श्रीकृष्ण तत्व : भवरोगको औषधि

संस्कृति

श्रीकृष्ण तत्व : भवरोगको औषधि

मोह रात्रिका नामले चिनिने भाद्रकृष्ण अष्टमी वर्षभरिकै उत्कृष्ट मानिन्छ। जसलाई श्रीकृष्णजन्माष्टमीको रूपमा भव्यरूपमा मनाउने चलन प्राचीन समयदेखि छ।

साढे पाँच हजार वर्षअघिको प्रसंग, ताजै छ अहिले पनि ! २०८२, साउन ३१, श्रीकृष्णाष्टमी । भवाटवीको भवरोगको औषधि के होला ? खोजीमा छौं हामी तर प्राप्त छैन अलौकिक विषय । शरीर छ, दुःख छ, संसार छ, चिन्ता छ, रोग छ, भयातुर छौं हामी । खासगरी यो कलियुगको विशेषता । कलिको आरम्भ पूर्व द्वापरयुगको कुरो ब्रह्माण्डका रक्षक नारायणको अर्को अवतार कारागारमा, धर्म स्थापनार्थ बसुदेव देवकी पुत्र भएर कंशको काल हुँदै अजन्माले जन्म लिएको दिन, यसो भनौं जन्माष्टमी !

मोह रात्रिका नामले वर्षभरिकै उत्कृष्ट रूपमा चिनिन्छ भाद्रकृष्ण अष्टमी । उक्त दिनलाई श्रीकृष्णजन्माष्टमीको रूपमा भव्यरूपमा मान्ने चलन प्राचीन समयदेखि चल्दै आएको हो  । सोह्र कलाले पूर्ण, चन्द्रवंशमा, पूर्ण अवतारको रूपमा परमेश्वरले मानवरूपमा मथुरामा, बसुदेव देवकीका आठौंं गर्भका रूपमा धर्तीमा अवतरित परमात्मा श्रीकृष्णलाई मुख्य दस अवतारमध्ये आठौं अवतारको रूपमा लिइन्छ । दसौं अवतार कल्की रूपमा हुनेछ, ४ लाख ३२ हजार वर्षपछि, विष्णुयश ब्राह्मणको घरमा ।

युगयुग पिच्छे नै खराबी, इष्र्या, छल प्रवृत्तिहरू त भए नै । सत्यको पुनस्र्थापन गर्न अदृश्य नै भए पनि कुनै शक्तिले काम गरिरहेको हुन्छ । हालको कलियुग सुरु हुनु अगाडिको द्वापरयुगमा धर्तीमा देखिएको अन्याय, अत्याचार, कुसंस्कार र दुष्ट, क्रूर, तानाशाहहरूलाई निर्मुल पारी सत्य धर्मको संस्थापनका लागि ब्रह्मा आदि देवताहरूको पुकारलाई र यसअघि नै दिइएको वरदानसिद्ध गरे । क्षीरसागरवासी लक्ष्मीका पति शेषशायी श्रीविष्णुले गोरुपी पृथ्वीको आर्तपुकारपछि यादवकुलका शुरसेनपुत्र वसुदेवका पुत्र रूपमा जन्मलिने आश्वासन भयो । सोही मुताविक कंशद्वारा बन्दी बनाइएका कारागारमा मध्यरात्रि, मोहरात्रिमा सबैलाई मोहित पारे । पूर्व योजनाअनुसार यसअघि नै योगमायालाई पठाई आफूले जन्म लिएको दिन हो, यो अष्टमी । वर्षमा चार रात्रि प्रमुख छन् : कालरात्रि, मोहरात्रि, शिवरात्रि र सुखरात्रि अर्थात् लक्ष्मीपूजाको रात्रि ।

सात्विक भावका मथुरा नरेश उग्रसेन राज्य सञ्चालनमा व्यस्त हुँदा वनविहार गर्ने इच्छा राख्ने उनकी रानीको कोखमा द्रुमिल दैत्यको कालो छायाँ पर्न जान्छ । यसरी कुसंस्कार र छलको प्रतीकका रूपमा जन्मिए कंश । जसले धर्तीदेखि सारा ब्रह्माण्ड तहसनहस पार्न खोज्दा प्रताडित बनेकी धर्ती एवं सम्पूर्ण देवताको प्रार्थनालाई सुनेर मानव स्वरूपमा जन्मे । यसरी धर्म, न्यायको उपदेश दिने द्वापरयुगीन परमेश्वर श्रीकृष्णको स्वधागमन समय यसै वर्ष ५,१२६ वर्ष पूरा भएको छ । उनको पावनलीला, अवतार प्रसंगले मथुरा क्षेत्रदेखि वृन्दावन र अवतारप्रसंग चर्चा हुने सम्पूर्ण क्षेत्र हालसम्म दिव्यधाम बनेको छ । राजा उग्रसेनका भाइ देवककी पुत्री देवकीलाई अति माया गर्ने कंशले बहिनी देवकीको बिहे यादव कुलका वासुदेवसँग हुँदा दाइजोसहितपुर्‍याउन जाँदा बाटामा ‘देवकीकै आठौं गर्भबाट तेरो मृत्यु हुन्छ’ भन्ने आकाशवाणी सुने । रिसले चूर भई बाटैमा खड्ग प्रहार गरी बहिनीलाई मार्ने प्रयत्न गरे । त्यसपछि वासुदेवको अनुरोधमा जन्मेको बच्चा सबै बुझाउँछु भन्ने प्रतिज्ञा गरे । सोही अनुसार देवकीको ज्यान बचेको थियो ।

संसारलाई नै चकित पार्ने महाभारत युद्धमा सत्यको स्थापना गरी पाण्डव पक्षको विजय गराउनु भगवान् श्रीकृष्णका अलौकिक कार्य हुन्। 

वासुदेव दम्पतीबाट जन्मेका ६ वटा बच्चासम्म सकिसकेको अवस्थामा सातौं गर्भमा बलराम भनौं शेषलाई पठाई योगबलद्वारा वासुदेवकी अर्की पत्नी रोहिणीमा त्यो गर्भ सारे । र, गोकुलमा बस्ने नन्दपत्नी यशोदाका गर्भमा योगमायालाई जन्म लिने प्रेरणा भयो । सबै परिवेश मिलाई देवकीमा आठौं गर्भमा भने आफू रहने अनि सम्पूर्ण देवतालाई गोपको रूपमा र देवीहरूलाई गोपीका रूपमा धर्तीमा अवतरित गराउने, स्वयं महालक्ष्मी भने रुक्मिणीका रूपमा धर्ती अवतरण हुने प्रसंग पहिले नै मिलाइएको थियो । देवकीकोे सातौंं गर्भस्राव भएको कुरो कंशलाई थाहा भएन । आठौं गर्भधारणा भएको खबरपछि कडा पहरा दिई कारागारमा ७ ताल्चाबन्दी गरियो । सम्पूर्ण लोकालोकमा रहेका देवताहरूले संसारका नायक, अधिपतिले लोक रक्षाका लागि प्रदूषणयुक्त आमाको गर्भमा बास गर्नु परेको  भन्दै अनेक स्तुति, पुकार, वन्दना गर्न लागे, जसलाई गर्भस्तुति भनिन्छ ।

प्रकृति शान्त, उत्तम, ग्रह, नक्षत्र तारागण सबै अनुकूल, पृथ्वी, अप, तेज, वायु र आकाश पूरै स्वच्छ भएको बेला दिव्यतेजसहित भाद्रकृष्णका रात्रिमा कंशका कालकोठरीमा प्रस्रव पीडा बिना नै देवकीका गर्भवाट प्रकट भएका भगवान्को स्वरूप अद्भूत थियो । शंख, चक्र, गदा, पद्य, कीरिट, कुण्डल, मुकुट, मयुरपंखी शिर, पीताम्वरधारी, श्रीवत्सचिह्नको वक्षस्थल, घाँटीमा कौस्तुभमणि र कमल नेत्र परमेश्वरको दिव्य दर्शन पाएका वासुदेव र आमा देवकी दुवै मोहित भए ! अघि तपाईंहरूले कठिन तप गर्दा तीन जन्मसम्म तपाईंहरूको पुत्र रूपमा प्रस्तुत हुने वचन पूरा गर्न अहिले आफू पुत्ररूपमा आएको स्मरण गराउँदै कंशबाट भयभीत नहुन र तुरुन्तै टोकरीमा राखी यमुना पारि गोकुलमा लगी त्यहाँ यशोदाबाट भर्खरै जन्मिएकी पुत्री यस कारागारमा लिई आउन र त्यति कार्य पूर्ण हुन्जेल कारागार सबै खुल्ने, कसैले पत्तो नपाउने र यी सबै कुरा गोप्य राख्नुपर्ने संकेत गरी भगवान् तत्कालै बालभावमा प्रस्तुत हुनु भएको थियो । 

श्रीकृष्णको जन्मप्रसंग लौकिक देखिए पनि बन्द कारागारमा जन्मिएर पनि आफू सुरक्षित रहनु, जन्मिएको छैटौं दिनमै बालघातिनी पुतनाको बध गर्नु, आँधी तुफानको रूपमा आएको राक्षसी प्रवृत्ति तृणावर्त, वत्सासुर, अघासुर, वकासुर, धेनुकासुर आदिलाई बध गरी वृन्दावनमा स्वयं ब्रह्माजीलाई समेत मोहित पार्नुले अलौकिक कार्य स्पष्ट हुन्छ । त्यस्तै, परम्परागत इन्द्रपूजालाई तोडी कृषि कार्यमा सबैलाई प्रेरित गर्दै गोवद्र्धन पूजामा सरिक गराउनु, कंशद्वारा तयार गरिएको रंगभूमिमा प्रवेश गरी दुष्ट कंशको अन्त्य गरी बाबुआमालाई कारागार मुक्त पारी गुरु सान्दिपिनीबाट ६४ कलाविधा आर्जन गर्छन् । यसरी विवाह आदि कार्य र संसारलाई चकित पार्ने महाभारतयुद्धमा सत्यको स्थापना गरी पाण्डव पक्षको विजय गराउनु उनका अलौकिक कार्यहरू नै भए ।

मथुरामा मानव जन्म लिएका श्रीहरिका लागि समस्त पृथ्वी तल र देवलोकमध्ये पावनक्षेत्र मथुरा, वृन्दावन हो भनी वाराहपुराणमा उल्लेख छ । वृन्दावनको नक्कल गर्दै अहिले हामी सबैतिर साउनभरि झुला उत्सव गर्दैछौं, जहाँ मूर्तिस्वरूप भगवान्लाई झुलाउन सकिन्छ । हामी भयरहित भई जिउन सक्छौं, रातमा मीठो निद्रा लाग्छ, आरामको रात्रिले आयु दीर्घायु हुन्छ, लौकिक औषधिले सम्पूर्ण रोगबाट मुक्ति दिलाउन सकेनन्, सकेका छैनन्, सक्ने छैनन् । त्यसैले योगीजनहरूले भनेका छन््, कर्म पूजा हो, प्राणको घर शरीर हो, निद्रा समाधि हो । अन्तिम सत्य मृत्यु हो, बाँकी सबै मित्थ्या हो, शरीर भोग नभएर योग हो, नश्वर शरीरसँगको ईश्वरसँगको तादात्म्यकता हो । 

अवतारको प्रसंगमा ‘एते चांशकला पुंसः कृष्णस्तु भगवान् स्वयम्’ भनेर भागवतले अन्य अवतारलाई अंश अवतार र श्रीकृष्ण अवतारलाई पूर्ण अवतार मानेको छ । दैत्यहरूका लागि कालको रूपमा चिनिने श्रीकृष्ण स्त्रीहरूका लागि स्वयं कामदेव, गोप, गोपीहरूका लागि आफन्त, प्यारो र दुष्ट शासकहरूका लागि यमराज, कंशका लागि काल र योगीजनहरूका लागि परम सत्वगुणीका रूपमा भई प्रत्येक मानव मनलाई कर्षण गर्ने भएकाले कृष्ण नामका परमेश्वरका विषयमा जति व्याख्या गरे पनि कमै हुन्छ ।

ज्ञान, कर्म र भक्तिको त्रिवेणी वेदस्वरूप भगवान् प्रत्येक भक्तका लागि भक्तवत्सल हुनुहुन्छ । कृष्णका पावन चरित्र स्मरणबाट युगान्तकारी परमेश्वरको सामान्य चिनारीसम्म गर्ने प्रयास गरौं, कृष्णाष्टमीको शुभकामना छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.