अब केराबाटै कपडा
टीकापुर : केरा र केराका परिकारका लागि देशभर ख्याति कमाइरहेको टीकापुरले खेरजाने केराका थामबाट कपडा उत्पादन गरिरहेको छ। यहाँ उत्पादित केरा देशका विभिन्न सहरहरू नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, सुर्खेत, बुटबल र काठमाडौंंलगायत सहरमा बिक्री हुने गरेको छ।
एग्रोटुरिज्म व्यवसायी ‘बनाना किङ’ का नामले परिचित कालु हमालले डेढ दशकदेखि केराकै ४२ भन्दा बढी परिकारहरू पस्किरहेको टीकापुरमा केराबाटै कपडा उत्पादन सुरु भएको हो।
कैलालीको टीकापुर क्षेत्रमा ८ सय ७५ हेक्टर क्षेत्रफलमा हुँदै आएको केराखेतीबाट खेर जाने केराका थामको प्रयोग गरी यहाँका महिलाहरू कपडा उत्पादन गरिरहेका छन्। टीकापुर नगरपालिका–८ बटनपुरस्थित धनसिंहपुर एकता समाज बचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिलाहरूले केराको थामबाट रेशा र कपडा उत्पादन गरिरहेका छन्।
सहकारीमा आबद्ध महिलाहरूलाई सहकारीले तालिम दिएपश्चात् उनीहरू दुई वर्षदेखि केराका थामबाट रेशाहरू उत्पादन गरिरहेका हुन्। केराको रेशाहरूबाट टोपी, झोला, पेन होल्डर, कपडा, बस्नका लागि प्रयोग हुने चटाईलगायतका सामग्री निर्माण बनाउने गरेको स्थानीय कमला साउदले बताइन्।
‘सहकारीले हामीलाई केराका थामबाट उत्पादित रेसा बिक्री गर्छ, हामीले सामान बनाउने गरेका छौं,’ उनले भनिन्, ‘हामीले उत्पादन गरेका सामानहरू सहकारीले नै बिक्री गर्न मद्दत गरिरहेको छ।’
सहकारीले दुई वर्षदेखि केरा किसानको बारीमा खेर जाने केराका थामबाट रेसा उत्पादन गर्दै आएको हो। सहकारीमा पाँच जना महिलाले केराका हस्तकलाका सामानहरू बनाइरहेका छन् भने ९ जना महिलाहरू केराको कपडा बनाइ रहेका छन्। केराको रेसा र कटन धागो प्रयोग गरी तानको सहायतामा कपडा बनाउन सुरु गरिएको टीकापुर नगरपालिका–७ की शकुन्तला चौधरीले बताइन्।
‘सहकारीले रेसा उपलब्ध गराएको छ, हामीलाई तान खरिदमा ५० प्रतिशत अनुदान दिएको छ’ चौधरीले भनिन्, ‘सहकारीले बिक्री गर्न सहजीकरण गरिरहेकाले हामीलाई थप सजिलो भएको हो, यहाँ उत्पादन गरिएको केराको कपडा काठमाडौंंमा बिक्री हुने गरेको छ।’
केराको रेसाबाट हस्तकलाका सामान बनाउँदै आएका महिलाहरू दुई महिनादेखि कपडा बनाइरहेको बताउँछन्। चौधरीले त्यस्ता सामग्रीहरूको बिक्रीवितरणका लागि बजारको अभाव नरहेको बताइन्।
बजारीकरण गर्दै सहकारी
सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीका अनुसार महिलाहरूले उत्पादन गरेका हस्तकलाका सामान र केराको कपडाको बजारीकरण गर्दै आइरहेको छ। सहकारीले काठमाडौंंमा रहेका विभिन्न उद्योगहरूसँग सहजीकरण गरेर सामान बिक्री गर्न मद्दत गरिरहेको छ।
‘सुरुमा सहकारीले रेसा उत्पादन गरेर महिलाहरूलाई हस्तकलाका सामान बनाउने, कपडा बनाउने तालिम दिएको हो’ व्यवस्थापक चौधरीले भने, ‘हस्तकलाका सामानहरू र कपडा काठमाडौंंमा बिक्री गर्न सहकारीले सहजीकरण गरिरहेको छ, महिलाले उत्पादन गरेका सामानको मूल्य उनीहरूकै खातामा आउने गर्छ।’
व्यवस्थापक चौधरीका अनुसार १० वटा केराका थामबाट एक केजी रेसा उत्पादन हुने गरेको छ भने एक केजी रेसाबाट १५ वटासम्म टोपी बनाउन सकिन्छ।
उनले केराको रेसाबाट उत्पादित हस्तकलाका सामानहरू ५० देखि १ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको बताउँदै केराको कपडा ३ सयदेखि ३ सय ५० रुपैयाँ मिटरमा बिक्री हुने गरेको बताए।
यहाँका केरा किसानले केराबारीमा खेर जाने थामहरू सहकारीलाई निःशुल्क दिने गरेका छन्। त्यही थामबाट बनाइएको रेसा र रेसाबाट उत्पादित सामानहरू बनाएर महिलाहरू स्वरोजगार बन्दै गएको वडा नं. ८ का अध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउँछन्।
‘केराको रेसाबाट महिलाहरूले हस्तकलाका सामान र कपडा बनाएर आम्दानी गरिरहेका छन्’ वडाध्यक्ष ठकुल्लाले भने, ‘यसले किसानलाई थाम व्यवस्थापन गर्न सहज भएको छ भने महिलाहरू पनि स्वरोजगार बन्दै गएका छन्।’
केराको हबका रूपमा विकसित हुँदै गएको टीकापुरमा केराको रेसा उत्पादन सुरु हुनुले पोस्ट हार्भेस्टिङमा किसानलाई सहजता हुने स्कुल अफ एग्रिकल्चर टीकापुरका बागबानी उपप्राध्यापक ऋतम्भर घिमिरे बताउँछन्।
‘केराको हब बन्दै गएको टीकापुर क्षेत्रका किसानलाई केराको थाम व्यवस्थापन गर्न निकै समस्या हुने गरेको थियो, थामबाट रेसा उत्पादन सुरु हुनुले किसानलाई सहज भएको छ’, उपप्राध्यापक घिमिरेले भने ‘केरालाई कल्पवृक्ष पनि भनिन्छ, यो बहुउपयोगी फल हो, खानका लागि मात्रै नभएर लगाउनका लागि लुगासमेत बनाउन सकिन्छ।’
उपप्राध्यापक घिमिरेले खेर जाने थामबाट रेसा उत्पादन गर्ने, मेसिनमा पेलेर बचेको फोहोरलाई जैविक मल बनाएर खेतीमै प्रयोग गर्न सकिने हुनाले यो प्रविधि पर्यावरण संरक्षणमा समेत उल्लेखनीय हुने बताए। ‘पर्यावरणीय संरक्षणका लागि पनि यो प्रभावकारी छ’ घिमिरले भने ‘केराको फाइबर कटनको विकल्पका रूपमा पनि प्रयोग भइरहेको छ।’
१५ वर्षदेखि केराको कपडा
नेपालमा विगत १५ वर्षदेखि अन्नपूर्ण ह्यान्डीक्राफ्टका सञ्चालक दिव्य तारा तुलाधरले केराको थामबाट कपडा बनाउन बनाइरहेकी छन्। नेपाल हस्तकला महासंघका उपाध्यक्ष समेत रहेकी उनले केराका थामबाट उत्पादित रेसाका हस्तकलाका सामान बनाउन काठमाडौंंमा उद्योग सञ्चालन गरिरहेका छन्। तरार्ईका विभिन्न क्षेत्रमा पुगेर केराको रेसाबाट हस्तकलाका सामान बनाउन तालिम दिँदै आएकी तुलाधरले नै टीकापुरमा उत्पादन हुने केराका हस्तकलाका सामान र रेसाहरू खरिद गर्ने गरेकी हुन्।
‘तरार्ईका जिल्लामा केरा धेरै उत्पादन हुने गरेको छ, केरा उत्पादनपछि थाम व्यवस्थापन गर्न किसानलाई सजिलो छैन, ती किसानबाट पाएको निःशुल्क थामबाट कपडा बनाएर बिक्री गर्ने गरेका छौं’ उनले भनिन्।
तुलाधरका अनुसार अहिले विदेशमा प्राकृतिक स्रोतबाट बनेका कपडाको माग बढ्दो छ। स्वास्थ्यका हिसाबले पनि केराको थामबाट बनेका रेसाको कपडाले विभिन्न रोगबाट बचाउने गरेको उनी बताउँछिन्। तुलाधरको कारखानामा बन्ने केराका नेपाली सामान जर्मनी, अमेरिका, अस्ट्रेलियालगायत देशमा बिक्री हुने गरेको छ।
प्रतिक्रिया दिनुहोस !