मोरङमा घर निर्माणका क्रममा एक महिलाको मृत्यु, तीन जना घाइते
विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा दुर्घटना हुँदा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ। तीन जना महिला घाइते भएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घर निर्माणमा मसला बोक्न प्रयोग भइरहेको याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको पत्ता लागेको छ। स्थानीय होमबहादुर कटुबालको घर निर्माणको ठेक्का लिएर खड्गबहादुर कार्कीले मजदुर खटाएका थिए। मजदुरले काम गर्ने क्रममा मसला बोक्न प्रयोग गरेको याङ्गलको डोरी चुँडिएको थियो।
डोरी चुँडिएर तल झरेको याङ्गलले लाग्दा बेलबारी नगरपालिका–९ डाँगीहाटकी ४८ वर्षीया देवकुमारी राजवंशीको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। उनका अनुसार याङ्गलले किचेर गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाएको भए पनि साँझ ६:१० बजेतिर चिकित्सकले मृत घोषित गरिदिएका हुन्।
याङ्गलले लागेर बेलबारी–९ की ५० वर्षीया डामानी राजवंशी, ४० वर्षीया शर्मिला राजवंशी र ३१ वर्षीया रेनुका राजवंशी घाइते भएको जानकारी चुँडालले दिइन्। नोबेल अस्पतालमा उपचाररत उनीहरूमध्ये डामानी र शर्मिलाको अवस्था मध्यम तथा रेनुकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमान अनुसार लापरबाहीपूर्ण तरिकाले घर निर्माण गर्दा दुर्घटना भएको हुनसक्छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा घटनाको थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !