बागमतीका मेयर थापालाई १० करोड जरिवाना, ८ वर्ष कैद सजाय

बागमतीका मेयर थापालाई १० करोड जरिवाना, ८ वर्ष कैद सजाय
सुन्नुहोस्

काठमाडौं : विशेष अदालतले माओवादी केन्द्रका नेता एवं सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै १० करोड बढी जरिवाना र ८ वर्ष कैद सजाय तोकेको छ ।

विशेष अदालतले थापासहित तत्कालीन नगरका प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेललाई दोषी करार गर्दै फैसला सुनाएको हो । विशेषले पोखरेल र पौडेललाई पनि ८/८ वर्ष कैद र जनही १० करोड जरिबाना निर्धारण गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले मेयर थापा, पोखरेल र पौडेलले ३० करोड २९ लाख ३४ हजार ८७९ रुपैयाँ बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेका ठहर गरेको हो । तीनै जनासँग जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ । ‘उनीहरूबाट दामासाहीले जनही १० करोड १ लाख ७८ हजार २९९ रुपैयाँ असुल उपरसमेत हुने ठहर्छ’, फैसलामा उल्लेख छ ।

विशेष गत साउन २१ गते नै थापासहित तीनै जनालाई दोषी ठहर गर्दै साउन २९ मा सजाय निर्धारण गर्ने फैसला गरेको थियो । उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरीले भने सफाइ पाएका छन् ।

२०८१ जेठ २९ गते मेयर थापासहित ६ जनाविरुद्ध यो मुद्दा दायर भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापासहित ६ जनाले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँको भ्रष्टाचार मुद्दा विशेषमा दायर गरेको थियो । साउन २१ गते नै विशेष अदालतले मेयर थापालाई अकुत सम्पीित्त आर्जनमा पनि दोषी ठहर गरेको थियो ।

निलम्बित मेयर थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ गैरकानुनी रूपमा आर्जन गरेको ठहर गरेको थियो । थापालाई गैरकानुनी सम्पत्ति आर्जन (अकुत)को मुद्दामा एक वर्ष कैद र बिगो बराबरको जरिवाना हुने फैसला सुनाइएको थियो । अख्तियारले थापाविरुद्ध २०८० चैत २८ गते उनीविरुद्ध ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ अकुत सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे (थापा), भाइ रामकुमार र भाइबुहारी द्वारिका राउतलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो । यो मुद्दामा अरुलाई भने विशेषले सफाइ दिएको थियो ।

थापाविरुद्ध मुद्दै मुद्दा  
२०८२ जेठ ४ मा अख्तियारले निलम्बित मेयर थापा र मधेस प्रदेशका तत्कालीन आर्थिक ममिला तथा योजनामन्त्री विजयकुमार यादवविरुद्ध ५६ करोड ७१ लाख ७ हजार दुई सय ९९ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बागमती नगरपालिका–४ र १२ मा गैरकानुनी रूपमा वन क्षेत्र अतिक्रमण गरी माछापोखरी बनाएको आरोपमा छ । मिलोमतोमा संघीय तथा प्रदेश सरकारको करोडौं अनुदान रकम खर्च गरेर संरचना निर्माण गरिए पनि त्यसका लागि आवश्यक वातावरणीय अध्ययन नभएको र थिएन ।
कुनै कानुनी प्रक्रिया पनि पूरा नगरिएको पाइएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको दाबी छ । थापा र यादवसहित ८ विरुद्ध सार्वजनिक समपत्ति हिनामिनामा मुद्दा हालिएको छ ।

२०८२ वैशाख ११ गते वन तथा वातावरण मन्त्रालयले थापाविरुद्ध १ अर्ब ४९ करोड ३९ लाख ४३ हजार ३ सय ३७ बिगो कायम गरेर मुद्दा दायर गरेको थियो । मिलोमतो ताल वरिपरि बाटो र अन्य संरचना निर्माणको क्रममा ठूलो परिमाणमा वन पैदावार (ढुंगा, गिट्टी, बालुवा, माटोलगायतका नदीजन्य पदार्थ) अवैध रूपमा उत्खनन गरी निकासी गरेको भन्दै मुद्दा हालिएको छ । थापाकै योजनामा मूर्तिया सेक्टरअन्तर्गत कर्मैया क्षेत्रको वन क्षेत्रभित्र करिब ८१५.२० हेक्टर वन क्षेत्र कृषि क्षेत्र, बस्ती क्षेत्र आदिको रूपमा समेत वन अतिक्रमण भएको पाइएको यो मुद्दामा उल्लेख गरिएको छ ।

अख्तियारको एउटा मुद्दा र वन मन्त्रालयको एक मुद्दा अझै विचराधीन छ । दुवै मुद्दामा विशेष अदालतले थापालाई दोषी कारण गरेको छ । २०७४ मा मेयर भएपछि थापाले सागरनाथ वन विकास परियोजना अन्तर्गतको मुर्तिया वन क्षेत्रको जग्गामा अतिक्रमण गरेर माछा पोखरीको निर्माण सुरुवात गरेका हुन् । उनले माछापोखरीको नामलाई नै आफ्नो नाम राखेर भरत ताल नाम दिए। उनीमाथि यो क्षेत्रको ढुंगा, गिट्टी, बालुवा, माटो जस्ता वन पैदावार अवैध रूपमा उत्खनन गरी दुरुपयोग गरेको आरोप छ ।

 


 


 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.