अझै सकिएन रोपाइँ, ७० हजार हेक्टरमा बाँकी

अझै सकिएन रोपाइँ, ७० हजार हेक्टरमा बाँकी

काठमाडौं : भदौको पहिलो साता बितिसक्दा पनि धान रोपाइँ सकिएको छैन । अझै ७० हजार १७६ हेक्टर क्षेत्रफलमा धान लगाउन बाँकी छ । यो वर्ष कुल क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर धान लगाउन योग्य मानिएको छ । हालसम्म कुल क्षेत्रफलमध्ये १३ लाख ६ हजार २९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । हालसम्म कुल क्षेत्रफलको ९४ प्रतिशत मात्रै वर्षे धान रोपाइँ भएको छ ।

उक्त केन्द्रबाट प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्यांकअनुसार यस वर्ष भदौ पहिलो सातासम्म ५.१ प्रतिशत क्षेत्रमा धान रोप्न बाँकी छ । गत वर्षको सोही अवधिमा भने कुल क्षेत्रफलको ९८.५४ प्रतिशत रोपाइँ भइसकेको थियो । गत वर्षको भन्दा यसपटक ४.५४ प्रतिशतले कम धान रोपाइँ भएको छ । सिँचाइको अभावले प्रायः नेपालका किसान आकाशे पानीको भर पर्नुपर्ने स्थितिले समयमा बाली लगाउन नसकेको किसानहरूको गुनासो छ । यो अवस्था बर्सेनि दोहोरिँदै आएको छ ।

गत साउन पहिलो साता मधेस प्रदेशमा पानी नपर्दा भएको धानको बेर्ना पनि सुक्ने मात्र होइन खाने पानीको समेत अभाव भएको थियो । यसवर्ष मनसुन छिटो सुरु भए पनि प्रक्षेपण गरे जति पानी समयमा नपरेकाले किसानलाई रोपाइँमा समस्या परेको बाली विज्ञ डा. टीका कार्की बताउँछन् ।

मधेसमा अझै साढे १३ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुन बाँकीमधेसमा बर्खाको मध्य अवधि अर्थात् साउन पहिलो सातामा खडेरीका कारण कुल क्षेत्रफलको आधा पनि रोपाइँ हुन सकेको थिएन । अहिले पनि अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रोपाइँ भएको प्रदेशमा मधेस पर्छ । भदौ पहिलो सातासम्म मधेसमा कुल ८६.३५ प्रतिशत धान रोपाइँ भएको छ । तर, अझै मधेसको १३.६५ प्रतिशत भू–भागमा धान रोप्न बाँकी छ । गत वर्षको सोही अवधिमा सो प्रदेशको धान लगाउने कुल क्षेत्रफलको ९७ प्रतिशत रोपाइँ भइसकेको थियो । मधेस प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ३ लाख ७० हजार १४५ हेक्टर छ । यसमध्ये ३ लाख १९ हजार ६२६ हेक्टरमा मात्रै रोपाइँ भएको छ । ५० हजार ५१८ हेक्टरमा धान रोप्न बाँकी छ ।

यसबीच प्रदेशगत तुलनामा अहिलेसम्म सबैभन्दा बढी सुदूरपश्चिममा रोपाइँ भएको छ । तर, गत वर्षको यही अवधिमा शतप्रतिशत धान रोपाइँ भएको यो प्रदेशमा यसपटक भने ९९.७२ प्रतिशत रोपाइँ भएको केन्द्रले जानकारी दिएको छ । गत वर्ष सोही अवधिमा शतप्रतिशत रोपाइँ भइसकेको थियो । उक्त प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल १ लाख ७६ हजार १५१ हेक्टर छ । यसमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको केन्द्रको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिम पछिको बढी रोपाइँ कर्णाली र लुम्बिनी प्रदेशमा भएको छ ।

कर्णालीमा कुल धान हुने कुल क्षेत्रफलको ९९.३४ प्रतिशत रोपाइँ भइसक्यो । जहाँ कुल क्षेत्रफल ४१ हजार ४२ हेक्टर छ । यसमध्ये ४० हजार ७७० हेक्टरमा रोपाइँ भइसकेको छ ।  यसपछि लुम्बिनी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ३ लाख २ हजार ९३९ हेक्टर छ । यसमध्ये २ लाख ९८ हजार ११ हेक्टरमा रोपाइँ भइसकेको छ । यो कुल क्षेत्रफलको ९८.३७ प्रतिशत हो ।

यसपछि चौथो बढी रोपाइँ भएको प्रदेश बागमती हो । जहाँ कुल धान हुने क्षेत्रफल १ लाख १५ हजार ६२१ हेक्टर जमिनमा ९७.२७ प्रतिशत रोपाइँ भइसकेको छ । यसअनुरूप अझै ३ हजार १६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ ।

यता गत वर्ष यतिबेला शतप्रतिशत धान रोपाइँ भइसकेको कोशी प्रदेशमा अहिले भने ९७.२४ प्रतिशत मात्र रोपाइँ भएको छ । कोशी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ । यसमध्ये २ लाख ६० हजार ९६४ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ । अझै ७ हजार ६२० हेक्टर जमिनमा धान लगाउन बाँकी छ । यसपछि गण्डकी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ९४ हजार १८२ हेक्टरमध्ये ९६.६३ प्रतिशतमा रोपाइँ भएको छ । यसअनुरूप ९१ हजार ७ हेक्टरमा रोपाइँ भइसकेको छ । गत वर्षको सोही अवधिमा भने कुल क्षेत्रफको ९८ प्रतिशत रोपाइँ भइसकेको थियो ।

वार्षिक ८०.२ प्रतिशतले चामल आयात वृद्धि
नेपालमा केही हदसम्म धान उत्पादन भए पनि भारतबाट बर्सेनि अर्बौं रुपैयाँको आयात हुने गरेको छ । जबकी मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै छ । तर, धान बालीको उत्पादनको प्रवृत्ति भने विगत दश वर्षको तथ्यांक विश्लेषण गर्दा समग्रमा उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिन्छ । तथापि आयातमा निर्भर मुलुक धानमा पनि पर निर्भर छ ।

आर्थिक वर्ष २०८१/८२ मा मात्रै चामल तथा धान ३९ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ बराबरको आयात गरिएको छ । जबकि गत आवमा २२ अर्ब ९ करोड ८३ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भउको थियो । एकै वर्षको अन्तरमा धान आयात ८०.२ प्रतिशतले वृद्धि भएको छ । नेपालको कुल आयातको करीब २.२ प्रतिशत हिस्सा धान, चामलले ओगटेको छ । बर्सेनि नेपालले आयात गर्ने चामल बढ्दो क्रममा छ ।

यसपटक मुलुकमा खडेरीका कारण अधिकांश क्षेत्रमा रोपाइँ डिला भएको छ । अझ सिँचाइका अभावमा आकाशे पानी कुर्नुपर्दा छिप्पिएको बिउ लगाइएको र यसले उत्पादनमा कमी आउने बाली विज्ञ डा. कार्की बताउँछन् । यसकारणले पनि नेपालले आयात गर्ने धान तथा चामलको आकार आगामी दिनमा बढ्ने अनुमान गर्न सकिन्छ । यसरी कृषिप्रधान मुलुक भनिए पनि दिनप्रतिदिन कृषिजन्य उत्पादनको बढ्दो आयातले परनिर्भरतातर्फ धकेलिएको देखिन्छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.