हैजाको महामारी : दोहोरिँदै इतिहास
अति संक्रामक तीव्र रूपमा फैलिने जीवाणु ‘भिब्रियो कोलेरा’बाट हुने रोग हैजा हो । यो कुनै नयाँ रोग नभई जनस्वास्थ्यको उत्पत्ति नै यसैबाट भएको इतिहास बोकेको अत्यन्तै पुरानो रोग हो । यो दूषित पानी वा खाना सेवनका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । केही समयअगाडि वीरगन्जमा फैलिरहेको हैजाको महामारी कुनै सामान्य घटना होइन, यसले हामीलाई इतिहासका ती कालो पानाहरू सम्झाइरहेको छ । सन् १८३१ मा पहिलोपटक सुन्दरल्यान्ड (अहिले काउन्टी मेट्रोपोलिटियनमा पर्छ) मा हैजा देखापर्यो र लन्डनसम्म फैलियो ।
बेलायतमा नै सन् १८४८ मा दोस्रो, १८५३ मा तेस्रो र १८६६ मा चौथो हैजाको महामारी फैलिएको अनि लाखौं मानिस मृत्युवरण गरेको इतिहास छ । त्यसैबेला त्यहाँ भएका अनुसन्धानले हैजा खानेपानीकै कारणबाट फैलिने पत्ता लागेको थियो । पानीको मुहानमै हैजाको जीवाणु मिसिएको कारण र पानी आपूर्ति प्रणालीमार्फत सबैतिर फैलिएको प्रमाणित भएको थियो । तर, यस दुःखद् घटनाले विश्व स्वास्थ्यको इतिहासमा एउटा महत्वपूर्ण मोड ल्याएको थियो । यहीँबाट जनस्वास्थ्य अर्थात् पब्लिक हेल्थ शास्त्रको आधारभूत बीजारोपण भएको थियो । लन्डनका डा. जान स्नोले दूषित पानी नै हैजाको मुख्य स्रोत हो भनेर वैज्ञानिक रूपमा प्रमाणित गरे । उनको यो खोजले उनलाई ‘फादर अफ पब्लिक हेल्थ’ भनेर सम्मान गरिएको हो । जनस्वास्थ्यको आधुनिक अवधारणाले यसरी नै जन्म लिएको थियो ।
करिब दुई सय वर्षपछि वीरगन्जमा देखिएको हैजाको महामारीले गम्भिर प्रश्न उठाएको छ । प्रश्न देशको जनस्वास्थ्य, खानेपानी र सम्पूर्ण स्वास्थ्य प्रणालीमाथि गतिलो झापड दिएको छ भन्दा फरक नपर्ला । सफा पानी, उचित सरसफाइ र व्यवस्थित सार्वजनिक स्वास्थ्य प्रणालीबिना कुनै समाज सुरक्षित रहन सक्दैन । तर, हाम्रो प्रणालीले अझै पनि त्यस्तो संवेदनशीलतालाई आत्मसात गर्न सकेको छैन भन्ने तथ्य यो महामारीले उजागर गरिदिएको छ । नेपालमा जनस्वास्थ्य शिक्षा बिस्तारै विकास नभएको होइन । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयहरूले जनस्वास्थ्य विषयमा एमपीएच कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी संस्थाहरूबाट धेरै जनस्वास्थ्य विज्ञ उत्पादन भएका छन् । अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट पनि जनस्वास्थ्यका विज्ञ भएका नेपाली पनि छन् ।
दुर्भाग्य के छ भने यी विज्ञहरू उत्पादन त भएका छन् तर उनीहरूलाई स्वदेशमा अवसर कम दिइएको छ । मधेस प्रदेशको अवस्था त अझ भयावह नै छ । साच्चै भन्ने हो भने मधेस प्रदेशमा जनस्वास्थ्य विज्ञहरूलाई समुचित अवसर वा जिम्मेवारी दिइएको छैन । नतिजास्वरूप जनस्वास्थ्यका दक्ष जनशक्ति प्रदेशमै थन्किएका छन् वा वैकल्पिक रोजगारीका लागि राजधानी वा विदेश पलायन भएका छन् । मधेस प्रदेश विशेष गरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहटजस्ता जिल्लामा हैजाजस्ता रोग बारम्बार देखा पर्नु कुनै नौलो कुरा होइन । यी जिल्लामा सन् २००७, २०१०, २०१४ र पछिल्ला वर्षमा पनि हैजाका प्रकोप भएका थिए । यस्ता महामारी रोकथाम गर्न सक्ने पर्याप्त जनस्वास्थ्य विज्ञ प्रदेशमा नै तैनाथ हुनुपर्ने हो तर तथ्यांक हेर्दा थाहा हुन्छ, मधेस प्रदेश सरकारको मातहत हाल कार्यरत जनस्वास्थ्य विज्ञहरूको संख्या अत्यन्त न्यून छ । यसले प्रदेशमा सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर पारिरहेको स्पष्ट छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको झन्डै २१ प्रतिशत मधेस प्रदेशमा बसोबास गर्छन् तर त्यहाँ कार्यरत जनस्वास्थ्य विज्ञको संख्या १० प्रतिशतभन्दा कम छ । यो तथ्यांकले मात्र देखाउँछ कि मधेस प्रदेशले आफ्नो आवश्यकताअनुसार जनस्वास्थ्य विज्ञलाई प्रयोग गर्न सकेको छैन । यसै प्रदेशका एमपीएच अर्थात् माष्टर्स इन पब्लिक हेल्थ (जनस्वास्थ्य विज्ञ) अध्ययन गरेका सयौं जनस्वास्थ्यकर्मी काठमाडौं र अन्य प्रदेशमा वा विदेशी भूमिमा काम गरिरहेका छन् । आफ्नै प्रदेशका लागि उनीहरू उपयोगी हुन सक्थे तर अवसर दिन सकेनन् । यो राज्य प्रणालीकै असफलता हो । जनस्वास्थ्य भनेको केवल अस्पतालमै सीमित उपचार होइन, यसले पानीको गुणस्तर परीक्षणदेखि लिएर सरसफाइ, जनचेतना, रोगनिवारण, आपत्कालीन व्यवस्थापन सबैलाई समेट्छ ।
वीरगन्जमा पानीको गुणस्तर जाँच नगरी वितरण गर्नु, दूषित पानीका कारण हैजा फैलनु, यसले राज्यकै लापरबाहीलाई प्रमाणित गर्छ । एकजना डाक्टरले २४ घण्टा खटेर पनि बिरामीलाई बचाउन नसक्दा लापरबाहीको दोषारोप गरिन्छ भने हैजा फैलाउने जस्तो ठूला संरचनागत लापरबाही कसको हो ? यो प्रश्न पनि उत्तिकै उठ्नुपर्छ । हैजा फैलिने एउटै माध्यम छ । खानेपानीमा दिसाको कणको मिसावट अर्थात् फेकोओरल माध्यम । तराईमा खानेपानीको अभाव कतै छैन, किनभने जमिनमुनिबाट पानी निकाल्न सजिलो छ । खानेपानी संस्थानले दिएको धाराको पानी मात्र पानीको स्रोत नभएर हरेक घरमा ट्युबेल, इनार आदि हुन्छन् । त्यसैले, तराईमा हैजा नियन्त्रण गर्न सजिलो हुन्छ । खानेपानीको वितरणलाई बन्द गर्ने, सबै वितरणका लाइनहरूको परीक्षण गर्ने, अनि पानीलाई परीक्षण गरेर सञ्चालन गर्ने गर्नुपर्छ । पहाडी क्षेत्रमा खानेपानीको धेरै विकल्प हँुदैन, त्यहाँ गाह्रो हुन्छ ।
तर तराईमा जटिलता रहँदैन । यद्यपि, वीरगन्जमा सहजै नियन्त्रण भएको देखिएन । अहिलेको समयमा अति आधुनिक प्रयोगशाला छन्, पानीलाई निर्मलीकरण गर्ने उपाय छन्, जीवाणुलाई नियन्त्रण गर्ने र हैजाले गरेको जलवियोजनलाई उपचार गर्ने साधनहरू छन् । तर पनि वीरगन्जमा नागरिकहरूको मृत्यु भयो । महामारी नियन्त्रण हुन समय लाग्यो । यसले जनप्रतिनिधि, स्वास्थ्य प्रणालीमाथि प्रश्न उठ्नु स्वाभाविक हो । त्यसैले यसका लागि दोषारोप मात्र होइन, संरचनागत सुधार आवश्यक हुन्छ । जान स्नोले हैजाको पानी वितरणसँग सम्बन्ध देखाएपछि मात्र बेलायतले आफ्नो सरसफाइ प्रणाली सुधार गर्यो । आज १९० वर्षपछि पनि हैजाको महामारी फैलिनुले हाम्रो कमजोर स्वास्थ्य प्रणाली उदांगिएको छ । खानेपानी वितरण प्रणालीको जवाफदेहिता हुनुपर्ने हो । सरसफाइ, ढल निकासलगायत सम्बधित विभागहरूको गैरजिम्मेवारीले भएको यो महामारीले अन्य पालिकालाई पनि संवेदनशील हुन शिक्षा दिइरहेका छन् ।
भाषण र शब्दमा नैतिकता, राष्ट्रियता, जवाफदेहिता खोजेर हुन्छ र ? विज्ञहरूलाई उपेक्षा गरेर, वैज्ञानिक प्रमाणलाई नीति निर्माणमा प्रयोग नगरी खोक्रा आदर्शलाई मान्यता दिनु र महामारीलाई राजनीतिक दृष्टिले मात्रै हेर्नु नै सबैभन्दा ठूलो समस्या हो । जनस्वास्थ्यलाई बेवास्ता गरेर कुनै समाज टिक्दैन । वैज्ञानिक अनुसन्धान, तथ्यांक आधारित नीति, जनस्वास्थ्य विज्ञको सक्रिय भूमिका, सफा पानी र सरसफाइमा लगानी अति आवश्यक छ । यीबिना हैजा मात्रै होइन, अरू संक्रामक रोगहरूले पनि हामीलाई पटक–पटक त्रास दिनेछन् । वीरगन्जमा हैजाले मच्चाएको कहर केवल एउटा रोगको प्रकोप होइन, यो हाम्रो सम्पूर्ण स्वास्थ्य प्रणालीको दुर्बलताको ऐना हो । यसैले हामी सबैले आत्मसमीक्षा गर्नैपर्छ— राजनीतिक नेतृत्व, प्रशासन, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञ, नागरिक सबै मिलेर मात्र समाधान हुन्छ । रोग सिमाना हेरेर आउँदैन, हैजाले मन्त्रीदेखि सर्वसाधारण सबैलाई असर गर्छ ।
अन्ततः, राज्यले अब गम्भीर निर्णय लिनैपर्छ । हरेक प्रदेश र पालिकाहरूले आफ्नै जनस्वास्थ्य विज्ञलाई प्राथमिकतामा राख्नुपर्छ । खानेपानीको गुणस्तर परीक्षणलाई अनिवार्य गर्नुपर्छ र महामारी नियन्त्रणलाई उच्च प्राथमिक्तामा राखेर वैज्ञानिक दृष्टिले हेर्नुपर्छ । स्वास्थ्यमा सम्झौता गरेर, योग्यहरूलाई पन्छाएर अनि फरक क्षेत्रका व्यक्तिहरूलाई जनस्वास्थ्यको जिम्मेवारी दिएर प्रसासनिक काम चलाउन सकिएला । तर, नागरिकको स्वास्थ्य सेवा राम्रो बनाउन सकिँदैन । स्वास्थ्यमा धेरै विधाहरू छन्, सबैको आवश्यकता र क्षेत्रहरू छन् ।
एउटा विज्ञलाई अर्को क्षेत्रको जिम्मेवारी दिनुले स्वास्थ्य प्रणाली राम्रो बनाउन सकिँदैन । यसैले, अब ठोस कदम चाल्नै पर्छ । हरेक प्रदेशहरूले तुरुन्त आफ्ना जनस्वास्थ्य विज्ञहरूको ड्यासबोर्ड बनाउनुपर्छ । प्रत्येक नगरपालिकामा खानेपानीको नियमित परीक्षण अनिवार्य गर्नुपर्छ, र महामारी प्रतिक्रिया टोली (रापिड रेस्पोन्स टिम)हरू गठन गर्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस !