त्रिदेशीय विन्दुको खोजी

त्रिदेशीय विन्दुको खोजी
सुन्नुहोस्

सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न सकिन्न । यो संवेदनशीलतालाई ख्याल गर्दै भारत र चीनसँगको कूटनीतिक पहलबाट सीमा विवाद टुंग्याउँदै नेपाली भूभाग जोगाउनुपर्छ ।

महाकाली नदी पूर्वको भाग नेपालको हो भन्ने अकाट्य सत्यलाई कुल्चिएर भारतले कब्जा गरिरहेको छ । लिपुलेक, लिम्पियाधुराकै जमिनबाट भारतले बाटो बनाएर चीनसँग व्यापारिक मार्ग खोलेको छ । भारत र चीनले त्यो भूभागको बाटो हुँदै आउजाउ गर्न र व्यापार गर्न सम्झौता गरेका छन् । यही विषयमा नेपालको चीनसँग पनि आपत्ति हो कि हाम्रो भूभागको विषयमा हामीलाई नै बेवास्ता गरी उसले भारतसँग सम्झौता गर्नु हुँदैनथ्यो । लिपुलेकलाई व्यापारिक नाका बनाउने उनीहरूको सम्झौता हाम्रो स्वाभिमान माथिको प्रहार हो । त्यो नेपाली भूभागको विषय भारतसँगको मात्रै मामला नभई अब चीनसँग पनि जोडिएको छ ।

बेलायतसँगको सुगौली सन्धिले नै नेपालको सीमा महाकाली नदी भनेपछि त्यसपूर्वको जमिन हाम्रो हो । सन् १८१६ मा भएको त्यो सन्धिको धारा ५ र सन् १९६१ को नेपाल–चीन सीमा सन्धिको धारा १ मा नेपाल–चीनबीचको पश्चिमी सीमा महाकाली र तिंकर नदीको पानी ढलोबाट सुरु हुने भनिएको छ । यसबाट महाकालीको उद्गमस्थल लिम्पियाधुरा नै नेपाल, भारत र चीनबीचको पश्चिमी त्रिदेशीय विन्दु हो भन्ने स्पष्ट हुन्छ । तर, दुर्भाग्यवश, नेपाल–भारत र चीनबीच पश्चिमोत्तर र पूर्वोत्तर त्रिदेशीय विन्दुमा सीमास्तम्भ स्थापना गर्ने काम हालसम्म हुन सकेको छैन । 

सन् १९६१–६२ मा नेपाल र चीनबीच सीमांकन हुँदा चिनियाँ पदाधिकारीहरूले नेपाललाई भारतसँग पत्राचार गरी त्रिदेशीय विन्दु स्थापना गर्न अनुरोध गरेका पनि हुन् । भारत अनिच्छुक हुँदा यो काम हुन सकेन । भारत र चीनबीच लिपुलेकलाई व्यापारिक नाका बनाउने सम्झौता हुनुका पछाडि दुवै देशको आ–आफ्नै भूराजनीतिक र आर्थिक स्वार्थ लुकेको छ । दिल्लीबाट चीन जाने सबैभन्दा छोटो बाटो लिपुलेक पर्ने रहेछ । पवित्र तीर्थस्थल कैलाश मानसरोवर भारतीय तीर्थालुलाई पायक परोस भनेरै भारतले बलमिच्याइँ गर्दै हाम्रो भूभागमा बाटो बनाएको छ । चीनको स्वार्थ के भने त्यो नाकाबाट भारतीय बजारमा आफ्नो उत्पादन ऊ पठाउन चाहन्छ । व्यापार गर्न चाहन्छ । दुवैले आआफ्ना स्वार्थ हेर्दै नेपालको सार्वभौमिकतामाथि हाकाहामी धावा बोलेका छन् । ‘शक्तिशाली राष्ट्रहरूको स्वार्थ’ मिलेपछि सानो नेपाल उपेक्षितमात्रै होइन मिचाइमै परेको छ । 

तीनदेशकै सीमा छुट्ट्याउने त्रिदेशीय विन्दुमा सहमतिका लागि अब नेपालले भारतसँग मात्रै होइन चीनसित पनि वार्ता गर्नुपर्छ । हाम्रो भूमिको बाटो व्यापार गर्न हामीलाई नै नसोधी सम्झौता गर्नु आपत्तिजनक भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग राखेको अडान सकारात्मक छ । अब नेपालले त्रिदेशीय विन्दु स्थापनाका लागि तीनवटै देशको सहभागितामा संयुक्त प्राविधिक समिति गठनका लागि पहल गर्नुपर्छ । चीनले भारत र नेपालको विषयमात्रै भनेर उम्कन मिल्दैन । ऊ पनि हामीसँग सीमा जोडिएकै देश हो । दुवैको सहकार्यमा त्रिदेशीय विन्दु स्थापना भए यो 
समस्या सधैंलाई टुंगिन्छ । 

भारतसँगको संवाद, चीनसँगको पनि संवादमा मात्रै सीमित नरही नेपालले सीमासम्बन्धी ऐतिहासिक दस्तावेज, नक्सा र सन्धिहरूलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । सन् १८५६ को नक्साले लिम्पियाधुराबाट आउने नदी नै मुख्य काली नदी भनेर देखाएको छ । र, प्राकृतिक रूपमा पनि नदीको मूल स्रोत हुन्छ, जसमा पानीको मात्रा धेरै हुन्छ । त्यस कारण पनि भारतले भनेजस्तो महाकाली नदीको मूल मुहान अर्थात् स्रोत अर्काे कुनै नदी होइन । नेपाल भनेजस्तै लिम्पियधुराबाट आउने पानी नै काली नदीको मुहान हो । नेपालले आफ्नो भूभाग रक्षाका लागि कुनै पनि हालतमा सम्झौता गर्दैन, गर्नु हुँदैन ।

सार्वभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न सकिन्न । यो संवेदनशीलतालाई ख्याल गर्दै भारत र चीनसँगको कूटनीतिक पहलबाट सीमा विवाद टुंग्याउँदै नेपाली भूभाग जोगाउनुपर्छ ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.