विराटनगरको कोइराला निवास, आगजनीले सक्यो इतिहास
विराटनगर : देशकै लोकतान्त्रिक चेतनाको उद्गमस्थल मानिने विराटनगरको कोइराला निवास अहिले खण्डहरमा परिणत भएको छ। निवासको इतिहास नै मेटिने गरी जेन–जी आन्दोलनका नाममा अराजक समूहले भदौ २४ गते आगजनी गर्दा नेपालको राजनीतिक धरोहर खरानी भएको हो। कोइराला निवास भौतिक संरचना मात्रै नभएर देशको राजनीतिक चेतना र संघर्षको प्रतीक मानिन्थ्यो। अहिले आगजनीले स्वाहा भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्तादेखि शुभचिन्तकसम्म स्तब्ध बनेका छन्।
करिब १२० वर्षअघि कृष्णप्रसाद कोइरालाले निर्माण गरेको उक्त घर मुलुकको ठुल्ठूला आन्दोलनको आधारशिला थियो। राणा शासनविरुद्ध बिगुल फुक्ने अभियान यहीँबाट सुरु भएको थियो। त्यही निवासले देशलाई ३ जना प्रधानमन्त्री दिइसकेको छ। कृष्णप्रसादका छोरामध्ये मातृकाप्रसाद, विश्वेश्वरप्रसाद (बीपी) र गिरिजाप्रसाद कोइराला त्यहीँ हुर्किए, त्यहीँ राजनीतिक चेत पाले र त्यहीँबाट नेतृत्वको यात्रा सुरु गरे। त्यसैले यो घर कुनै निजी निवास मात्र नभएर मुलुकको राजनीतिक इतिहास बोकेको एउटा धरोहर मानिन्थ्यो।
कोइराला निवासले देशका प्रजातान्त्रिक आन्दोलनलाई मात्र नभएर दलभित्रका महत्वपूर्ण निर्णयलाई पनि दिशा दिएको थियो। २००७ सालको प्रजातन्त्र प्राप्तिसम्म कांग्रेसको कार्ययोजना उक्त निवासबाटै तय हुन्थ्यो। २०१४ सालको कांग्रेस विशेष महाधिवेशनअघि केशव कोइरालाले यसै घरको उत्तरतर्फ दुईवटा कोठा थपेका थिए।
निर्वासित जीवन सकेर बीपी कोइराला २०३४ सालमा फर्किएपछि मेलमिलापको नीति यही घरबाट घोषणा गरे। त्यतिबेला पनि दुईवटा कोठा थपिए। २०५२ सालतिर गिरिजाप्रसाद कोइरालाले अर्को कोठा थपे। यसरी समयक्रममा यो निवासले आन्दोलन, सम्झौता र मेलमिलापका असंख्य कथा बोकेको थियो। कांग्रेस कार्यकर्ताका लागि यो निवास राजनीतिक तीर्थस्थलसरह थियो। विराटनगर पुग्ने जोकोही पनि एकपटक यहाँ पुगेर श्रद्धा प्रकट गर्न चाहन्थे। विराटनगर महानगरपालिकाकी पूर्वउपमेयर इन्दिरा कार्की कोइराला निवासलाई ‘मन्दिर’ जस्तै मान्ने बताउँछिन्। उनका अनुसार आम नेपालीले श्रद्धापूर्वक हेर्ने यो घर नेपालको परिवर्तनको साक्षी थियो। तर, अराजक झुन्डले धरोहर सकिदियो।
आगोले कृष्णप्रसादले निर्माण गरेको मूल घर पूर्ण रूपमा खरानी बनाएको छ। पछिल्ला समयमा बीपी र गिरिजाप्रसादका लागि थपिएका संरचना भने अझै छन्। तर, भित्र रहेका सामग्री, स्मृति चिह्न, पुराना पुस्तक र तस्बिर सबै नष्ट भएका छन्। कांग्रेस नेतृ विजयता अधिकारीले अनुसार प्रहरी र दमकललाई खबर गरिएको भए पनि आउन सक्ने अवस्था नहुँदा आफूहरूले आँखा अगाडि इतिहास जल्दै गरेको पीडा चुपचाप सहनु परेको बताइन्।
यो घर अंशबन्डापछि डा.शेखर कोइरालाको भागमा परेको थियो। आगजनी गरेर ध्वस्त पारिएपछि अहिले उनी पुनर्निर्माणको तयारीमा छन्। गिरिजाप्रसादले थप गरेको संरचनालाई पुनस्र्थापना गर्ने कामदार खटाइएका छन्। तर, पुनर्निर्माण गरिए पनि निवासले मौलिक ऐतिहासिक मूल्य भने सधैंका लागि गुमाएको अगुवाहरू बताउँछन्।
इँटा र सिमेन्टले नयाँ घर उठाउन सकिए पनि त्यहाँ जोडिएको समयको छाप, आन्दोलनको ऐतिहासिकता र संघर्षको प्रतीकलाई पुनस्र्थापित गर्न नसकिने नेपाली कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईं बताउँछन्। ‘यो निवासले कृष्णप्रसाद कोइरालाको सामाजिक चेतना र बीपी कोइरालाको आदर्श एवं सिद्धान्त बोकेको थियो। आगोले इतिहाससँगै र ऐतिहासिक वस्तुहरू सबै सकिएको छ। विराटनगरको कोइराला निवासले देखेको कथा साधारण थिएन,’ उनले भने।
यो निवास राणा र राजा फाल्ने आन्दोलनको साक्षी पनि हो। विभिन्न कालखण्डका परिवर्तन देखेको, भोगेको र झेलेको यसले प्रजातन्त्रको जन्म, बहुदलको पुनस्र्थापना, मेलमिलापको घोषणा एवं अनेकौं आन्दोलनका निर्णायक क्षणलाई आत्मसात् गरेको चापागाईं बताउँछन्। तर, सबै इतिहास अहिले खरानी बनेको उनको गुनासो छ। साथै, निवासले लोकतान्त्रिक आन्दोलनका सहिदका सन्तानलाई शिक्षादीक्षासहित आश्रय दिएको चापागाईं बताउँछन्।
उनका अनुसार देशकै लोकतान्त्रिक चेतनाको थलो मानिएको निवासमा आगजनी हुनु एउटा घर मात्रै जल्नु नभएर एउटा पुस्ताले आफ्नो स्मृति गुमाउनु हो। अराजक समूहको आक्रोशले मुलुकको सम्पत्तिसँगै ऐतिहासिक मूल्य नष्ट गरेको कांग्रेस नेताहरू बताउँछन्। उनीहरूका अनुसार इतिहासलाई बचाउनु भनेको पुरानो घरलाई सुरक्षित राख्नु मात्रै नभएर त्यसमा निहित मूल्य र सन्देशलाई जोगाउनु पनि हो। कोइराला निवास खण्डहरमा परिणत भइरहेको क्षणले राजनीतिक परिवर्तन ल्याउने घरलाई जोगाउन नसक्ने समाज कत्तिको संवेदनशील होला ? भन्ने प्रश्न उठेको उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !