बजारमा छ्यापछ्याप्ती भारतीय केरा, नेपाली केरा बोटमै कुहिँदै

बजारमा छ्यापछ्याप्ती भारतीय केरा, नेपाली केरा बोटमै कुहिँदै
सुन्नुहोस्

परासी : केरा बिक्री गरेर नजिकिँदै गरेको चाडपर्व मनाउने सोचमा रहेकी नवलपरासी सुस्ता गाउँपालिका–४ नर्सहीकी धनमाया घले यतिबेला निराश छिन् । धनमायाले डेढ बिघामा लगाएको केरा बिक्रीका लागि तयार छन् तर किन्नका लागि व्यापारीहरू आएका छैनन् । व्यवसायी नआएपछि बजार पठाउँदासमेत बिक्री नभएपछि अहिले धनमायालाई नजिकिएका चाडपर्व कसरी मनाउने भन्ने पिरलोले सताउन थालेको छ । 

राम्रै आम्दानी देखेर ६ कठ्ठा आफ्नोसहित १ बिघा जग्गा भाडामा लिएर केरा खेती गरेकी नर्सहीकै चोकमाया घलेको अवस्था पनि त्यस्तै छ । चोकमायाले गत वर्ष सोही खेतबाट १० लाख रुपैयाँको केरा बिक्री गरेकी थिइन् । अहिले भने ४० हजार रुपैयाँको मात्र बिक्री भएको छ । बाँकी केरा खेतमै कुहिन थालेका छन् । केरा बिक्री नभएपछि नजिकिँदै गरेको चाडपर्व त परै जाओस् जग्गा भाडा र खेती लगाउँदा लिएको ऋण कसरी तिर्ने भन्नेमा उनलाई पिरलोको छ । 

धनमाया र चोकमाया मात्र होइन, जिल्लाका केरा पकेट क्षेत्रका किसानहरू यतिबेला खेती गर्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । जिल्लाको सुस्ता र प्रतापपुर गाउँपालिका केराको पकेट क्षेत्र हो । त्यसबाहेक सरावल र विनयी त्रिवेणी गाउँपालिकामा पनि व्यावसायीक रूपमा किसानहरूले केरा खेती गर्दै आएका छन् । भदौदेखि मंसिरसम्म केरा बिक्री गर्ने प्रमुख समय हो । यही समयमा भारतबाट आउने केराका कारण नेपाली किसान मर्कामा परेका हुन् । 

जिल्लामा लगाएको करडौंका केराहरू अहिले बोटमै कुहेर खस्न थालेका छन् । यसले किसानहरू चिन्तित मात्र बनेका छैनन्, उनीहरू क्रणमै डुब्न थालेका पनि छन् । भारतबाट आउने केरालाई रोक्न पटकपटक माग गर्दासमेत सरकारले वास्ता नगरेपछि नेपाली किसानहरूका केरा बोटमै कुहिएर खस्न थालेका हुन् । 

पहिला खेतमै आएर केरा लैजाने व्यापारीहरू अहिले पटकपटक बोलाउँदा समेत आउन छाडेको किसानहरूको गुनासो छ । ‘भारतबाट आउने केरा ल्याएर यही पुर्‍याइदिने गरेका छन् । नेपाली केरा महँगो भयो भन्दै लिन आउन मान्दैनन् ।’ प्रतापपुर–६ का किसान मोतीलाल कोइरीले सुनाए । ६ बिघामा केरा लगाएका मोतीलालले गत वर्ष ४० लाख रुपैयाँको केरा बेचेका थिए । अहिले जम्मा ३ लाख रुपैयाँको हाराहारीमा मात्र बिक्री भएको उनले बताए । ‘अहिले चौपट भयो । केरा जतिसबै बोटमा पाकेर खस्न थाले । बिक्री हुने छाँट छैन । बिउबिजन र मलखादको पैसा कसरी तिर्ने हो समस्या भयो ।’ मोतीलालले दुःखेसो पोखे । पहिला ५० रुपैयाँ दर्जनमा बेचेको केरा अहिले २५ रुपैयाँमा लिन बोलाउँदा समेत आउने नगरेको उनको गुनासो छ । ‘यो सबै भारतीय केराले गर्दा हामी मारमा पर्‍यौं । सरकारले तत्काल रोक लगाउनुपर्छ,’ उनले भने । 

आम्दानी राम्रो देखेपछि विदेश नफर्कने सोचसहित केरा लगाउन सुरु गरेका सुस्ताका गोपाल ठकुरीको गुनासो पछि उस्तै छ । ‘केरामा राम्रो देखेर १ बिघामा खेती लगाएँ । अहिले बिक्री नै भएन । सबै कुहिएर खस्न थाले । भारतबाट आउने केरामा रोक लगाए नेपाली किसानको केरा बिक्री हुने थियो तर सरकारले सुन्दैन । हामी जस्ता युवा अब यहाँ बसेर के गर्नु ? ’ निराश हुँदै गोपालले भने ।

चार गाउँपालिकाका झन्डै ४ हजार किसानले व्यावसायीक केरा खेती गर्दै आएका छन् । ती गाउँपालकाको १ हजार ८२५ बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ । मासिक १७ हजार ३३७ टन गरी ६ महिनामा झन्डै १ लाख ४ हजार टन केरा उत्पादन हुँदै आएको नवलपरासी केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले जानकारी दिए । यो उत्पादन प्रमुख रूपमा रहेको ६ महिनाको हो । अन्य समयमा पनि केरा उत्पादन हुँदै आएको छ । केरा खेती राम्रो भएपछि यसवर्ष १० प्रतिशतले उत्पादन वृद्धि भएको थियो तर केरा बिक्री नभएर कुहिन थालेपछि उत्पादनको २० प्रतिशत पनि खपत हुन नसकेको यादवले बताए । 

भदौदेखि मंसिरसम्म भारतीय केरामा रोक लगाउन माग
नेपाली किसानले उत्पादन गरेको केरा खपत गर्नका लागि भारतबाट हुने आयातलाई भदौदेखि मंसिरसम्म रोक्नु पर्ने किसानहरूको माग छ । ‘भारतसँग अन्य कृषि उपजको आयात हुने भएकाले बाह्रै समय रोक्नुस् भन्दैनौं तर प्रमुख रूपमा भदौदेखि मंसिरसम्म सरकारले रोक लगाए मात्र नेपाली किसानले उत्पादन गरेको केरामा समस्या हुँदैन । त्यसका लागि सरकारले भन्सारमा कडाइ गर्न जरुरी छ ।’ नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले भने । सुनौली नाकाबाट दैनिक १२ देखि १५ वटा ठूला ट्रकमा केरा भित्रिने गरेको उनको भनाइ छ । 

भारतले किसानहरूलाई सहुलियत दिने भएकाले त्यहाँ लागत कम हुने र सोहीअनुसार कम मूल्यमा आउने भएकाले नेपाली किसानले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । ‘अहिले जम्मै किसान रोएका छन् । खेतभरि केरा कुहिएर खसेको छ । यसको क्षतिपूर्ति कसले दिने ? कि सरकारले भारतीय केरा रोक्नुपर्‍यो । हैन भने नेपाली किसानलाई ‘मर’ भनेर विष दिन पर्‍यो ।’ खेतमा कुहिएका केरा देखाउँदै अध्यक्ष यादवले आक्रोश पोखे ।

आयात नरोकिए केरा किसान आन्दोलमा जाने
सरकारले अविलम्ब भारतीय केरा आयातमा कडाइ नगरे कुहिएका केरा लगेर जिल्ला प्रशासन, क्वारेन्टाइन, भन्सार र राजमार्गमा फालेर आन्दोलन गर्ने किसानहरूले चेतावनी दिएका छन् ।

‘केरा बिक्री हुँदैन । कुहिएका केराका कारण नेपाली किसान ऋणमा डुबेको सरकारले देखेन । अब सम्बन्धित निकाय र सडकमा लगेर केरा फाल्नुको विकल्प छैन,’ प्रतापपुरका केरा किसान युवाराज मौर्यले भने । केही दिनमा सरकारले भारतीय केरालाई कडाइ नगरे किसानहरू आन्दोलनमा उत्रिने केरा उत्पादक संघका जिल्ला अध्यक्ष यादवको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.