‘सुधारिएर उठ्ने छौं’

‘सुधारिएर उठ्ने छौं’
तस्बिर : अशोक दुलाल
सुन्नुहोस्

काठमाडौं : हालै सत्ताबाट बर्हिगमन भएको नेकपा एमाले चुनावको पक्षमा देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार निर्धारित मितिमै चुनाव गराउने दिशामा अघि बढ्नुपर्ने बताएका छन् । 

च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले, ‘यो सरकार अन्तरिम भएकाले उसको कर्तव्य चुनाव गराउने हो । शान्ति सुरक्षाको वातावरण तयार गरिकन समयमा निर्वाचन गराउने कुरामा यो सरकार ध्यान जानेछ ।’ उनले नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताको अभिमत प्राप्त गर्ने कुरामा प्रवेश पर्ने समेत बताए । 

मध्यावधि निर्वाचन आगामी फागुन २१ गते गर्ने घोषणा गरिएको छ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले एमाले नेतृत्वको सरकार ढलेको छ भने केन्द्रीय कार्यालयदेखि देशभरका कार्यालय, निर्वतमान प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको बालुवाटारस्थित निवास, झापास्थित निवासका साथै धेरै मन्त्रीदेखि केन्द्रीय, जिल्लास्तरका नेताहरूमा घरमा आगलागी, तोडफोड र लुटपाट भएको छ । ध्वस्त भएको केन्द्रीय कार्यालयको निरीक्षण गर्दै महासचिव पोखरेलले एमाले झन् बलियो भएर उठ्ने दाबी गरे । 

जनताको भावनालाई सम्बोधन गर्ने सामर्थ्यसहित एमाले उठ्ने बताए । उनले देशलाई कमजोर बनाउने प्रवृत्तिविरुद्ध लड्न एमाले कहिल्यै कमजोर नहुने पनि बताए । ‘एमाले देशभक्तको मानक बनाएको पार्टी भएकाले हामी कहिल्यै कमजोर हुनेछैनौं ।’, उनले भने । null

हाम्रा कमीकमजोरी सुधार गर्दै उठ्ने छौं
उनले पार्टीमा भएका कमी कमजोरीलाई सुधार गर्दै उठ्ने बताए । ‘हाम्रा कमी कमजोरी होलान् । त्यसलाई सुधार गरिँदै लैजानुपर्छ,’ उनले भने, ‘हामी फेरि उठ्नेछौं । एकताबद्ध भएर, सशक्त भएर, जनताको भावनालाई सम्बोधन गर्ने सामर्थ्य लिएर उठ्नेछौं ।’

महासचिव पोखरेलले भदौ २३ र २४ को घटना नेपालको इतिहासमै योभन्दा ज्यादा विनाशकारी भएको बताए । एमाले महासचिव पोखरेलले एमालेले युवाहरूको चाहना र आकांक्षा पूरा गर्नेगरी योजना बनाइरहेका बेला दुःखद घटना भएको बताए । उनले भने, ‘युवाहरूले धैर्यता गरेको भए नेकपा एमालेले नै उहाँहरूको चाहना र आकांक्षा पूरा गर्ने पार्टीका रूपमा आउँदैथ्यो । हामीले त्यसखालका योजनाहरू तयार पारेका थियौं । ती योजनाहरू व्यवहारमा लागू गर्न नपाउँदै मुलुकको दुःखद घटना घट्यो ।’

हालैसम्म विधान महाधिवेशनमा युवाहरूमा हुर्किंदै गरेको रुचि र आकांक्षालाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर लामो छलफल गरी निर्णायक शक्तिको २१ बुँदे योजना बनाएको उनले स्पष्ट पारे । महासचिव पोखरेलले युवाहरूको आकांक्षाका रूपमा सुशासन कायम हुनुपर्ने बताए । उनले सेवा प्रवाहमा प्रभावकारिता र विकासले गति लिओस् भन्ने अपेक्षा जायज रहेको बताए ।
उनले संविधानभित्रैबाट युवाको चाहनाबमोजिम सरकार बनाउन सकिने भए पनि त्यसविपरीत संविधानलाई कमजोर बनाउने प्रयत्न भएको आरोप लगाए ।

‘अहिले राजनीतिक परिस्थिति बदलिएको छ । युवाका नाममा सुशीला कार्कीजी प्रधानमन्त्री भएका छ । हामीले संविधानभित्रबाटै युवाको चाहनाबमोजिम सरकार बनाउन सकिन्छ भनेका थियौं । नेपालका राजनीतिक दलहरू पनि युवा आन्दोलनको भावना सम्बोधन गर्न तयार छन् भन्ने सन्देश सम्प्रेषण गरेका थियौं,’ उनले भने, ‘तर, त्यो कुरालाई उपेक्षा गरियो । आज जसरी अगाडि बढिएको छ, त्यसले लामो समयबाट प्राप्त भएको संविधान, हामीले स्थापित गरेको समावेशी प्रणाली, दुनियाँकै एउटा नमुना प्रणालीका रूपमा मानिन्छ । जनता सम्प्रभुता र अधिकार सम्पन्न भएको संविधानलाई कमजोर बनाउने प्रयत्न भइराखेका छन् ।’

उनले युवाको आन्दोलनलाई लुटपाटमा बदल्ने खालको काम, राष्ट्रलाई कमजोर बनाउने कामप्रति गम्भीर आपत्ति जनाउँदै दोषीहरूलाई पहिचान गरेर दण्डित गर्नुपर्ने बताए ।

एमाले महासचिव पोखरलले खरानी बनाएको संरचनामाथि नै उभिएर एमालेले संविधान दिवस मनाउने पनि स्पष्ट पारे । उनले भने, ‘यसपटक हामी हाम्रो क्षतिग्रस्त संरचनाको खरानीमा उभिएर संविधानसभाले संविधान बनाउँदाको परिकल्पना साकार पार्ने संकल्प गर्न चाहन्छौं । ७७ जिल्लाका साथीहरूलाई निर्देशन जारी गरिसकेका छौं । काठमाडौंं उपत्यकाका साथीहरूले पार्टी कार्यालयमा संविधान दिवसको आयोजना गर्नेछौं ।’ आगामी असोज ३ गते संविधान बनेको १० वर्ष पुग्दैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट पहिलोपटक नेपालको संविधान बनेको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.