तरकारीको गाडीभित्र २६२ किलो गाँजा, तीन जना पक्राउ
विराटनगर : विराटनगरमा तरकारीको गाडीभित्र ठूलो परिमाणमा गाँजा फेला परेको छ । गाँजाको कारोबारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले विराटनगर महानगरपालिका–१५ पेट्रोल पम्प छेउबाट शनिबार राति करिब ११:३० बजेतिर २६२ किलो ५८० ग्राम गाँजा बरामद गरेको हो । मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार आकस्मिक अपरेशनमा खटिएको प्रहरीले मे १ च ५८२६ नम्बरको बोलेरो गाडी रोक्न खोजेको थियो ।
प्रहरीले उत्तरतर्फबाट तीव्र गतिमा आउँदै गर्दा रोकेर चेकजाँच गर्न खोज्दा चालक गाडी लिएर फरार भए । नजिकै सडक किनारमै गाडी छाडेर चालक भागेका थिए । गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा माथिल्लो भागमा बन्दकोपीको बोरा देखिए पनि त्यस मुनि ठूलो परिमाणमा गाँजा लुकाएको पाइएको एसपी चिमरियाले बताए ।
नियन्त्रणमा लिइएको गाडी, बरामद भएको गाँजा र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीले फरार चालकको खोजी तीव्र पारिएको जनाएको छ । बरामद गाँजा कसरी एवं कहाँबाट संकलन गरेर कता लगिएको हो भन्ने बारेमा पनि अनुसन्धान भइरहेको एसपी चिमरियाले बताए ।
प्रतिक्रिया दिनुहोस !