ट्युबवेलका लागि २५ हजारको आवेदन, मधेस सरकारलाई बजेटको अभाव

ट्युबवेलका लागि २५ हजारको आवेदन, मधेस सरकारलाई बजेटको अभाव
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशमा स्यालो ट्युबवेलका लागि २४ हजार ७ सय ७४ किसानले आवेदन दिएका छन् । सरकारले जनताको आवश्यकता र प्राथमिकताका आधारमा १२ सय जति स्यालो ट्युबवेल वितरण गर्ने योजना बनाए पनि आवेदन अत्यधिक परेपछि बजेट अभावमा हालका लागि कार्यक्रम नै होल्ड भएको छ । 

मधेस प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १८ करोड रुपैयाँको लागतमा ‘सुक्खा क्षेत्र सहयोग कार्यक्रम’मार्फत प्रदेशका किसानलाई स्यालो ट्युबवेल उपलब्ध गराउने योजना ल्याएको हो । ट्युबवेल वितरणका लागि मन्त्रालयले सातदिने सूचनासमेत प्रकाशित गरेको थियो । ट्युबवेल पाउन इच्छुक किसानले कम्तीमा दुई बिघा खेतीयोग्य जमिनको प्रमाणित लालपुर्जा कृषि ज्ञान केन्द्रमा बुझाउनुपर्ने सर्त बनाइएको थियो । 

मन्त्रालयको सोही प्रावधानअनुसार प्रदेशका आठै जिल्लाका किसानले आवेदन दिएका हुन् । स्यालो ट्युबवेलका लागि सबैभन्दा बढी धनुषाका ४ हजार ६४५ किसानले आवेदन दिएका छन् । त्यसैगरी, रौतहटबाट ३ हजार ९२२, सप्तरीबाट ३ हजार ८१, पर्साबाट ३ हजार ४४, सिरहाबाट २ हजार ७४४, बाराबाट २ हजार ३९१, महोत्तरीबाट २५ सय ८५ र सर्लाहीबार २३ सय ६२ गरी जम्मा २४ हजार ७७४ जनाले सम्बन्धित कृषि ज्ञान केन्द्रमा आवेदन बुझाएका हुन् । 

एकातर्फ स्यालो ट्युबवेल पाउन किसानको आवेदन अपेक्षाभन्दा तीन गुणा बढी आएको छ भने त्यहीँ अर्कोतर्फ बजेट भने न्यून रहेकाले कामअगाडि बढाउन गाह्रो भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत अभिनाश झा बताउँछन् । सप्तरीमा ट्युबवेल जडानका लागि प्रदेश सरकारले २ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरे पनि आवेदनअनुसार अनुमानित बजेट ६ करोड चाहिन्छ ।

त्यसैगरी, सिरहामा १ करोड ६१ लाख रुपैयाँ ट्युबवेल जडानका लागि पठाइएको छ । त्यहाँ कृषि ज्ञान केन्द्रको अनुसन्धानअनुसार २ सय फिटमा स्यालो ट्युबवेल जडान गर्नुपर्ने र त्यसका लागि पर सेट ३ लाखका दरले रकम चाहिएको हुँदा अनुमानित बजेट निकै बढी हुन जान्छ । 

धनुषामा २ करोड ५० लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ । महोत्तरीका लागि १ करोड ६५ लाख, सर्लाहीलाई १ करोड ८५ लाख, रौतहटमा १ करोड ९१ लाख, बारामा १ करोड १५ लाख र पर्सामा २ करोड २० लाख रुपैयाँ गरी जम्मा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ । तर, मागका अनुसार गरिएको प्रारम्भिक अनुमानमा १ अर्बभन्दा बढी रकम ट्युबवेल जडानका लागि आठै जिल्लामा आवश्यक पर्ने देखिन्छ । 

‘मागअनुसार बजेट निकै कम छ । अब कसलाई वितरण गर्ने र कसलाई नगर्ने भन्ने दोधारमा छौं, त्यसैले यस कार्यक्रमका लागि संघीय सरकारसँग थप सहयोग माग्ने योजना रहेकाले हालका लागि काम रोकिएका छन्,’ कृषि मन्त्रालयका अधिकृत झाले भने, ‘कृषि मन्त्रालयसँग बजेट थोरै छ । तर, यति धेरै आवेदन आउँदा सहज रूपमा कार्यक्रम सञ्चालन गर्न गाह्रो भएको छ ।’

एउटा स्यालो ट्युबवेल जडान गर्न एक लाखदेखि तीन लाख रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ । ट्युबवेलमा सौर्य ऊर्जा प्रणाली जडान गर्दा थप लागत लाग्छ भने पानीको सतह कति छ भन्ने कुराले पनि खर्चमा असर पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.