साफ यु-१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
काठमाडौं : साफ यु-१७ च्याम्पियनसिपमा भारतसँग पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरिएको छ। श्रीलङ्काको कोलम्बोसस्थित, रेडकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३-० ले पराजित भएको हो ।
पहिलो हाफमा भारत र नेपाल दुबैले अवसर बनाउँदा गोल भने गर्न सकेको थिएन। पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको सुरुवाती समयबाटै भारतले आक्रमक खेल खेलेको थियो। जसको फलस्वरूप भारतले दोस्रो हाफमा ३ गोल निकाल्दै फाइनलमा स्थान बनाएको हो।
भारतको लागि गन्लिबा वाङ्खेरिक्पाम, अज्लान शाह र डाइमन्ड सिंह थोक्चोमले गोल गर्दै भारतलाई फाइनलको बाटो डोर्याएका हुन्।
खेलको ३३औँ मिनेटमा नेपालले फ्री किक पाएको थियो। नेपालका लागि कप्तान प्रशान्त मोक्तानले फ्री किक प्रहार गरे। तर उनको फ्री किक क्रस बारभन्दा निकै माथि गयो। भारत विरुद्ध अग्रता बनाउने नेपाललाई यो सुनौलो अवसर थियो।
को ३८औं मिनेटमा नेपालका लागि प्रतिस थापा मगरले पेनाल्टी बक्सबाट हानेको बल गोलकिपरले जम्प गर्दै बाहिर फालिदिए। पहिलो हाफ शून्य बराबरीमा सकिँदा दोस्रो हाफमा भारतले ३ गोल गर्यो।
खेलको ६१औं मिनेटमा भारतले गोल गर्यो। भारतका लागि जर्सी नम्बर २० का गन्लिबा वाङ्खेरिक्पामले गोल गर्दै भारतलाई १-०को अग्रतामा पुर्याए। खेलको ८०औं मिनेटमा नेपालका कप्तान प्रशान्त मोक्तानको डिफेन्सलाई छलाउँदै अज्लान शाहले दायाँ तर्फबाट बायाँ खुट्टाले उत्कृष्ट फिनिस गरे।
निर्धारित समयमा थप गरिएको ४ मिनेटको समयको अन्तिम मिनेटमा भारतका लागि डाइमन्ड सिंह थोक्चोमले नभारतका लागि तेस्रो गोल गरे। समूह ए को उपविजेताका रूपमा सेमीफाइनल खेलेको नेपालले समूह बीको विजेताको रुपमा आएको भारतसँग पराजित भएको हो।
नेपाले समूह चरणको खेलमा घरेलु टिम श्रीलंकालाई २-० ले पराजित गरेको थियो। समूह चरणको दोस्रो खेलमा नेपाल बङ्गलादेशसँग ४-० ले पराजित भएको थियो। आज भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले पाकिस्तानलाई २-० ले हराउँदै फाइनल प्रवेश गरेको छ।
भारतले फाइनलमा बंगलादेशसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस !