडीमा स्ट्यान्डबाई अवस्थामा राखिएको थियो।
यस वर्ष करिब ४५ देखि ५० हजार भक्तजन बडीमालिका पुगेको अनुमान गरिएको छ। सेनाले स्वास्थ्य शिविरसँगै बाटोमा पैदल यात्रीका लागि बाटो सम्बन्धी जानकारी, खानेपानीको आपूर्ति, अस्थायी शौचालयको निर्माण र अस्थायी टेन्टमार्फत बासको व्यवस्था बडीमालिका क्षेत्र सरसफाई लगायतका कामहरू गरेको छ।
मेला अवधिभर शान्ति–सुरक्षा, भीड व्यवस्थापन, तथा मेला सम्पन्न भएपछि बडीमालिका सफाइ अभियान जस्ता विभिन्न कार्यक्रम सञ्चालन गरिएको गुल्मपति तिमिल्सेनाले बताए। तर, यसपटक बडीमालिका दर्शनबाट फर्कने क्रममा चिप्लिएर दुई जनाको मृत्यु भएको दुःखद घटना पनि भएको छ।
बडीमालिका माताको दर्शन पछि फर्कने क्रममा विष्णु पानी नजिकैको भीरमा लडेर मृत्यु भएका दुवै जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा नेपाली सेनाले निकालेर नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पठाएको थियो।
२०८२ साउन २२ गते साँझ करिब ६ बजे बडीमालिका दर्शन गरी फर्कने क्रममा काठमाडौं जिल्लाको गोकर्णश्वर नगरपालिका–५ का ५२ वर्षीय विप्लव ओझाको घटना स्थलमै मृत्यु भएको छ भने त्यस्तै बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका–४ का ७५ वर्षीय डिल्लीराज घोडासैनी साउन २४ गते भीरबाट लगेर घटनास्थलमै मृत्यु भएको हो। दुवै जनाको शव बडीमालिका क्षेत्रको विष्णुपानी भिरमा अट्किएको थियो।
प्रतिक्रिया दिनुहोस !