अझै सकिएन रोपाइँ, ७० हजार हेक्टरमा बाँकी
काठमाडौं : भदौको पहिलो साता बितिसक्दा पनि धान रोपाइँ सकिएको छैन । अझै ७० हजार १७६ हेक्टर क्षेत्रफलमा धान लगाउन बाँकी छ । यो वर्ष कुल क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर धान लगाउन योग्य मानिएको छ । हालसम्म कुल क्षेत्रफलमध्ये १३ लाख ६ हजार २९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । हालसम्म कुल क्षेत्रफलको ९४ प्रतिशत मात्रै वर्षे धान रोपाइँ भएको छ ।
उक्त केन्द्रबाट प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्यांकअनुसार यस वर्ष भदौ पहिलो सातासम्म ५.१ प्रतिशत क्षेत्रमा धान रोप्न बाँकी छ । गत वर्षको सोही अवधिमा भने कुल क्षेत्रफलको ९८.५४ प्रतिशत रोपाइँ भइसकेको थियो । गत वर्षको भन्दा यसपटक ४.५४ प्रतिशतले कम धान रोपाइँ भएको छ । सिँचाइको अभावले प्रायः नेपालका किसान आकाशे पानीको भर पर्नुपर्ने स्थितिले समयमा बाली लगाउन नसकेको किसानहरूको गुनासो छ । यो अवस्था बर्सेनि दोहोरिँदै आएको छ ।
गत साउन पहिलो साता मधेस प्रदेशमा पानी नपर्दा भएको धानको बेर्ना पनि सुक्ने मात्र होइन खाने पानीको समेत अभाव भएको थियो । यसवर्ष मनसुन छिटो सुरु भए पनि प्रक्षेपण गरे जति पानी समयमा नपरेकाले किसानलाई रोपाइँमा समस्या परेको बाली विज्ञ डा. टीका कार्की बताउँछन् ।
मधेसमा अझै साढे १३ प्रतिशत क्षेत्रमा धान रोपाइँ हुन बाँकीमधेसमा बर्खाको मध्य अवधि अर्थात् साउन पहिलो सातामा खडेरीका कारण कुल क्षेत्रफलको आधा पनि रोपाइँ हुन सकेको थिएन । अहिले पनि अन्य प्रदेशको तुलनामा सबैभन्दा कम रोपाइँ भएको प्रदेशमा मधेस पर्छ । भदौ पहिलो सातासम्म मधेसमा कुल ८६.३५ प्रतिशत धान रोपाइँ भएको छ । तर, अझै मधेसको १३.६५ प्रतिशत भू–भागमा धान रोप्न बाँकी छ । गत वर्षको सोही अवधिमा सो प्रदेशको धान लगाउने कुल क्षेत्रफलको ९७ प्रतिशत रोपाइँ भइसकेको थियो । मधेस प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ३ लाख ७० हजार १४५ हेक्टर छ । यसमध्ये ३ लाख १९ हजार ६२६ हेक्टरमा मात्रै रोपाइँ भएको छ । ५० हजार ५१८ हेक्टरमा धान रोप्न बाँकी छ ।
यसबीच प्रदेशगत तुलनामा अहिलेसम्म सबैभन्दा बढी सुदूरपश्चिममा रोपाइँ भएको छ । तर, गत वर्षको यही अवधिमा शतप्रतिशत धान रोपाइँ भएको यो प्रदेशमा यसपटक भने ९९.७२ प्रतिशत रोपाइँ भएको केन्द्रले जानकारी दिएको छ । गत वर्ष सोही अवधिमा शतप्रतिशत रोपाइँ भइसकेको थियो । उक्त प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल १ लाख ७६ हजार १५१ हेक्टर छ । यसमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको केन्द्रको तथ्यांकमा उल्लेख छ । सुदूरपश्चिम पछिको बढी रोपाइँ कर्णाली र लुम्बिनी प्रदेशमा भएको छ ।
कर्णालीमा कुल धान हुने कुल क्षेत्रफलको ९९.३४ प्रतिशत रोपाइँ भइसक्यो । जहाँ कुल क्षेत्रफल ४१ हजार ४२ हेक्टर छ । यसमध्ये ४० हजार ७७० हेक्टरमा रोपाइँ भइसकेको छ । यसपछि लुम्बिनी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ३ लाख २ हजार ९३९ हेक्टर छ । यसमध्ये २ लाख ९८ हजार ११ हेक्टरमा रोपाइँ भइसकेको छ । यो कुल क्षेत्रफलको ९८.३७ प्रतिशत हो ।
यसपछि चौथो बढी रोपाइँ भएको प्रदेश बागमती हो । जहाँ कुल धान हुने क्षेत्रफल १ लाख १५ हजार ६२१ हेक्टर जमिनमा ९७.२७ प्रतिशत रोपाइँ भइसकेको छ । यसअनुरूप अझै ३ हजार १६१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ ।
यता गत वर्ष यतिबेला शतप्रतिशत धान रोपाइँ भइसकेको कोशी प्रदेशमा अहिले भने ९७.२४ प्रतिशत मात्र रोपाइँ भएको छ । कोशी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर छ । यसमध्ये २ लाख ६० हजार ९६४ हेक्टरमा मात्रै धान रोपाइँ भएको छ । अझै ७ हजार ६२० हेक्टर जमिनमा धान लगाउन बाँकी छ । यसपछि गण्डकी प्रदेशमा वर्षे धान हुने कुल क्षेत्रफल ९४ हजार १८२ हेक्टरमध्ये ९६.६३ प्रतिशतमा रोपाइँ भएको छ । यसअनुरूप ९१ हजार ७ हेक्टरमा रोपाइँ भइसकेको छ । गत वर्षको सोही अवधिमा भने कुल क्षेत्रफको ९८ प्रतिशत रोपाइँ भइसकेको थियो ।
वार्षिक ८०.२ प्रतिशतले चामल आयात वृद्धि
नेपालमा केही हदसम्म धान उत्पादन भए पनि भारतबाट बर्सेनि अर्बौं रुपैयाँको आयात हुने गरेको छ । जबकी मुलुकभर समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै छ । तर, धान बालीको उत्पादनको प्रवृत्ति भने विगत दश वर्षको तथ्यांक विश्लेषण गर्दा समग्रमा उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिन्छ । तथापि आयातमा निर्भर मुलुक धानमा पनि पर निर्भर छ ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै चामल तथा धान ३९ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ बराबरको आयात गरिएको छ । जबकि गत आवमा २२ अर्ब ९ करोड ८३ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भउको थियो । एकै वर्षको अन्तरमा धान आयात ८०.२ प्रतिशतले वृद्धि भएको छ । नेपालको कुल आयातको करीब २.२ प्रतिशत हिस्सा धान, चामलले ओगटेको छ । बर्सेनि नेपालले आयात गर्ने चामल बढ्दो क्रममा छ ।
यसपटक मुलुकमा खडेरीका कारण अधिकांश क्षेत्रमा रोपाइँ डिला भएको छ । अझ सिँचाइका अभावमा आकाशे पानी कुर्नुपर्दा छिप्पिएको बिउ लगाइएको र यसले उत्पादनमा कमी आउने बाली विज्ञ डा. कार्की बताउँछन् । यसकारणले पनि नेपालले आयात गर्ने धान तथा चामलको आकार आगामी दिनमा बढ्ने अनुमान गर्न सकिन्छ । यसरी कृषिप्रधान मुलुक भनिए पनि दिनप्रतिदिन कृषिजन्य उत्पादनको बढ्दो आयातले परनिर्भरतातर्फ धकेलिएको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस !