जेन—जी आन्दोलनले अत्यधिक प्रदूषण, ‘भू—उपग्रहमा समेत क्याप्चर’
काठमाडौं : गत भदौ २३ र २४ गते भएको जेन—जी आन्दोलनको क्रममा भएको आगजनी भू—उपग्रहले (स्याटालाइट)ले समेत ‘क्याप्चर’ गरेको थियो। भू–उपग्रहले ससाना आगलागीको घटना नदेखाउने भए पनि काठमाडौं दनदनी बलेपछि ‘स्याटालाइट’ले समेत देखाएको विज्ञहरूले बताएका छन्। ‘लभभग १२ घण्टासम्म लगातार राजधानी जलेको स्याटालाइटले क्याप्चर गर्यो’ त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले भने ‘त्यसको असर आर्थिक रूपमा मात्रै नभएर वायुमण्डल र मानवस्वास्थ्यमा प्रत्यक्ष पर्यो।’
पोखरेल भन्छन्, लगातार जताततै आगलागीपछि यहाँको हावाको गुणस्तर अत्यन्त नाजुक बन्यो। आगलागीपछि वायुमण्डलमा पुगेको धुवाँले पानी पार्ने प्रणालीलाई समेत अवरोध गरेको हुन सक्ने बताए। हुन त त्यस समयमा पानी पर्ने खासै देखिएको थिएन। तर पनि प्रदूषणले उक्त प्रणालीलाई अझ कमजोर बनाएको हुन सक्ने उनले बताए। विभिन्न माध्यमबाट हेर्दा पनि त्यतिबेला काठमाडौं धुवाँको मुस्लोभित्र थियो भन्ने तथ्यांक भेटिएको बताए।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक मदन सिग्देल भन्छन्, त्यतिबेलाको अवस्थाको बारेमा अध्ययन भइनसके पनि सामान्यतः अत्यधिक प्रदूषणले पानी पार्ने प्रणालीलाई अवरोध गर्छ भनिन्छ।‘पूरै दिन वायुमण्डलमा धुवाँ गइरहेको थियो। काठमाडौं धुम्म देखिन्थ्यो।’ श्वासप्रश्वासमा अलि अप्ठेरो महसुस भएको थियो। सिग्देलले भने ‘त्यो समयमा मनसुन ब्रेक भएको थियो। सुक्खा अवस्था थियो। यतिबेला पानी पर्ने देखाएको थिएन। प्रदूषणले अझै पानी पर्न दिएन।’
उपत्यकाको बनावटै कचौरा जस्तो भएकाले प्रदूषण थुप्रिएर बस्यो। माथि जान सकेन। उनले वायु प्रदूषण उच्च भएकाले श्वासप्रश्वासमा अलि अप्ठेरो महसुस नै गरेको बताए।
सिग्देलका अनुसार प्रदूषणको मात्रा रहिरहने वा हटाउने भन्ने हावाको गति र दिशाले प्रभाव पार्छ। जाडो मौसम र मनसुन सिजनमा हावाको गति र दिशा फरक हुन्छ। यो बेला वायुमण्डल अस्थिर हुन्छ। त्यसैले जाडो मौसममा भन्दा मनसुनमा सजिलै प्रदूषण हटाउँछ। हावाको प्रकृति फरक भएको हुनाले काठमाडौंको प्रदूषण हटेको थियो अन्यथा यसले गम्भीर समस्या निम्त्याउन सक्ने उनले जनाए। अस्थिर वायुमण्डल भएको अवस्थामा त्यहाँ एउटा सिस्टम चलिरहेको हुन्छ। त्यसले वायुमण्डलको तल्लो तहको प्रदूषण हटाउँछ। हालको अवस्था यही भएकाले जनस्वास्थ्यमा कम असर परेको जनाए।
जेन—जी आन्दोलनको ताका एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ले काठमाडौं विश्वको छैटौं प्रदूषित सहरको रूपमा देखाएको थियो। उक्त दिनको हावाको गुणस्तर (एक्यूआई) ११० भन्दा बढी थियो। शून्यदेखि ५० राम्रो मानिन्छ। ५० देखि १०० लाई नराम्रो हुँदै गएको बुझिन्छ। १०० देखि १५० अस्वस्थ्य। त्यसैगरी १५० देखि २०० ले अन्य मानिस र संवेदनशील समूहलाई अझै धेरै असर गर्छ। आन्दोदनताकाको उक्त नम्बर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनुसार अस्वस्थ्यकर मानिन्छ। डब्लूएचओका अनुसार यस्तो समयमा विशेषगरी वृद्धवृद्धा, बालबालिका, दीर्घ रोग भएकाहरूलाई बढी संवेदनशील हुन्छ। साथै श्वासप्रश्वास, मुटु, फोक्सोमा समस्या हुने बताएको छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछाने त्यो बेलाभन्दा यतिबेला मौसम सक्रिय भएको बताए। उनी भन्छन् ‘मनसुनमा प्रदूषण निरन्तर हटिरहेको नै हुन्छ। त्यो बेलाभन्दा कम भइसक्यो।’
मौसम प्रणाली परिवर्तन भइसकेको छ। ‘वेदर’ सक्रिय भएकाले प्रदूषण हटेर जान्छ। प्रायजसो मनसुन सिजनमा प्रदूषण कम नै हुने गरेको लामिछानेले बताए। तर जेन—जी आन्दोलनको क्रममा निस्किएको धुवाँले अत्यधिक प्रदूषण बढेको थियो।
प्रतिक्रिया दिनुहोस !