कैदीबन्दीहरूले सामूहिक रूपमा लगाए टीका
नुवाकोट : जिल्ला कारागार नुवाकोटका कैदीबन्दीहरूले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिकरूपमा टीका लगाएका छन्। उनीहरूले यस वर्षको वडादशैं पर्व मनाउँदै एकआपसमा टीका लगाउनुका साथै सामूहिक भोजभतेर गरेको कारागार प्रशासनले जनाएको छ।
विभिन्न मुद्दामा परेर कैद सजाय पाएका तथा मुद्दा फैसला नहुन्जेलसम्मका लागि बन्दी जीवन विताइरहेकाहरूले कारागारभित्रै आपसमा रमाइलो गर्दै दशैं मनाएका हुन्।
कारागारमा रहेका ३९ महिलासहित ९ सय तीन जना कैदी बन्दीहरूले एकआपसमा खुसी साटासाट गर्दै सामूहिकरूपमा एकआपसमा टीका लगाएर वडादशैं पर्व मनाएको जेलर भेषबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार कारागारमा रहेका बन्दीहरूले तीनवटा रांगो तथा आवश्यक मात्रामा खसी बोका र कुखुराको मासु कारागारमै खरिद गरी ल्याएर भोजभतेर गर्नुका साथै बन्दीहरूले विजया दशमीको दिन टीकाटालो गर्दै खुशीयालीका साथ मनाएका थिए। कारागारका अनुसार बन्दीका आफन्तहरूले कारागारमै आएर विजया दशमीको टीका तथा जमरा लगाइदिएका थिए।
प्रतिक्रिया दिनुहोस !