अनमोलको आँटले जोगियो वीरेन्द्र सभागृह

अनमोलको आँटले जोगियो वीरेन्द्र सभागृह
सुन्नुहोस्

विराटनगर : जेनजी आन्दोलनले विराटनगरमा अराजकता र हिंसाको स्वरुप लिएपछि अधिकांश सरकारी कार्यालय आगजनी र तोडफोडको चपेटामा परे। तर, ऐतिहासिक वीरेन्द्र सभागृह भने जोगिन सफल भयो। 

यसको श्रेय जान्छ विराटनगर महानगरपालिका–६ का २३ वर्षीय अनमोल लिम्बूलाई। जसले आफ्नो आँट, साहस, संयम र नेतृत्वद्वारा भिडलाई सम्झाइबुझाइ गर्दै सभागृह ध्वस्त हुनबाट जोगाए। सभागृहको सुरक्षा सुनिश्चित गरे। 

सोमबारदेखि जेनजी आन्दोलनमा सक्रिय अनमोल पहिलो दिन शान्तिपूर्ण प्रदर्शनमा सहभागी। तर, दोस्रो दिन मंगलबार अराजक समूह मिसिएपछि स्थिति हिंसात्मक बन्यो। भिडले विराटनगरस्थित कोशी प्रदेशको प्रदेशसभा भवन, प्रदेश प्रमुखको कार्यालय, मन्त्रालयहरु र दर्जनौं सरकारी कार्यालय तोडफोड र आगजनी गरेको थियो। भिडले लगाएको आगो मोरङको जिल्ला प्रशासन कार्यालय र सँगै रहेको हुलाक कार्यालयमा फैलिसकेको थियो। 

प्रशासन र हुलाकमा आगो झेसेर अघि बढेको भिड ‘जिन्दावाद’ र ‘मुर्दावाद’को नारा लगाउँदै विराटनगर–७ स्थित वीरेन्द्र सभागृहमा पुग्यो। मुख्य गेट तोडेर भिड भित्र प्रवेश गर्दै गर्दा अनमोल सभागृहअगाडि उभिए। काँधमा नेपालको झन्डा राखेर पसिनाले भिजेको अनुहारसहित उनले भिडलाई सम्झाउन थाले। उनको साथमा तेजनारायण चौधरीसहित केही जेनजी युवाहरू थिए।
भिडमा रहेका केहीले सभागृह भित्रबाट सामान लुट्न थाले। मोटरसाइकलमा राखेर सामान ओसार्न थाले। केही हातमा खन्ती, फरुवाजस्ता हतियार लिएर सभागृह प्रवेश गरेका थिए। केही सामान्य लुटपाट भए पनि, अनमोलले आगजनी हुनबाट सभागृहलाई जोगाए। भिडलाई सम्झाउँदै गर्दा उनले भने, ‘यो हाम्रै सम्पत्ति हो। हामीलाई नै चाहिन्छ। केही नष्ट गर्नु हुँदैन। बरु बाहिरका सामान लैजानु। कोही पनि भित्र नपसिदिनु। यसलाई सुरक्षित राखौं।’

अनमोलको साहस र नेतृत्वको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।  त्यतिबेला स्थानीयहरूले पनि उनलाई साथ दिएका थिए। सभागृह सुरक्षित राख्न सकेकोमा खुसी हुँदै घर त फर्किए। तर, रातभर चिन्तित रहे। भोलिपल्ट बिहानै सभागृह पुगे। सुरक्षित देख्दा मन शान्त भएको उनले बताए। 

अनमोल अहिले जनता आदर्श बहुमुखी क्याम्पसमा बीएसडब्लु तेस्रो सेमेस्टरका विद्यार्थी हुन्। उनी सामाजिक सञ्जालमा सक्रिय छन्। विक्रम संवत २०३० सालमा निर्माण गरिएको वीरेन्द्र सभागृहलाई विराटनगरको गौरवका रूपमा लिने गरिएको छ। यसलाई करिब २३ करोड रुपैयाँ खर्चेर ‘रेट्रोफिटिङ’ गरी विराटनगर महानगरपालिकाले पुनः प्रयोगमा ल्याएको थियो। तर, ‘रेट्रोफिटिङ’ सकिएको १ वर्ष नपुगी अराजक भिडले यसलाई भत्काउने प्रयास गर्‍यो। अनमोलको साहसले यसलाई जोगाएको हो।

स्थानीयहरू आँटलाई सच्चा वीरताको उदाहरण मान्दै प्रशंसा गरिरहेका छन्। अधिकांश सरकारी संरचना जलेका बेला वीरेन्द्र सभागृह जोगाउनु कुनै सानो विषय थिएन। अनमोलले भने, ‘हाम्रो सम्पत्ति जोगाउन सक्नु नै सन्तोषको कुरा हो। वीरेन्द्र सभागृह जोगाउन पाउँदा गर्व लागेको छ।’

अराजक भिडलाई सम्झाउँदै सभागृहको सुरक्षा सुनिश्चित गर्नु, भिडलाई बाहिर निकालेर आगजनी रोक्नु र ऐतिहासिक संरचना बचाउनु अनमोलको नेतृत्व र साहसको प्रत्यक्ष प्रमाण हो। तेजनारायण चौधरीसहितका साथीहरु उनको साथमा थिए। तेजनारायणलगायतको सहयोग पाएपछि उनी एक्लै भिडलाई सम्झाइबुझाइ गर्न अघि सरे। जसका कारण आगजनी हुन पाएन। सामान्य लुटपाट मात्रै भयो।

जेनजी आन्दोलनबीच जन्मिएको उनको योगदानले विराटनगरमा एउटा प्रेरणादायी कथा सिर्जना गरेको स्थानीय बताउँछन्। उनीहरुका अनुसार अनमोल लिम्बू संयम, साहस र जिम्मेवारीले अराजकतालाई पनि नियन्त्रण गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेका छन्।  स्थानीयले उनलाई ‘वीर युवक’को रूपमा सलाम एवं सम्मान गर्दै सामाजिक सञ्जालमार्फत प्रशंसा गरिरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.