मिस युनिभर्स नेपालको फिनाले बुधबार, १४ जनाले गर्दैछन् प्रतिस्पर्धा
काठमाडौं : मिस युनिभर्स नेपाल २०२५ को फिनाले बुधबार हुने भएको छ। काठमाडौंको रोएल टुलिप होटलमा दिउँसो ४ बजेदेखि सुरु हुने फिनालेमा १४ जना सुन्दरीले प्रतिस्पर्धा गर्दैछन्।
ग्लोबल ग्ल्यामर भेन्चरको आयोजना हुँदै आएको मिस युनिभर्स नेपालको फिनालेको तयारी पूर्णरूपमा सकिएको राष्ट्रिय निर्देशक संगीता पुरीले जानकारी दिइन्। पुरीका अनुसार गत वर्षभन्दा यस वर्ष युवतीहरूको सहभागीता राम्रो थियो। फाइनलिस्टहरू १४ जना नै उत्तिकै प्रतिभाशाली रहेको उनको भनाइ छ।
यसअघि नै निर्देशक पुरीले मिस युनिभर्स नेपालका लागि धेरै मापदण्डहरू खुकुलो पारेको जानकारी दिएकी थिइन्। कुनै उचाई, तौल, वर्गको आधारमा मापदण्ड नराखिएको जानकारी दिएकी थिइन्। सोहीअनुरुप अहिले विभिन्न उचाई तथा विभिन्न पेसा गरिरहेका महिलाहरूको सहभागीता रहेको छ। उनले भनेकी छन्, 'मैले भन्दै आएकी छु, यो सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो। तपाईँजस्तो हुनुहुन्छ, त्यही नै तपाईँको सौन्दर्यता हो।'
यस वर्षबाट मिस युनिभर्स नेपाल रियालिटी शोको रूपमा पनि रहेको थियो। युट्युबमा सार्वजनिक रियालिटी शोको विभिन्न ६ एपिसोडमा प्रतिस्पर्धीहरूले कल्चरल फोटोसुट, किचेन च्यालेन्ज, रनवे च्यालेन्जलगायतमा प्रतिस्पर्धा गरिएको मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीले जानकारी दिइन्। पेजेन्टको कोरियोग्राफरको रूपमा दिक्पाल कार्की रहेका छन्।
प्रतिक्रिया दिनुहोस !