मलेसियन सुपर वुमन्स सिरिज : सीताको टिम विजयी
काठमाडौं : मलेसियन सुपर वुमन्स सिरिजमा सीता राना मगरको कप्तानीमा रहेको सेन्ट्रल सुपर गर्ल्सले इन्दु बर्माको कप्तानीमा रहेको वेस्टर्न वन्डर वुमनलाई पराजित गरेको छ। सेन्ट्रल सुपर गर्ल्सले वेस्टर्न वन्डर वुमनलाई २४ रनले पराजित गरेको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट्रल सुपर गर्ल्स १७.३ ओभरमा ६६ रन बनाउँदै अलआउट भएको हो। सेन्ट्रल सुपर गर्ल्सले दिएको ६७ रनको विजयी लक्ष्य पछ्याएको वेस्टर्न वन्डर वुमन १२.५ ओभरमा ४२ रन बनाउँदै अलआउट भयो।
लो स्कोरिङ गेममा नेपाली राष्ट्रिय टिमकी कप्तान इन्दुले खाता खोल्न सकिनन्। उनको टिममा रहेका नेपाली खेलाडीद्वय सबित्री धामी र रचना चौधरीले क्रमशः ५ र १ रन बनाए। सेन्ट्रल सुपर गर्ल्सका लागि बलिङमा सोनम सोनम र अमलिन सोर्फिनाले समान ३-३ विकेट लिए। कप्तान सीताले ४ विकेट लिँदा नेपाली खेलाडीद्वय राजमती ऐरी र रिया शर्माले १-१ विकेट लिए।
त्यसअघि ब्याटिङ गरेको सेन्ट्रल सुपर गर्ल्सका लागि कप्तान सीताले ४ रन बनाउँदा रिया शर्माले ६ र राजमती डकआउट भइन्। वेस्टर्न वन्डर वुमनका लागि बलिङमा रचना चौधरी, कन्याकोरन बुन्थान्सेन र माहिरा इज्जतीले २-२ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !