बैंकमा थुप्रियो पैसा, राष्ट्र बैंकले तान्यो एकै दिन ६० अर्ब

बैंकमा थुप्रियो पैसा, राष्ट्र बैंकले तान्यो एकै दिन ६० अर्ब

गत वर्षको साउनदेखि नै बैंकमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिँदै आएको हो ।

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आइतबार ६० अर्ब रुपैयाँ तानेको छ । कर्जा दिने अधिक क्षमता रहे पनि लगानी नभएर बैंक तथा वित्तीय संस्थासँग पैसा थुप्रिएको हो ।

गत वर्षको साउनदेखि नै बैंकमा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिँदै आएको हो । चालु वर्षको साउनमा पनि यस्तो पैसा कर्जामा नगएपछि राष्ट्र बैंकले भदौको पहिलो दिन नै ठूलो परिणाममा पैसा खिचेको हो । हाल बैंक तथा वित्तीय संस्थासँग ७ खर्ब १६ अर्ब अधिक लगानीयोग्य पुँजी थुप्रिएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ । यसमध्येको ६ खर्ब ६५ अर्ब १५ करोड रूपैयाँबराबरको अधिक तरलता राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत तानेर राखेको छ । 

एकातर्फ प्रवाहकर्जा उठ्न नसक्दा खराब कर्जाको आकार बढ्न गयो भने अर्कोतिर कर्जाको माग भएन । खराब कर्जाको आकार बढेसँगै बैंकरहरू पनि कर्जा दिन हच्किए । रेमिट्यान्सको आकार बढेर निक्षेप थुप्रिँदै जाने र ब्याजदर घट्दा पनि कर्जा नजाँदा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको हो । लगानी गर्नुपर्ने पुँजी थुपिँ्रदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ । बैंकसँग लगानीयोग्य पुँजी(तरलता) लामो समयदेखि अधिक रहँदै आएको छ । केन्द्रीय बैंकले भदौ महिनाको पहिलो एकै दिन नै बोलकबोलमार्फत ३१ दिने निक्षेप संकलन उपकरणबाट ६० अर्ब रूपैयाँ पैसा तानेको (प्रशोचन गरेको) छ । 

यसअघि साउन २८ गते पनि २५ अर्ब रूपैयाँबराबरको २५ दिने निक्षेप संकलन बोलकबोल गरिएको थियो । यस्तै, साउन २१ गते पनि ४० अर्ब रूपैयाँबराबरको ३५ दिने निक्षेप संकलन बोलकबोल गरिएको थियो । यसैगरी, साउन १८ गते ५० अर्बको ४२ दिने, साउन १४ गते २५ अर्बको ४२ दिने निक्षेप संकलन गरेको थियो । यससँगै, साउन ११ गते पनि ५० अर्ब रूपैयाँबराबरको २८ दिने  र साउन ७ गते ८० अर्बको निक्षेप संकलन बोलकबोल गरिएको थियो । यस्तै, साउन ४ गते पनि ५० अर्ब रूपैयाँको निक्षेप संकलन गरेको थियो । यससँगै गत आवको अन्तिम महिना असार २९ गते समेत ५० अर्बको ४ दिने निक्षेप संकलन गरेको थियो । यसरी चालु आर्थिक वर्ष सुरु भएपछि नै नेपाल राष्ट्र बैंकले ८ पटकसम्म खर्बौं रूपैयाँबराबरको निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट रकम खिचेर मौद्रिक व्यवस्थापन गर्दै आएको छ । अझ गत आवमा छोटा अवधिको यस्ता रकम ताने पनि केन्द्रीय बैंकले पछिल्लो समय महिना वा डेढ महिना अवधिसम्मका लागि प्रणालीबाट रकम प्रशोचन गरेको छ । 

राष्ट्र बैंकका सहाक प्रवक्ता सुमन न्यौपाने अधिक तरलताको प्रभाव ब्याजदरमा परेर घटिरहेको बताउँछन् । लामो समयदेखि अधिक तरलता भएकाले अब संरचनागत रूपमा लामो अवधिबाट रकम खिच्दा उपयुक्त हुने देखिएको उनको भनाइ छ । उनका अनुसार अर्थतन्त्र चलायमान हँुदै जाँदा अधिक तरलता कम हुन सक्छ । उनी भन्छन्, ‘कर्जा प्रवाह बढ्दै जानुप¥यो । आयातमा आधारित अर्थतन्त्र भएकाले आयात बढ्दै गए पनि तरलता प्रयोग हुँदै जान्छ । यद्यपि, लगानी बढ्दै गए आन्तरीक उत्पादनमा प्रोत्साहन हुन्छ । अहिले ब्याजदर कम हँुदा पनि कर्जा नजानुले यसको कारण यसअघिको बढी ब्याजदरमात्रै नभएको देखियो । कसैको खर्च कसैको आम्दानी हो ।’

यसअघि बैंकिङ प्रणालीमा खराब कर्जा बढी भएकाले ऋण लिएर लगानी गर्ने भन्दा पनि कर्जा नै तिर्ने गरेको देखियो । अर्कोतर्फ रेमिट्यान्स नियमित बढेर आइरहने र निक्षेपको रूपमा जम्मा हुने तर त्यो अनुसार लगानी नबढेकाले अधिक तरलता बढेको हो । रेमिट्यान्स बढ्दा वैदेशिक विनिमय सञ्चिति पनि बढेको छ । यो स्रोतबाट पनि बढी मात्रामा तरलता सृजित भयो । ‘भित्रिएको रेमिट्यान्सअनुसार वैदेशिक मुद्रामा खर्च भएन र स्वदेशमा लगानी पनि भएन । जसले तरलता थुप्रियो यसको प्रतिबिम्ब ब्याजदरमा परेर घटिरहेको छ, सहायक प्रवक्ता न्यौपानेले भने,‘तरलता सधैं बढ्छ भन्ने पनि छैन । अर्थतन्त्र चलायमान हुन थाले बैंकको पैसा प्रयोग हुन्थ्यो । तथापि, अधिक तरलताको रकम हेर्दा अझै लामो समय यो स्थिति बस्ने उनको आकलन छ । तरलताको रिफ्लेक्सन ब्याजदरमा देखिरहेको छ ।’

पूर्वबैंकर पर्शुराम कुँवर अधिक तरलताको जोखिम बैंकहरूले कर्जा दिन नहुनेमा लगानी गर्लान कि भन्ने डर भएको तर्फ ध्यानाकर्षण गरे । उनका अनुसार अहिले बल्ल बल्ल बिग्रेको कर्जा सुधार्न खोजेका छन् । ‘फेरि थप बिग्रेला कि भन्ने डर हुन्छ । अब बैंकहरूले पनि कर्जा दिए मात्रै आम्दानी बढ्ने हो, कर्जा दिन नपाउँदा निक्षेपमात्रै थुपारेर ब्याज तिर्नुपर्दा खर्च बढ्ने भयो । यसले गर्दा बैंकको नाफामा असर पर्न सक्छ । यो अधिक तरलताको नोक्सान हो,’ उनले अन्नपूर्णसँग भने ।

अधिक तरलताले बैंकको ब्याजदर झन् घट्यो
बैंकिङ प्रणालीमा खर्बौं रुपैयाँ थुप्रिँदा महिनैपिच्छे निक्षेपको ब्याजदर घटिरहेको छ । यसअनुरूप चालु आवको भदौ महिनामा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर घटाएर ५.५७ प्रतिशतमा सीमित राखेका छन् । यो साउनको तुलनामा ०.११ प्रतिशत विन्दुले कम हो ।  जस्मा २० वटा वाणिज्य बैंकमध्ये ८ बैंकले ब्याजदर घटाएका छन् भने ११ बैंकले स्थिर राखेका छन् । प्रभु बैंकले मात्र ब्याजदर बढाएको छ । कृषि विकास बैंक, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआई बैंकले ब्याजदर घटाएका छन् । यद्यपि, राष्ट्र बैंकको नीतिगत दर ४.५ प्रतिशत कायम छ । यसको प्रभावले पनि ब्याजदरमा कमी आएको छ । 

बैंकहरूले यसरी निक्षेपको ब्याजदर निरन्तर घटाइरहेकाले यतिबेला समग्र कर्जाको ब्याजदर कम भएको छ । यसले गर्दा न प्राय कर्जाको ब्याजदर पनि औसत ६–७ प्रतिशत हाराहारीमा हुने भएकाले सस्तो ब्याजदरको लाभ अब ग्राहकले लिन सक्ने बताउँछन्, नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला । उनकाअनुसार लामो समयदेखी बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भए पनि केन्द्रीय बैंकले कर्जामा कडाइ गर्दा लगानीमा प्रभावित भएको सरोकारवालाहरू बताउँछन् । यद्यपि, अबको अधिक तरलता भैरहदा बैंकहरूलाई निक्षेपको ब्याजदर मात्रै तिरिरहनुपर्ने स्थितिले पनि भदौ महिनाबाट कर्जा प्रवाहलाई बैंकरहरूले जोड दिन खोजेको उनले जानकारी दिए । 

कुल निक्षेप ७२ खर्ब नाघ्दा कर्जा प्रवाह ५५ खर्ब ८० अर्ब
हाल समग्र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूसँग ७ खर्ब १६ अर्ब हाराहारी रुपैयाँ कर्जा प्रवाह गर्ने क्षमता छ । यो  साउन ३१ सम्मको  क्षमता हो । यतिबेला (साउन २६ सम्म) बैंकहरूको लगानीयोग्य क्षमता (तरलता) खुकुलो अर्थात् कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६.२० प्रतिशतमा सीमित छ । नीतिगत व्यवस्थाअनुसार बैंकहरूले अधिकतम ९० प्रतिशतसम्मको सीडी रेसियो सीमा कायम गर्न पाउँछन् । यो भनेको बैंकले १ सय रुपैयाँको निक्षेप संकलन गर्दा ९० रुपैयाँ कर्जा प्रवाह गर्न पाउनु हो । तर, यसअनुसार अहिले बैंकहरूसँग पर्याप्त क्षमता अर्थात् १३.८ प्रतिशतको कुसन छ । 

यस्तै, बैंकिङ प्रणालीमा निक्षेप संकलन पनि बढ्दो छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थको कुल निक्षेप ७२ खर्ब २८ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये बढी हिस्सा ओगट्ने वाणिज्य बैंकको मात्रै ६४ खर्ब ७४ अर्ब  निक्षेप संकलन भएको छ । यसबाहेक विकास र वित्त कम्पनीहरूको ७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जसरी निक्षेप बढेको छ कर्जा प्रवाह गर्ने क्षमता हुँदा पनि थप ऋण बढेको छैन । हालसम्म समग्र बैंक तथा वित्तीय संस्थाबाट ५५ खर्ब ८० अर्ब रुपैयाँ लगानी छ । यसमध्ये वाणिज्य बैंकको मात्रै ४९ खर्ब ५९ अर्ब रुपैयाँ लगानीमा छ । यसबाहेक ६ अर्ब २१ अर्ब रुपैयाँ कर्जा विकास र वित्त कम्पनीमार्फत प्रवाह भएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.