जेनजी पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ पुस्ताको चाहना अनुसार अगाडि बढ्नुपर्ने बताएका छन्। आज संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्ने बताएका हुन्।
उनले भने,‘जे परिवर्तन भइरहेको छ, नयाँ पुस्ताको चाहना अनुसार अघि बढ्नुपर्छ। ऐतिहासिक उपलब्धि संविधान हो र यसको रक्षा सबैको साझा जिम्मेवारी हो।’
मुख्यमन्त्री कार्कीले संविधान दिवसको अवसरमा सबै राजनीतिक दल, नागरिक समाज र जनतालाई ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि एकजुट हुन आह्वान गरे। उनले युवाहरूको ऊर्जा, सिर्जनशीलता र क्षमता प्रदेशको प्रगतिको आधार भएको भन्दै राष्ट्रिय आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए।
उनले भने, ‘युवाहरूको सृजनशील ऊर्जा र क्षमता नै प्रदेशको विकासको मूल आधार हो। यसलाई सदुपयोग गर्दै सबै मिलेर अघि बढ्न आवश्यक छ।’
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जलेको भवन बाहिर संविधान दिवस मनाएर प्रतिरोधभन्दा माथि उठ्ने र सबैले संविधानको रक्षा गर्न एकजुट हुनुपर्ने सन्देश प्रवाह गरिएको बताए।
उनले भने, ‘प्रदेश सरकारका भवनहरू जलेका छन्। तर, लोकतन्त्र र संविधानको उज्यालो जीवितै छ। पिडाबिच आशाको किरण जगाउन यही अवसर महत्त्वपूर्ण छ।’
प्रतिक्रिया दिनुहोस !