दशैंको मौका छोपी बुटवलमा दिनहुँ चोरी
बुटवल : दशैंको मौका छोपी बुटवलमा दिनहुँजसो घर तोडफोड गरी चोरी भइरहेको छ। दशैं मनाउन जन्मगाउँ गएकाहरूको घरमा चोर पसेर तोडफोड गरेपछि नागरिकहरू त्रसित भएका छन्। तोडफोड गरेर घरभित्र भएका सुनका गरगहना, नगद, ल्यापटप र अन्य जिन्सी सामानहरु चोरी भएको पीडितहरूले बताएका छन्।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकास्थित किमडाँडा पकलेमा दशैँको टिका लगाउन गएकी बुटवल उपमहानगरपालिका-१२ ढवाह निवासी रिता पौडेलको घरबाट ९ तोला सुन चोरी भएको छ। पौडेल सुत्ने कोठामा रहेको दराज फोरेर सुन चोरी भएको सतगढी टोल विकास संस्था ढवाहका अध्यक्ष योगेन्द्र छन्त्यालले जानकारी दिए।
‘हाम्रो टोलमा एकै दिन चारवटा घर तोडफोड गरेर चोरी भयो’, छन्त्यालले भने, ‘एउटै चोरले चोरेको आशंका छ। तर, अहिलेसम्म चोरको पहिचान भएको छैन।’ पौडेलका श्रीमान रोजगारका लागि पोर्चुगलमा छन्।
बुटवल उपमहानगरपालिका-१४ स्थित मोतीगञ्जका ५२ वर्षीय डिल्ली पोख्रेलको घर पनि तोडफोड गरेर सुनका गहना र नगद चोरी भएको छ। ‘टीका लगाउन सपरिवार जन्मघर पहाड गएका थियौं’, पोख्रेलले भने, ‘राम्रोसँग दशैं मनाउन नपाउँदै घरमा चोरी भएको खबर आएपछि बुटवल फर्किएँ।’ उनको पहाड घर अर्घाखाँचीको मालारानी गाउँपालिका-४ खनमा हो। घर तोडफोड गरी औँठी र तिलहरी गरी ढाई तोला सुन र बुबाले बाकसमा बचत गरेर राखेको दुई लाख ३५ हजार रुपैयाँ नगद चोरी भएको पोख्रेलले बताए।
पोख्रेलकै घरको तल्लो तलामा फ्ल्याट भाडा लिएर बस्दै आएका पर्वतको पैँयु गाउँपालिका-१ का सन्तु भुसालको कोठाबाट पनि ४० हजार रुपैयाँ नगद चोरी भएको छ। पोख्रेलकी छिमेकी ज्ञानु गौतमको घरबाट पनि नगद ४० हजार रुपैयाँ घर तोडफोड गरेर चोरी भएको पीडित गौतमले गुनासो गरिन्।
बुटवल १२ ढवाहकै मनु पाण्डेको घर तोडफोड गरेर १५ हजार नगद चोरी भएको टोलका अध्यक्ष छन्त्यालले जानकारी दिए। डेढ तलाको उनको घरको ढोकाको सवै चाबी फोरिएका छन्। दशैंको टीका लगाउन अर्घाखाँची गएका सोही ठाउँका स्थानीय टोपलाल भुसालको घरमा पनि तोडफोड भएको छ।
ढवाहकै स्थानीय पंकज चुँदालीको घरमा तोडफोड भएको छ। नेपाल प्रहरीका प्रहरी निरीक्षकसमेत रहेका चुँदालीको परिवार दशैं मनाउन पहाड घर अर्घाखाँची सन्धिखर्क गएका थिए। उनी गोरुसिंगेस्थ्ति ट्राफिक प्रहरी कार्यालयमा ड्यटीमा भएको मौका छोपेर घर तोडफोड भएको छ।
दिनहुँजसो भइरहेको चोरीका घटनाले समुदायमा त्रास फैलिएको राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष एवं बुटवल १९ नहरपुर मिलनटोल निवासी टान बहादुर केसीले बताए।
‘दिनहुँ चोरी भइरहने तर चोरको पहिचान हुन नसक्दा नागरिकमा एक खालको त्रास फैलिएको छ’, केसीले भने, ‘चोरीका घटना भएको क्षेत्रमा प्रहरीले गस्ती बढाउनुपर्छ। रातभरि सार्वजनिक स्थलमा हल्ला गरेर बस्ने युवाहरूलाई प्रहरीले निगरानीमा राख्नुपर्छ।’
चोरी भएका घर घरमै पुगेर घटनाको स्थलगत निरीक्षण गरिएको र चोरी गर्ने व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
बुटवलको नहरपुर, पत्थरगंज, मोतिगंज, ढवाह, नयाँगाउँ, देविनगर लगायत ठाउँमा चोरीका घटनाहरु भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !