१९११ सालमा प्रधानमन्त्री जंगबहादुरले भोट युद्ध गर्दाको तयारीपछि यो खम्पा निःशस्त्रीकरण अभियानको तयारी नै दोस्रो ठुलो थियो। छार्का र मनाङमा पनि फौज तैनाथ गरिएको थियो।
नेपाल एकीकरणको क्रममा श्री श्रीनाथ गणले बाइसी–चौबिसी राज्यहरूसँग लडी तिनलाई नेपाल अधिराज्यमा मिलाउने कार्यमा सफलता हासिल गरेको थियो। देशमा शान्ति सुरक्षा कायम गर्ने क्रममा यसले २०१८ सालको बझाङ सैनिक कारबाही २०२८ सालमा भएको भुसाह काण्ड र २०३१ सालमा भएको खम्पा निशस्त्रीकरण गर्ने कार्यमा सक्रिय भूमिका खेलेको थियो।
सिन्धुलीगढीदेखि भारतहुँदै चीनसम्मको युद्ध : १८२४ असोज १५ को अंग्रेज क्याप्टेन किनलकले नेतृत्व गरेको इस्ट इन्डिया कम्पनीको सेनालाई सिन्धुलीकोे निर्णायक युद्धमा हराएर भगाउने गोरखाली सेनामा यसले महŒवपूर्ण भूमिका खेलेको थियो। सन् १७९१–१७९२ को नेपाल–तिब्बत युद्धमा तिब्बतको सहायताका लागि आएको चिनियाँ फौजको श्रीनाथ गणले चामे र धैवुङ वेत्रावतीमा वीरतापूर्वक सामना गरेको थियो। सन् १८१४–१८१६ मा भएको नेपाल–अंग्रेज युद्धमा यसले बुटवलमा इस्ट इन्डिया कम्पनीको सेनासितको लडाइँमा भाग लिएको थियो। सन् १८५५–१८५६ को नेपाल–तिब्बत
युद्धमा पनि यसले भाग लिएको थियो।
सन् १८५७ भारतीय सिपाही विद्रोहमा अंग्रेज सरकारले सहायताको माग गरेअनुसार नेपालबाट भारतको लखनाउमा पठाइएका पल्टनमध्ये यो पनि सम्मिलित थियो। सन् १८८३ (१९४० साल)मा नेपाल–तिब्बतबीच मनोमालिन्य बढेर युद्ध हुन लागेको बखत यो तिब्बतमाथि आक्रमण गर्न तैनाथ दुई डिभिजन फौजमध्ये दोस्रो डिभिजनमा खटिएको थियो। सन् १९१४–१९१८ प्रथम विश्वयुद्ध र सन् १९३९–१९४५ को दोस्रो विश्वयुद्धमा यसलाई भारतको शान्ति–सुरक्षा कायम गर्ने कार्यमा तैनाथ गरिएको थियो। हैदराबादमा गोलमाल मच्चिँदा भारतमा शान्तिसुरक्षा कायम गर्न भारत सरकारको अनुरोधमा सहायतार्थ नेपालबाट पठाएका पल्टनमध्ये यो कलकतामा खटिएको थियो।
‘नेपालको गौरव’ आदर्श वाक्य : श्री श्रीनाथ गण राजा पृथ्वीनारायण शाहबाट थालेको नेपाल एकीकरणको अभियानमा १८१९ असोज ५ मा श्री श्रीनाथ कम्पनीको नामबाट स्थापना भएको हो। गोरखा दरवारस्थित इस्ट देवता गोरखनाथको नाममा श्री श्रीनाथ कम्पनी खडा गरिएको थियो। नेपाली सेनाको सर्वश्रेष्ठ गणको रूपमा श्री गणेश भएको यो गणको आदर्श वाक्य ‘नेपाल गौरव’ रहेको छ। १८०१ सालको नुवाकोटको विजयबाट प्रोत्साहित भई नेपाली सेनाले बंगालका नबाव मीरकासिमको फौजलाई मकवानपुरको युद्धमा हराई करिब ५००
नाल बन्दुक र दुईवटा तोप खोसेका थिए।
तिनै हतियारको सहायताले खडा गरेको ५ कम्पनी श्रीनाथ, बज्रवाणी, सबुज, पुरानो गोरख, कालीबक्समध्ये यो पनि एक थियो। सर्वप्रथम यो श्री श्रीनाथ कम्पनी नुवाकोटमा खडा भएको थियो। आधुनिक नेपालको एकीकरणदेखि लिएर विभिन्न आरोह–अवरोह पार गर्दै यो कम्पनी, श्री श्रीनाथ पल्टन (रेजिमेन्ट), श्री श्रीनाथ कम्पु (बाहिनी) हुँदै श्री श्रीनाथ गणको रूपमा विस्तार भएको छ। हाल यो गण रसुवा जिल्लाको धुन्चेमा तैनाथरथ छ।
रौतहटको जातीय दंगा नियन्त्रण कार्य ः २०२८ सालमा बारा, पर्सा र रौतहट जिल्लाको भारतसँग सिमाना जोडिएका इलाकामा हिन्दु तथा मुसलमान बासिन्दाबीच जातीय, धार्मिक, साम्प्रदायिक दंगा भड्किनाले धनजनको ठूलो क्षति भई राष्ट्रिय समस्याकै रूप लियो। अञ्चलाधीशले प्रहरीबाट सम्भव नदेखेपछि तत्काल सेनालाई खटाएको थियो। जसअनुसार जंगी अड्डाले उक्त जातीय दंगा नियन्त्रण गर्न हेटौंडाको सुपारीटारमा तैनाथ श्रीनाथ गणलाई आदेश दियो। उक्त गणको एक गुल्म भरतपुर र अर्को एक गुल्म वीरगन्जमा तैनाथ थियो। वीरगन्जको गुल्मले दंगाबारे गण हेडक्वार्टर्स सुपारीटारमा लगातार खबर पठाइरहेकै थियो। आदेशानुसार श्रीनाथ गण तुरुन्तै सुपारीटारबाट कलैयातर्फ रवाना भयो। हेटौंडास्थित सुपारीटार ब्यारेकमा कालीबहादुर गण र शेर गणबाट एक एक गुल्म आई पालो लिए। श्रीनाथ गणहेडक्वार्टर्स कलैयामा खडा गरियो।
उक्त भुसाह साम्प्रदायिक दंगा नियन्त्रण कारबाहीका मुख्य कमान्डर महासेनानी अर्जुन सिंह राणा (पछि प्रधानसेनापति) र सहायक कमान्डर श्रीनाथ गणपति प्रमुख–सेनानी समुन्द्रबहादुर थापा हुनुहुन्थ्यो। गण हेडक्वाटर कलैयामा स्थापना हुनुपूर्व नै उक्त गणको वीरगन्जस्थित गुल्म कलैया पुगी गुल्मपति सेनानी मकरबहादुर कार्की (पछि महासेनानी)को कमाण्डमा फ्ल्याग मार्च (बिन मार्च), गस्ती आदि कार्य गर्दै थियो। पछि दंगाग्रस्त विभिन्न इलाकामा सेनाले सुरक्षा चौकी स्थापना गर्यो।
हिंसा भड्किएपछि सैनिक कारबाही : सेनाले स्थानीय प्रशासन र प्रहरीको साथ लिई गाउँ–गाउँमा हिंसा भड्काउने दुवैथरीका थुप्रै दंगाकारीलाई पक्रियो र अञ्चलाधीश समक्ष वीरगञ्ज पठायो। कम समयमै सेनाले दंगा रोकी साम्प्रदायिक उद्दण्डतामा थप हिंसा हुन नदिन चौबिसैघण्टा गस्ती खोजतलास, फ्ल्याग मार्चजस्ता सैनिक कारबाही सञ्चालन गर्यो। दंगाकारीहरूमा
मनोवैज्ञानिक भय पैदा गराउने कारबाही भयो। दंगाग्रस्त स्थानहरूमा सेना करिब तीन महिना तैनाथ भई हिन्दु र मुसलमानबीचको जातीय धार्मिक साम्प्रदायिक संग्रामको अन्त्य गर्यो। हिन्दु, मुसलमान दाजु–भाइ, दिदी–बहिनीबीच असाध्य राम्रो सद्भाब जमाउने काम गर्यो यो श्री श्रीनाथ गणले। श्री ५ महेन्द्रले विशेषगरी मुसलमानहरूको बस्तीबस्तीमा पुगी श्री ५ को सरकार, सेना र प्रहरीले उनीहरूको पूर्ण सुरक्षा हुने कुरामा विश्वस्त पारेका थिए।
जंगबहादुरले जोगाएका मुसलमान र निःशुल्क दिएको जग्गा ः श्री ३ जंगबहादुर कुँवर राणाले १९१४ सालमा भारतमा भएका सिपाही विद्रोहबाट अंग्रेजले मार्नबाट जोगिएर आएका हजारौं हजार मुसलमानलाई नेपालको बर्दियादेखि रौतहटसम्म बसोबास गराई निःशुल्क जमिन दिएका थिए। त्यसपछि यो २०२८ सालमा रौतहटबाट सुरु भएको हिन्दु–मुसलमानको दंगामा अल्पमतमा रहेका मुसलमानले राज्यबाट पूर्ण सुरक्षा पाएका नजिरहरूले नेपालमा जहिले पनि हिन्दु र मुसलमान धर्मावलम्बीहरूमा एकता रह्यो।
यसप्रकार शाही सेनाले अनवरत प्रयास जारी राखी स्थिति काबुमा लिई शान्ति सुव्यवस्थाको पुनर्बहाली गरेको थियो। श्री ५ महेन्द्रबाट साम्प्रदायिक दंगा भएका सबै इलाका र सेनाका सबै पोेस्टको समेत निरीक्षण भ्रमण भयो। श्री ५ बाट उक्त अप्रिय घटनाप्रति क्षोभ तथा सहानुभूति दर्शाई पीडितहरूलाई क्षतिपूर्ति आर्थिक सहायतासमेत घोषणा भयो। दंगा नियन्त्रणमा खटिएको श्रीनाथ गण आफ्नो पहिलाकै हेटौंडास्थित सुपारीटार ब्यारेक फक्र्याे। यसरी यो जातीय हिंसालाई नेपाली सेनाले अन्त गरेको थियो।
दियालो, बंगलामा महेन्द्रलाई मुटुको समस्या, जर्नेलले ल्याइपुर्याए मध्यरातमा भारतीय डाक्टर ः यस काण्डको निरीक्षण गरी फर्केर राजा महेन्द्र चितवन, भरतपुर आए। दियालो, बंगला पुग्दा मुटुको समस्या देखियो। जतिबेला रात परिसकेको थियो। भारतबाट डाक्टर झिकाउन पहल गरियो तर भारतीय डाक्टर (चिकित्सक)लाई त्रिभुवन विमानस्थलमा रात्रिकालीन हवाई अवतरणको सुविधा थिएन। भारतीय सेनाको हवाईजहाजले ती डाक्टरलाई भारतकै गोरखपुरसम्म ल्यायो। त्यसपछि रातको उडान गरेर पाइलट तेजेन्द्रजंग थापा (पछि जर्नेल)
गोरखपुर पुगे। त्यहाँबाट चितवन भरतपुरको एयरपोर्टमा रातको १२ बजेतिर भारतीय डाक्टरलाई ल्याए।
भरतपुरमा पनि रात्रिकालीन अवतरण सुविधा थिएन। करिब रातको १ बजे दियालो बंगला पुगेका भारतीय डाक्टरले समेत राजा महेन्द्रलाई बचाउन सकेनन्। ती भारतीय डाक्टर राजा महेन्द्रसँग दुई घण्टा पनि बस्न पाएनन्। त्यसबखत राजा महेन्द्रको समीपमा रहेका एडीसी जर्नेल शेरबहादुर मल्लसहित श्री गणेश दल गणबाट सैनिक मिलापका लागि खटिएका कप्तान (पछि जर्नेल) मेघबहादुर कार्की राजा महेन्द्रको अगाडि नै थिए।
यसरी फैलिएको थियो राजा महेन्द्रलाई भारतीय डाक्टरले विष दिएर मारे भन्ने प्रोपोगान्डा ः हाल काठमाडौं मालीगाउँ निवासी जर्नेल कार्कीका अनुसार राजालाई मुटु दुखेको झन्डै १० घण्टा जति भइसकेको थियो। नेपाली डाक्टरहरूले उपचार दिने सक्दो प्रयास गरे। कुनै देशको राष्ट्रप्रमुखले उपहार पठाएको अत्यन्त आधुनिक राइफल फाइरिङ गरेपछि त्यो राइफलको पछाडि दिने धक्काले राजा महेन्द्रको मुटु दुख्न सुरु भएको थियो। भारतबाट आइपुगेका डाक्टर दियालो बंगला पुग्दा राजा महेन्द्रको स्थिति अत्यन्त नाजुक भइसकेको थियो।
तर भारतीय डाक्टरले राजा महेन्द्रलाई विष दिएर मार्यो भन्ने प्रोपोगान्डा फैलियो। त्यो झुट हो। सूचना समयमै सम्प्रेषण हुन नपाउँदा त्यस्तो अवस्था आएको थियो। रौतहटको हिन्दु–मुसलमान दंगा साम्य भएको यकिन गरी फर्किएको तेस्रो दिनमै चितवनको दियालो बंगालामा आराम गरेर बसेका राजा महेन्द्रको त्यही स्वर्गारोहण भएको थियो। गणको सुरुको गणपति लेफ्टिनेन्ट कर्नेल बलबहादुर सिलवाल खत्री (मिलिटरी क्रस) र वर्तमान गणपति प्रमुख सेनानी प्रद्युम्नप्रसाद गौतम हुन्। पंक्तिकारको ‘मदर युनिट’ पनि यही सर्वश्रेष्ठ गण हो।
- श्री श्रीनाथ गण राजा पृथ्वीनारायण शाहबाट थालेको नेपाल एकीकरणको अभियानमा १८१९ असोज ५ मा श्री श्रीनाथ कम्पनीको नामबाट स्थापना भएको हो। गोरखा दरवारस्थित इस्ट देवता गोरखनाथको नाममा श्री श्रीनाथ कम्पनी खडा गरिएको थियो। नेपाली सेनाको सर्वश्रेष्ठ गणको रूपमा श्री गणेश भएको यो गणको आदर्श वाक्य ‘नेपाल गौरव’ रहेको छ।
- दंगाग्रस्त स्थानहरूमा सेना करिब तीन महिना तैनाथ भई हिन्दु र मुसलमानबीचको जातीय धार्मिक साम्प्रदायिक संग्रामको अन्त्य गर्यो। हिन्दु, मुसलमान दाजु–भाइ, दिदी–बहिनीबीच असाध्य राम्रो सद्भाब जमाउने काम गर्यो यो श्री श्रीनाथ गणले।
बझाङको त्यो विद्रोह र दमन
नेपाली कांग्रेसको उक्सावट र श्री ५ को सरकारको राज्य रजौटा उन्मूलन ऐनका कारणसमेत बझाङका राजा रामजंगबहादुर सिंहको नेतृत्वमा राजा महेन्द्रविरुद्ध विद्रोह भएको थियो। जसलाई नेपाली जनमानसमा ‘बझाङ काण्ड’ भनिन्छ। २०१७ सालमा श्री ५ महेन्द्रबाट राज्य रजौटा उल्मूलन ऐन लागू भयो। कार्यकारी शक्ति लिएर श्री ५ को सरकारको मातहतमा बसेका राजाहरूलाई चोट पर्यो।
ऐनअनुसार राजा रामजंगको शेखपछि बझाङमा कोही राजा हुन्थेन। बझाङ राजासँग वार्ताबाट समस्या समाधान गर्न पटक–पटक प्रयास गरेको थियो। केही सीप नलागेपछि विद्रोह दमनको कारबाही गरियो। श्री ५ को सरकारले उक्त विद्रोह सैनिक कारबाहीमार्फत दमन गर्ने निर्णय २०१८ भदौमा गर्यो। सोका लागि नेपालगन्जमा हेडक्वाटर्स भएको श्रीनाथ गणलाई आदेश भयो। उक्त गणका गुल्महरू धनगढी, डोटी, हुम्ला र बैतडीमा तैनाथ थिए। गणपति प्रमुख–सेनानी वीरेन्द्रप्रसाद शाह (पछि सहायकरथी) थिए। उप–सेनानी केशरबहादुर गड्तौलाले कमाण्ड गरेको बैतडीस्थित गुल्मलाई सुरुमा अगाडि बढाइयो। त्यसपछि सह–सेनानी रोहितविक्रम राणाले कमाण्ड गरेको डोटीस्थित गुल्मलाई पनि रवाना गराइयो। केशरबहादुर गड्तौलाले जर्साब शान्ति सेना जाने टोलीसँग अप्ठ्यारो जमिन र बाक्लो हिउँ भएको स्थानमा पुग्दा भाग्ने ठाउँ नै पाएनन्। पुनः फर्केर रसकोटतर्फ आउँदा
ओमजंगको टोलीसँग सेनाको जम्काभेट भयो।
गड्तौला जर्साबको भनाइअनुसार ओमजंगले आफ्नो राइफलबाट सेनातर्फ फायर गर्न खोज्दा सेनाले पहिल्यै फायर गरी ओमजंगलाई तुरुन्त मारिदियो। विद्रोहीहरू फेरि भागाभाग गरे। यस घटनाको विवरण १९६२ सेप्टेम्बर २९ तारिखको अमेरिकी अखबार न्युयोर्क टाइम्सले पनि प्रकाशित गरेको छ। झन्डै दुई घण्टासम्म छिट्फुट गोली हानाहान भयो, आखिर विद्रोहीहरू भागे। सेनातर्फ भने कुनै क्षति भएन। विद्रोहीतर्फ दुईजना मारिए। ३०३ राइफल चार नाल र केही भरुवा बन्दुक सेनाले बरामद गर्योे।
तर बझांगेले पहिला फायर गरे कि नेपाली सेनाले पहिला गरे भन्ने कुरामा हालसम्म प्रकाशित इतिहास र लेखहरूमा एकरूपता देखिन्न। २०१८ साल महाअष्टमीको दिनको उक्त घटना काबुमा आइसकेको हुँदा सेनाको दुवै गुल्म आआफ्नो स्थानमा फक्र्यो। बैतडी आइपुग्नु अगावै महाकाली अञ्चलाधीश र स्थानीय जनतासहित एक दिन वरको बाटोसम्म पुगी विद्रोही दमन गरी फर्केका
फौजलाई स्वागत गर्न पुगेका थिए।
खम्पाहरू, खम्पा काण्ड र त्यो विद्रोह
खम्पा काण्डमा कारबाही गराउने मुख्य पात्रहरूमा राजा वीरेन्द्र, प्रधानसेनापति सिंहबहादुर बस्न्यात, नम्बर ४ बाहिनीपति सहायकरथी आदित्यशमशेर राणा, अप्रेसन बाहिनीपति सहायकरथी सिंहप्रताप शाह तथा कारबाहीको मुख्य जमिनी कमान्डर प्रमुख सेनानी कर्नेल सच्चितशमशेर राणा थिए भने कारबाहीका लागि मुख्य श्रीनाथ गणलाई तोकियो। उनको मदर युनिट श्रीनाथ गण भएकाले उनकै मागअनुसार यो गणलाई मुख्य जिम्मेवारी दिइएको थियो भने नेपाली सेनाका अन्य धेरै अंगले संयुक्त कारबाही गरेका थिए। यो कारबाहीमा नेपाली सेनाका दुईजनाको खति भयो। एकजना भिरबाट लडेर मरे भने अर्का हाई अल्टिच्युड लागेर मरे। जमिनमा भने खम्पातर्फका कमान्डर गे वाङ्दी थिए भने नेपाली सेनाको कमान्डर कर्नेल सच्चितशमशेर राणा थिए।
भियतनाम युद्धताका सीआईएले जासुसी प्रयोजनका लागि प्रयोग गरेका अमेरिकी विमानमा थाइल्यान्डको बैंककस्थित अमेरिकी सैनिक अखडाबाट हतियार, गोलीगठ्ठा र रसद मुस्ताङ क्षेत्रमा पुर्याइन्थे। अत्याधुनिक हतियारद्वारा सुसज्जित खम्पाहरूले अब नेपालको उत्तरी सीमा अवस्थित नेपाली अधिकारी तथा स्थानीय प्रशासक समक्ष अनेक माग राख्थे र कार्यान्वयन गर्न बाध्य पार्थे। हुँदाहुँदा पछि त उनीहरू चीनविरुद्ध सैनिक कारबाही गर्दागर्दै नेपालका उत्तरी जिल्ला आफ्नो भएको दाबीसमेत गर्न लागे।
ती क्षेत्रमा खम्पाहरूले आफ्नो झन्डा गाड्ने तथा दलाई लामाको तस्बिर पनि झुन्ड्याउन थाले। नेपाली पक्षको मौनताले खम्पाहरूलाई झन् मात चढ्यो। उनीहरूले नेपालभित्र लुटपाट, हुलहुज्जत र बलात्कारसमेत गर्न थाले। यसबीच, २०३१ सालमा राजा वीरेन्द्रको चीन भ्रमण भयो। चिनियाँ प्रधानमन्त्रीले राजासँग कुरा हुँदा खम्पा गुरिल्लाको गतिविधिबारे गम्भीर चासो व्यक्त गरे। चीनबाट फर्कनासाथै वीरेन्द्रले उनको शुभराज्याभिषेकअगावै खम्पा विद्रोहको अन्त्य हुनुपर्नेबारे सुरक्षासम्बद्ध अधिकारीलाई आदेश गरे।
सेना, प्रहरी र गुप्तचरका प्रमुखहरू तुरुन्तै सो आदेशको पालनामा जुटिहाले। सैनिक गुप्तचरका कर्नेल कृष्णप्रसाद उपाध्याय, डीएसपी पञ्चबहादुर क्षत्री र गुप्तचर विभागका एसपी लेखबहादुर पाँडेको समूह सुरुआती कारबाहीमा लागे। राजदरबारका तर्फबाट सबै कुराको संयोजन गर्ने व्यक्ति ताम्ला उक्याव थिए। मुस्ताङ हेर्ने प्रशासकीय अधिकृत कर्नेल शैलेन्द्रबहादुर महत थिए। खम्पाहरू स्थायी र अस्थायी रूपबाट पूर्वमा ताप्लेजुङको ओलाङचुुङगोलादेखि रसुवा, मुस्ताङ, हुम्ला हुँदै दार्चुलाको टिंकरसम्म तैनाथ थिए।
जोमसोमदेखि चार पाँच घण्टाको पैदल दूरीमा रहेको विकट स्थान कैसाङमा उनीहरूको हेडक्वार्टर थियो। अन्य क्याम्पहरू कागबेनी, ठिनी, छुसार, समार, दिलिङ, साम्दा, टुकुचे, धामी, साम्दा, मुक्तिनाथ र मनाङमा थिए। साढे सत्र हजार फिट उचाइमा रहेको टांगेभूमा अमेरिकी जहाजले सामान खसालेको सूचना प्रात भएको थियो। विश्व परिवेशमा गाल नपरोस् भनेर नरम तरिकाको यो नाम जुराइएको थियो।
प्रमुख सेनानीपछि प्रधानसेनापति सच्चितशमशेर राणालाई श्रीनाथ गणको गणपतिको कमान्डर बनाई श्रीनाथ गणलाई यस अभियानमा भाग लिने मुख्य फौजका रूपमा तोकिएको थियो। सैनिक अभ्यासको रूपमा परिचालित गराइएको योसहित निम्न गण गुल्मका अन्य फौजका केही संख्या सम्मिलित यस सैनिक अभियानका मुख्य कमान्डर बाहिनीपति सहायक रथी (पछि प्रधानसेनापति) श्री सिंहप्रताप शाह तोकिए। श्री श्रीनाथ गण (मुख्य लडाकु पैदल फौज), श्री राजदल गण तोपखाना, श्री भैरवनाथ गण प्यारा कमाण्डो, स्पेसल फोर्स, श्री कालीप्रसाद गण फिल्ड इन्जिनियर्स, श्री गणेश दल गण मिलाप सिग्नल, श्री फस्ट राइफल गण लडाकु पैदल फौज, श्री इन्द्रध्वज गुल्म, लडाकु पैदल फौज, श्री अहिदमन गुल्म, लडाकु पैदल फौज, श्री चन्दन नाथ गुल्म, लडाकु पैदल फौज। पोखराबाट अघि बढेको फौज नाउडाँडा, हिले, घोडेपानी, शिख, दाना, घाँसा, लेते मार्फा हुँदै जोमसोम पुगी बाहिनी अड्डा खडा गर्यो। राजदल गणले लागेको ७५–२४ प्याक हावित्जर (तोप) त्यहीं राखियो। यसअघि नै गणपति प्रमुख सेनानी सच्चितशमशेर राणाले खम्पाको विभिन्न क्याम्पबारे खबर हासिल गरिसकेका थिए। सेनाको यस प्रकार परिचालन र तोपबाट फायरिङसमेत हुन थालेपछि युद्धको खप्पाहरूमा निकै दबाब पर्न थाल्यो।
१९११ सालमा प्रधानमन्त्री जंगबहादुरले भोट युद्ध गर्दाको तयारीपछि यो खम्पा निःशस्त्रीकरण अभियानको तयारी नै दोस्रो ठुलो थियो। छार्का र मनाङमा पनि फौज तैनाथ गरिएको थियो। जताततैको निरन्तर दबाबबाट खम्पा गुरिल्लाहरूको हौसला खस्कँदो थियो। गे वाङ्दीले ‘हतियार बुझाई आत्मसमर्पण गर्न तयार छौं’ भनी पत्र पठाए। उनले २०३१ साउन ५ गतेबाट हतियार बुझाउन सुरु गर्ने बताए पनि फेरि साउन ११ गतेबाट बुझाउने भनी माग राखे। त्यसपछि फेरि म्याद थपको माग गर्दै साउन १६ गते राति २ बजेबाट बुझाउने सन्देश पठाए। यसमा सेनाले मञ्जुरी दियो।
निःशस्त्रीकरण कारबाहीका लागि सेना अघि बढिसकेको थियो। स्थानीय बासिन्दाले दिएको खबरअनुसार आत्मसमर्पण गर्ने भनी खम्पाले भनेको कुरा षड्यन्त्र मात्र थियो। आत्मसमर्पण गर्न म्याद गुज्रेपछि तोपबाट गोला दाग्दै सेनाले कैसाङ क्याम्पमा आक्रमण गर्यो। खम्पातर्फबाट कुनै प्रतिकार नहुँदा सेनाले कैसाङ, क्याम्पमा धावा बोली कब्जा गर्यो। क्याम्पभित्र सेनाले खम्पाका थुप्रै हतियार, गोलीगठ्ठा फेला पार्यो। सेनाले तुरुन्तै समार, छुसाङ, छिलिङ धमी क्याम्प पनि सजिलै कब्जा गर्यो। थुप्रै खम्पाहरूले सेनासमक्ष आत्मसमर्पण गरे। तर नाइके गे वाङ्दी भने फेला परेनन्। पक्राउ परेकाहरूको भनाइअनुसार आफ्ना ५०–६० जना जति उनका नजिकका र भरपर्दा गुरिल्लासहित थुप्रै खच्चडमा नगद, बहुमूल्य सामग्री र हातहतियार लिएर वाङ्दी भागिसकेका थिए। वाङ्दी पश्चिमको बाटो पक्री छार्का भोट, फोक्सुन्डो, मुगु, नाम्चा भन्याङ, सिमिकोट, यारी, टिंकर, लिपुको बाटो हुँदै भारत पस्ने योजनामा उनी भागिसकेको कुरा आत्मसमर्पण गरेका खम्पाहरूबाट थाहा भयो। वाङ्दीको टोली नेपाल–चीन सिमानाबाट पश्चिम भागेका र साथमा मुगुका शरणार्थीहरूलाई समेत आफ्नो समूहमा जबर्जस्ती सामेल गरेको सूचना सेनाले पायो। त्यसपछि ऊ भाग्ने बाटो अनुमान गर्न सेनालाई सजिलो भयो। टिंकर व्यासमा घर भएका सेनानी गोपालसिंह बोहरा (पछि सांसद)ले वाङ्दी भाग्न प्रयोग गर्ने बाटोबारे खबर दिएका थिए।
खम्पाहरू भदौ २२ सम्म यारीमा पुगेका र त्यहाँबाट हिन्सङ खोलातिर गएको तथा उनीहरूसँग ट्यांक तथा पिलबक्स फोर्ने ५७ एमएमआरसीएल (५७ मिलिमिटरको यन्त्र जसले गाडी र भित्तामा प्वाल पार्न सक्ने रकेट लन्चर) पनि भएको भरपर्दो सूचना प्राप्त भयो। २०३१ भदौ २४ सम्म लिपु, टिंकर र छाक्रा प्रत्येक स्थानमा सेनाले ‘सेनामुख प्लाटुन तागतको नाकाबन्दी र धराप’ स्थापना गरिसकेको थियो।
२०३१ भदौ २४ को बिहान लिपु भन्ज्याङको तल खप्पा लडाकुहरू घोडा–खच्चडसहितको लस्कर आइरहेको देखियो। लस्करको प्रमुख हिस्सा सेनाको मार इलाकामा पर्नासाथ जमदार दानबहादुर चन्दको सेनाले गोलाबारी गर्यो। यस कारबाहीमा परी खम्पा नाइको गे वाङ्दीसहित ६ जना लडाकु मारिए। उनीहरूका केही घोडा–खच्चड पनि मारिए। लस्करका पछाडि रहेका खम्पाहरू पनि तुरुन्त पोजिसन लिएर नेपाली सेनामाथि ठूला हतियार र मेसिन गनसमेतबाट फायर गरे। बेलुकीपख खम्पाहरू फायर र हर्कत गर्दैथिए। नेपाली सेनाको ब्लकिङ पोजिसन र खम्पाबीच दिनभरि नै गोली हानाहान भइरहयो। बेलुकीपख खम्पाहरू फायर र हर्कत गर्दै ब्लकिङ पोजिसन लिपुबाट पछि हटी चिनियाँ भूमि हुँदै भारततर्फ प्रवेश गरे। भोलिपल्ट नेपाली सेनाले आफ्नो मार इलाका घटनास्थलमा खोजतलास गरी हतियार, गोलीगठ्ठा, नगद इत्यादि सामान बरामद गयो। सरकारले खम्पा नाइके गे वाङ्दी मारिएको घोषणा गर्यो।
नेपाली सेनाले २०३१ साउन १६ देखि भदौ २९ सम्मको मुस्ताङको कैसाङ तथा अन्य क्याम्पबाट हजारौं हतियार, गोलीगठ्ठा कब्जामा लियो। खम्पा सेनाविरुद्धको कारबाहीमा शाही नेपाली सेनाले छोटो समयमै सफलता हासिल गयो। नाइके गे मारिनु राम्रो उपलब्धि थियो। राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाको छवि उच्च भयो। यही सफल सैनिक कारबाहीपछि सेनाले कब्जा गरेको खम्पाको कैसाङ क्याम्पमा सेनाको उच्च शिखर तालिम शिक्षालय स्थापना गर्यो।
प्रतिक्रिया दिनुहोस !