कति छ नेपालमा केरा उत्पादन ?

बजार ओगट्यो भारतीय केराले, बारीमा सड्दै नेपाली केरा

बजार ओगट्यो भारतीय केराले, बारीमा सड्दै नेपाली केरा

टीकापुर : भारतीय केरा निर्वाध रूपमा बजारमा आउन थालेपछि नेपाली किसानले उत्पादन गरेका अर्बौं रुपैयाँका केरा बारीमै सड्न थालेका छन् । नेपालसँग सीमा जोडिएका विभिन्न भन्सारबाट प्लान्ट क्वारेन्टाइनमा चेकजाँचबिना नै भारतीय केरा नेपाली बजारमा भित्रिन थालेका छन् ।

साउनदेखि मंसिरको समयमा नेपाली किसानले उत्पादन गर्ने केरा बजारमा आउने गर्छन् । तर, सरकारले भारतीय केरामा लगाउँदै आएको कर घटाउनु, प्लान्ट क्वारेन्टाइनमा चेकजाँचबिना नै केरा आयात हुनुले नेपाली केरा बारीमै सड्ने अवस्था आएको केरा उत्पादक किसानहरू बताउँछन् । 

‘केरा किसानलाई प्रोत्साहन गर्नुको साटो भारतबाट आउने केरामा कर कम लगाउनु, प्लान्ट क्वारेन्टाइनमा हुने चेकजाँचमा कडाइ नगर्नुले हामी किसानले उत्पादन गरेका अर्बौं रुपैयाँका केरा बारीमै सड्न थालेका छन्’, केरा उत्पादक तथा व्यवसायी संघ कैलालीका अध्यक्ष दीपेन्द्र थारूले भने, ‘भारतबाट आयात गरिने केरा मंसिर महिनासम्म पूर्णरूपले बन्द गर्न, प्लान्ट क्वारेन्टाइनको कानुनी, प्राविधिक र प्रशासनिक प्रक्रियामा कडाइ गर्न र नेपाली केरालाई पहिलो प्राथमिकता दिन माग गर्दै आएका छौं, तर सुनुवाइ भएको छैन ।’

अध्यक्ष थारूले कैलाली र कञ्चनपुरका भन्सारबाट आयात भइरहेका भारतीय केरा रोक्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापनपत्र बुझाएको बताए । 

‘नेपाली केरा उत्पादक किसानको रक्षा गर्नु सरकारको दायित्व हो, हामीले प्रदेशका मुख्यमन्त्रीदेखि संघीय मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थियौं,’ अध्यक्ष चौधरीले भने, ‘जेन–जीको आन्दोलनले प्रभावित हुँदा थप अन्यौलता बढेको छ, सरकारले तत्काल भारतीय केरा नरोके हामी चरणबद्ध आन्दोलनका कार्यक्रम गर्न बाध्य हुनेछौं ।’

टीकापुर नगरपालिका–२ का किसान कमल रावतले ७ बिघा क्षेत्रफलमा लगाइएको केरा बारीमै सड्ने अवस्थामा रहेको बताए । ‘बजारमा छ्यापछ्याप्ती भारतीय केरा छन्, भन्सारमा शुल्क कम लागेपछि भारतीय केरा सस्तोमै आइरहेका छन, यही मूल्यमा हामीले केरा बिक्री गर्ने अवस्था छैन,’ रावतले भने, ‘१० देखि १५ रुपैयाँ दर्जनमा केरा बिक्री गर्नु परिरहेको छ, यसले हाम्रो उत्पादन लागतसमेत उठ्दैन, हामी सडकमा पुग्ने अवस्था छ ।’

टीकापुरमा उत्पादित केरा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, सुर्खेत, दाङ, बुटवललगायत सहरमा बिक्री हुने गरेकोमा भारतीय केराका कारण थोक बिक्रेताहरू खरिद गर्न नआउँदा केरा बारीमै सड्न थालेको रावतले बताए । टीकापुरका अर्का केरा किसान टेकेन्द्र धामी गत वर्ष ४० देखि ५० रुपैयाँ दर्जनमा बारीमै बिक्री हुँदै आएका केरा यस वर्ष मूल्य नपाउँदा बारीमै सड्ने अवस्था आएको  बताउँछन् । 

‘बिनाचेकजाँच निर्वाध रूपमा भारतीय केराहरू आइरहेका छन्, प्रहरी प्रशासन र सरकारी संयन्त्रको लापरबाहीले गुणस्तरीय नेपाली केरा बारीमै सड्न थालेका छन्,’ धामीले भने, ‘देशभरिका केरा उत्पादक किसानहरू मारमा परेका छन्, हामीले प्रदेश र संघीय सरकारलाई ज्ञापनपत्र बुझाउँदासमेत माग सुनुवाइ भएको छैन, असोज ६ भित्र माग सुनुवाइ नभए भारतीय केरा रोक्न किसान आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’ 

किसानले वर्षभरि गरेको लगानी, मेहनतले उत्पादित गुणस्तरीय केरा भारतबाट आयात हुने सस्तो मूल्यका केराका कारण उचित मूल्य र बजार नपाएको भन्दै देशभरका केरा व्यवसायीहरू आन्दोलनको तयारीमा छन् । नेपाल केरा उत्पादक महासंघ तदर्थ समिति काठमाडौंले समेत विज्ञप्ति जारी गर्दै नेपाली केराको बजार सुनिश्चित गर्न माग गरेको छ । कैलाली, कञ्चनपुर, बर्दिया, नवलपरासी र चितवनलगायत केरा उत्पादक किसानहरूद्वारा जारी विज्ञप्तिमा नेपाली उत्पादन पर्याप्त हुँदासमेत विदेशी केरा निर्वाध रूपमा भित्रिएकाले व्यापार घाटा बढ्नुका साथै नेपाली केरा उत्पादक किसान पेसाबाटै विस्थापित हुनुपर्ने अवस्था आएको उल्लेख छ ।  यहाँ उत्पादित गुणस्तरीय केराले उचित मूल्य र बजार नपाएपछि किसान निराश हुनुको साथै आर्थिक क्षतिसमेत भएको किसानहरूको भनाइ छ । 

कति छ नेपालमा केरा उत्पादन ?      

हाल मुलुकका ६९ जिल्लामा केरा खेती हुने गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले आर्थिक वर्ष २०८०÷८१ मा प्रकाशित गरेको  तथ्यांकअनुसार २३ हजार ४०४ हेक्टर जमिनमा प्रतिवर्ष ३ लाख ८३ हजार २८५ टन केरा उत्पादन हुने गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय स्कुल अफ एग्रिकल्चर टीकापुरका कृषि अर्थशास्त्रका उपप्राध्यापक सन्तोष उपाध्याय मुलुकमा बर्सेनि १५ अर्ब रुपैयाँबराबरको केरा उत्पादन हुने गरेको बताउँछन् ।

‘देशभर बर्सेनि १५ अर्ब रुपैयाँबराबरको केरा उत्पादन हुने गरेको छ,’ उपप्रध्यापक उपाध्यायले भने, ‘कैलालीमा मात्रै २ अर्ब बढीको केरा उत्पादन हुने गरेको छ ।’ केरा उत्पादनको मुख्य सिजन मानिने साउनदेखि मंसिरसम्म नेपाली केराले बजार नपाए ठूलो रकम भारत जाने उपाध्याय बताउँछन् । 

विश्वमै केरा बजारमा २६ प्रतिशत हिस्सा भारतीय केरा 
विश्वमा सबैभन्दा बढी भारतमा केरा खेती हुन्छ । सन् २०१९ मा प्रकाशित एक तथ्यांकअनुसार भारतमा ८६६ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुने गरेको छ । ३० हजार ४६० हजार मेट्रिक टन केरा उत्पादन गरी विश्वको कुल उत्पादनमा २६ प्रतिशत हिस्सा आगटेको भारतीय केरा नेपाली बजारमा सस्तो मूल्यमा आउँदा यहाँका किसान मारमा परेका हुन् ।

भारतपछि चीनमा ३४४ हजार हेक्टर, ब्राजिलमा ४६१.७ हजार हेक्टर र इन्डोनेसियामा १३२.२ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ । केरा उत्पादनमा ११ औं स्थानमा रहेको नेपालमा २३ हजार हेक्टर क्षेत्रफलमा केराखेती हुँदै आएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.