बढ्यो जेईको जोखिम

बढ्यो जेईको जोखिम

जापानिज इन्सेफलाइटिस (जेई) अब हाम्रा लागि पनि नयाँ रहेन। यो एक समूहको भाइरस (भ्लाभी भाइरस)द्वारा हुने मस्तिष्क सुजन वा मस्तिष्क ज्वरो हो। यो रोगको पहिलो पहिचान सन् १८७१ मा जापानमा भएको हो। त्यसैले यसलाई ‘जापानिज’ इन्सेफलाइटिस भनियो। अहिले यो रोग जापान मात्र नभई दक्षिण–पूर्व एसिया, प्रशान्त क्षेत्र, चीन, भारत, नेपाल र अन्य धेरै देशमा फैलिएको छ। क्युलेक्स जातका लामखुट्टेको टोकाइबाट सर्ने यसले विश्वका २४ देशमा दुःख दिने गरेको छ। तीन अर्बभन्दा बढी मानिस जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले देखाएको छ।

नेपालमा यो रोग पहिलो पटक सन् १९७८ तिर देखिएको हो र १९७९ देखि यो सार्वजनिक स्वास्थ्यका लागि गम्भीर समस्या भनेर सम्बोधन गरियो। विशेष गरी तराईका २४ जिल्लामा यो रोगको संक्रमण र प्रकोप बारम्बार देखिन्छ। पछिल्ला वर्षहरूमा गर्मी, लामखुट्टेको वृद्धि र मानिसहरूको आवतजावत बढेसँगै निश्चित क्षेत्रमा मात्र जेई सीमित रहेनन्। बालबालिकामा यसको प्रभाव तथा संक्रमण देखिएकाले राष्ट्रिय खोप कार्यक्रममा जेईविरुद्धको खोप पनि समावेश गर्‍यो। बालबालिकामा खोपको कभरेज भएपछि बालबालिकाहरू संक्रमणबाट जोगिन थाले। तर खोप नपाएका वयस्कहरूमा यसको संक्रमण देखिन थालेको छ। सन् २०२४ मा नेपालका ३० जिल्लामा ८० भन्दा बढीमा यसको संक्रमण देखियो। जसमध्ये २३ जनाको मृत्यु भएको तथ्यांकले देखायो। सन् २०२५ मा मनसुनसँगै (अगस्ट ११ सम्म) १८ जिल्लामा ३३ संक्रमित र तीनको मृत्यु भएको देखिएको छ।

साधारण अर्थमा जापानिज इन्सेफलाइटिस भनेको जापानिज इन्सेफलाइटिस् भाइरसको संक्रमण हो। तर यो भाइरस मान्छेबाट मान्छेमा सर्ने गरेको देखिएको छैन। यो भाइरस मान्छेमा क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने हुन्छ। विशेष गरी धानबारी र जमेको पानी यस लामखुट्टेका वृद्धिका लागि अनुकूल मानिन्छ। जेई भाइरसको प्राकृतिक चक्रमा सुँगुर र जलपक्षी÷आर्डिड चराहरू (जस्तै बकुल्ला) महत्वपूर्ण भूमिका खेल्छन्। यी जीवहरूबाट भाइरस संक्रमित लामखुट्टेमार्फत मानिसमा सर्छ। मानिसबाट भाइरस पुनः लामखुट्टेमा र त्यसपछि अर्को मानिसमा फैलिने चक्र सामान्यतया हुँदैन। मानिसमा यो भाइरस सरे पनि रोगको लक्षण देखिन ५ देखि १५ दिनसम्म लाग्न सक्छ। संक्रमितहरूमा टाउको दुख्ने, वाकवाकी लाग्ने÷हुने, समान्यदेखि उच्च ज्वरो आउने, कम्पन्न आउने, बेहोस हुनेजस्ता लक्षणहरू देखिन्छन्। सघन कक्षमा उपचार गर्दा पनि २० देखि ३० प्रतिशतसम्म संक्रमितलाई बचाउन सकिँदैन। बचाउन सफल भएमध्ये करिब ५० प्रतिशतमा दीर्घकालीन स्नायुजन्य अपांगता रहिरहन्छ।

यस रोगलाई नियन्त्रण गर्न भेक्टर अर्थात् सार्ने कारकहरूको नियन्त्रण गर्नु जरुरी हुन्छ। यसका लागि क्युलेक्स जातिका लामखुट्टे, लामखुट्टेको टोकाइ र संक्रमित वा भाइरस भएका जीवहरू (सुँगुर, बकुल्ला) बाट टाढा बस्नु हो। त्यसैले धानखेत वरिपरिको पानी व्यवस्थापन गर्ने, धेरै दिनसम्म जम्न नदिने जस्ता कुरामा ध्यान दिनुपर्छ। सुँगुर फार्मलाई बस्तीबाट टाढा राख्ने, लामखुट्टे टोक्नबाट बच्ने उपायहरू (झुल, शरीर पूरै ढाक्ने लुगा) अपनाउने र लामखुट्टे मार्ने अन्य उपाय अपनाउने गर्नुपर्छ। र, अर्को उपाय भनेको यसबाट बच्न खोप लगाउने हो। जापानिज इन्सेफलाइटिसविरुद्धको खोप अत्यन्त प्रभावकारी छ र यो दीर्घकालीन उपाय हो। नेपालमा जेईविरुद्धको खोप अभियान सन् २००६ मा सुरु भएको हो। सुरुमा तराईका उच्च जोखिम भएका जिल्लामा मात्र खोप दिइन्थ्यो। सन् २०१५ देखि यो राष्ट्रिय खोप तालिकामा समावेश गरिएको छ।

सन् २०१५ पछि जन्मिएका हरेकले जेईविरुद्धका खोप पाएका छन्। तर २०१५ अगाडि जन्मिएका अर्थात् १२ वर्ष पार गरेका किशोरकिशोरीहरू, वयस्क तथा वृद्धहरूले खोप पाएका छैनन्। यिनै उमेरका व्यक्तिहरू कृषि पेसा अर्थात् खेतमा काम गर्ने, सुँगुरपालन, पशुपालन गर्ने, लामखुट्टेबाट बच्ने पूर्णरूपले सावधानी अपनाउन नसक्ने भएकाले उच्च जोखिममा छन्। अमेरिकामा जोखिम क्षेत्रमा बस्ने वा काम गर्ने वा त्यहाँ लामो बसाइ हुने वयस्क र बच्चाहरूलाई जेईविरुद्धको खोप दिने गरिन्छ।

अस्ट्रेलियामा सन् २०२२ पछि जेईका जोखिम क्षेत्रहरू पहिचान गरेर खोप लगाउन शुरु गरिएको छ। युरोपका केही देशहरूमा तथा क्यानडामा यात्रु तथा उच्च–जोखिम क्षेत्रमा काम गर्ने कामदारहरूलाई खोप लगाउने गरेका छन्। अर्थात्, संसारका धेरै देशमा वयस्क–लक्षित खोप छन्। तर सबै व्यस्कलाई होइन, उच्च जोखिममा रहेकाहरूलाई मात्र। नेपालमा पनि यो मोडेल उपयुक्त हुन्छ भन्दा फरक नपर्ला। यस पटक मनसुन ढिला सुरु भयो। तर, सुरु भएलगतै जेईका संक्रमणहरू बढ्दै गएको देखिएको छ। अर्कातिर, यसै समयमा यसको खोपमा पनि कमी आएका समाचार आएका छन्। यसले उच्च–जोखिममा रहेका प्रदेश तथा जिल्लाहरूमा असर र त्रास देखिन सक्ने सम्भावना छ।

जापानिज इन्सेफलाइटिस एउटा प्रिभेन्टेबल (रोक्न सकिने) तर, पूर्णरूपले उपचार गर्न नसकिने रोग हो। एकपटक दिमागमा असर गरेपछि निको भए पनि स्थायी क्षति हुन सक्छ। यसैले समयमै खोप लगाउने, लामखुट्टे नियन्त्रण गर्ने र जोखिम क्षेत्रका वयस्कलाई पनि खोप दिने नीतिमा सुधार गर्न जरुरी छ। उच्च जोखिममा रहेका कृषक (विशेषतः धानबारीमा काम गर्ने, सुँगुरपालन गर्ने), घरबाहिर काम गर्नेहरू (जस्तै गार्ड), स्वास्थ्यकर्मीहरू आदिहरूलाई अविलम्ब खोपको दायरामा ल्याउनुपर्ने देखिन्छ। खोपमा गरिएका ढिलाइले ठूलो क्षति बेहोर्नुपर्ने हुन सक्छ, समयमा नै सचेत बनौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.