हैजाको महामारी : दोहोरिँदै इतिहास

हैजाको महामारी : दोहोरिँदै इतिहास

अति संक्रामक तीव्र रूपमा फैलिने जीवाणु ‘भिब्रियो कोलेरा’बाट हुने रोग हैजा हो । यो कुनै नयाँ रोग नभई जनस्वास्थ्यको उत्पत्ति नै यसैबाट भएको इतिहास बोकेको अत्यन्तै पुरानो रोग हो । यो दूषित पानी वा खाना सेवनका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । केही समयअगाडि वीरगन्जमा फैलिरहेको हैजाको महामारी कुनै सामान्य घटना होइन, यसले हामीलाई इतिहासका ती कालो पानाहरू सम्झाइरहेको छ । सन् १८३१ मा पहिलोपटक सुन्दरल्यान्ड (अहिले काउन्टी मेट्रोपोलिटियनमा पर्छ) मा हैजा देखापर्‍यो र लन्डनसम्म फैलियो ।

बेलायतमा नै सन् १८४८ मा दोस्रो, १८५३ मा तेस्रो र १८६६ मा चौथो हैजाको महामारी फैलिएको अनि लाखौं मानिस मृत्युवरण गरेको इतिहास छ । त्यसैबेला त्यहाँ भएका अनुसन्धानले हैजा खानेपानीकै कारणबाट फैलिने पत्ता लागेको थियो । पानीको मुहानमै हैजाको जीवाणु मिसिएको कारण र पानी आपूर्ति प्रणालीमार्फत सबैतिर फैलिएको प्रमाणित भएको थियो । तर, यस दुःखद् घटनाले विश्व स्वास्थ्यको इतिहासमा एउटा महत्वपूर्ण मोड ल्याएको थियो । यहीँबाट जनस्वास्थ्य अर्थात् पब्लिक हेल्थ शास्त्रको आधारभूत बीजारोपण भएको थियो । लन्डनका डा. जान स्नोले दूषित पानी नै हैजाको मुख्य स्रोत हो भनेर वैज्ञानिक रूपमा प्रमाणित गरे । उनको यो खोजले उनलाई ‘फादर अफ पब्लिक हेल्थ’ भनेर सम्मान गरिएको हो । जनस्वास्थ्यको आधुनिक अवधारणाले यसरी नै जन्म लिएको थियो ।

करिब दुई सय वर्षपछि वीरगन्जमा देखिएको हैजाको महामारीले गम्भिर प्रश्न उठाएको छ । प्रश्न देशको जनस्वास्थ्य, खानेपानी र सम्पूर्ण स्वास्थ्य प्रणालीमाथि गतिलो झापड दिएको छ भन्दा फरक नपर्ला । सफा पानी, उचित सरसफाइ र व्यवस्थित सार्वजनिक स्वास्थ्य प्रणालीबिना कुनै समाज सुरक्षित रहन सक्दैन । तर, हाम्रो प्रणालीले अझै पनि त्यस्तो संवेदनशीलतालाई आत्मसात गर्न सकेको छैन भन्ने तथ्य यो महामारीले उजागर गरिदिएको छ । नेपालमा जनस्वास्थ्य शिक्षा बिस्तारै विकास नभएको होइन । त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालयहरूले जनस्वास्थ्य विषयमा एमपीएच कार्यक्रम सञ्चालन गर्दै आएको छ । यी संस्थाहरूबाट धेरै जनस्वास्थ्य विज्ञ उत्पादन भएका छन् । अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट पनि जनस्वास्थ्यका विज्ञ भएका नेपाली पनि छन् ।

दुर्भाग्य के छ भने यी विज्ञहरू उत्पादन त भएका छन् तर उनीहरूलाई स्वदेशमा अवसर कम दिइएको छ । मधेस प्रदेशको अवस्था त अझ भयावह नै छ । साच्चै भन्ने हो भने मधेस प्रदेशमा जनस्वास्थ्य विज्ञहरूलाई समुचित अवसर वा जिम्मेवारी दिइएको छैन । नतिजास्वरूप जनस्वास्थ्यका दक्ष जनशक्ति प्रदेशमै थन्किएका छन् वा वैकल्पिक रोजगारीका लागि राजधानी वा विदेश पलायन भएका छन् । मधेस प्रदेश विशेष गरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रौतहटजस्ता जिल्लामा हैजाजस्ता रोग बारम्बार देखा पर्नु कुनै नौलो कुरा होइन । यी जिल्लामा सन् २००७, २०१०, २०१४ र पछिल्ला वर्षमा पनि हैजाका प्रकोप भएका थिए । यस्ता महामारी रोकथाम गर्न सक्ने पर्याप्त जनस्वास्थ्य विज्ञ प्रदेशमा नै तैनाथ हुनुपर्ने हो तर तथ्यांक हेर्दा थाहा हुन्छ, मधेस प्रदेश सरकारको मातहत हाल कार्यरत जनस्वास्थ्य विज्ञहरूको संख्या अत्यन्त न्यून छ । यसले प्रदेशमा सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर पारिरहेको स्पष्ट छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको झन्डै २१ प्रतिशत मधेस प्रदेशमा बसोबास गर्छन् तर त्यहाँ कार्यरत जनस्वास्थ्य विज्ञको संख्या १० प्रतिशतभन्दा कम छ । यो तथ्यांकले मात्र देखाउँछ कि मधेस प्रदेशले आफ्नो आवश्यकताअनुसार जनस्वास्थ्य विज्ञलाई प्रयोग गर्न सकेको छैन । यसै प्रदेशका एमपीएच अर्थात् माष्टर्स इन पब्लिक हेल्थ (जनस्वास्थ्य विज्ञ) अध्ययन गरेका सयौं जनस्वास्थ्यकर्मी काठमाडौं र अन्य प्रदेशमा वा विदेशी भूमिमा काम गरिरहेका छन् । आफ्नै प्रदेशका लागि उनीहरू उपयोगी हुन सक्थे तर अवसर दिन सकेनन् । यो राज्य प्रणालीकै असफलता हो । जनस्वास्थ्य भनेको केवल अस्पतालमै सीमित उपचार होइन, यसले पानीको गुणस्तर परीक्षणदेखि लिएर सरसफाइ, जनचेतना, रोगनिवारण, आपत्कालीन व्यवस्थापन सबैलाई समेट्छ ।

वीरगन्जमा पानीको गुणस्तर जाँच नगरी वितरण गर्नु, दूषित पानीका कारण हैजा फैलनु, यसले राज्यकै लापरबाहीलाई प्रमाणित गर्छ । एकजना डाक्टरले २४ घण्टा खटेर पनि बिरामीलाई बचाउन नसक्दा लापरबाहीको दोषारोप गरिन्छ भने हैजा फैलाउने जस्तो ठूला संरचनागत लापरबाही कसको हो ? यो प्रश्न पनि उत्तिकै उठ्नुपर्छ । हैजा फैलिने एउटै माध्यम छ । खानेपानीमा दिसाको कणको मिसावट अर्थात् फेकोओरल माध्यम । तराईमा खानेपानीको अभाव कतै छैन, किनभने जमिनमुनिबाट पानी निकाल्न सजिलो छ । खानेपानी संस्थानले दिएको धाराको पानी मात्र पानीको स्रोत नभएर हरेक घरमा ट्युबेल, इनार आदि हुन्छन् । त्यसैले, तराईमा हैजा नियन्त्रण गर्न सजिलो हुन्छ । खानेपानीको वितरणलाई बन्द गर्ने, सबै वितरणका लाइनहरूको परीक्षण गर्ने, अनि पानीलाई परीक्षण गरेर सञ्चालन गर्ने गर्नुपर्छ । पहाडी क्षेत्रमा खानेपानीको धेरै विकल्प हँुदैन, त्यहाँ गाह्रो हुन्छ ।

तर तराईमा जटिलता रहँदैन । यद्यपि, वीरगन्जमा सहजै नियन्त्रण भएको देखिएन । अहिलेको समयमा अति आधुनिक प्रयोगशाला छन्, पानीलाई निर्मलीकरण गर्ने उपाय छन्, जीवाणुलाई नियन्त्रण गर्ने र हैजाले गरेको जलवियोजनलाई उपचार गर्ने साधनहरू छन् । तर पनि वीरगन्जमा नागरिकहरूको मृत्यु भयो । महामारी नियन्त्रण हुन समय लाग्यो । यसले जनप्रतिनिधि, स्वास्थ्य प्रणालीमाथि प्रश्न उठ्नु स्वाभाविक हो । त्यसैले यसका लागि दोषारोप मात्र होइन, संरचनागत सुधार आवश्यक हुन्छ । जान स्नोले हैजाको पानी वितरणसँग सम्बन्ध देखाएपछि मात्र बेलायतले आफ्नो सरसफाइ प्रणाली सुधार गर्‍यो । आज १९० वर्षपछि पनि हैजाको महामारी फैलिनुले हाम्रो कमजोर स्वास्थ्य प्रणाली उदांगिएको छ । खानेपानी वितरण प्रणालीको जवाफदेहिता हुनुपर्ने हो । सरसफाइ, ढल निकासलगायत सम्बधित विभागहरूको गैरजिम्मेवारीले भएको यो महामारीले अन्य पालिकालाई पनि संवेदनशील हुन शिक्षा दिइरहेका छन् ।

भाषण र शब्दमा नैतिकता, राष्ट्रियता, जवाफदेहिता खोजेर हुन्छ र ? विज्ञहरूलाई उपेक्षा गरेर, वैज्ञानिक प्रमाणलाई नीति निर्माणमा प्रयोग नगरी खोक्रा आदर्शलाई मान्यता दिनु र महामारीलाई राजनीतिक दृष्टिले मात्रै हेर्नु नै सबैभन्दा ठूलो समस्या हो । जनस्वास्थ्यलाई बेवास्ता गरेर कुनै समाज टिक्दैन । वैज्ञानिक अनुसन्धान, तथ्यांक आधारित नीति, जनस्वास्थ्य विज्ञको सक्रिय भूमिका, सफा पानी र सरसफाइमा लगानी अति आवश्यक छ । यीबिना हैजा मात्रै होइन, अरू संक्रामक रोगहरूले पनि हामीलाई पटक–पटक त्रास दिनेछन् । वीरगन्जमा हैजाले मच्चाएको कहर केवल एउटा रोगको प्रकोप होइन, यो हाम्रो सम्पूर्ण स्वास्थ्य प्रणालीको दुर्बलताको ऐना हो । यसैले हामी सबैले आत्मसमीक्षा गर्नैपर्छ— राजनीतिक नेतृत्व, प्रशासन, स्वास्थ्यकर्मी, जनस्वास्थ्य विज्ञ, नागरिक सबै मिलेर मात्र समाधान हुन्छ । रोग सिमाना हेरेर आउँदैन, हैजाले मन्त्रीदेखि सर्वसाधारण सबैलाई असर गर्छ ।

अन्ततः, राज्यले अब गम्भीर निर्णय लिनैपर्छ । हरेक प्रदेश र पालिकाहरूले आफ्नै जनस्वास्थ्य विज्ञलाई प्राथमिकतामा राख्नुपर्छ । खानेपानीको गुणस्तर परीक्षणलाई अनिवार्य गर्नुपर्छ र महामारी नियन्त्रणलाई उच्च प्राथमिक्तामा राखेर वैज्ञानिक दृष्टिले हेर्नुपर्छ । स्वास्थ्यमा सम्झौता गरेर, योग्यहरूलाई पन्छाएर अनि फरक क्षेत्रका व्यक्तिहरूलाई जनस्वास्थ्यको जिम्मेवारी दिएर प्रसासनिक काम चलाउन सकिएला । तर, नागरिकको स्वास्थ्य सेवा राम्रो बनाउन सकिँदैन । स्वास्थ्यमा धेरै विधाहरू छन्, सबैको आवश्यकता र क्षेत्रहरू छन् ।

एउटा विज्ञलाई अर्को क्षेत्रको जिम्मेवारी दिनुले स्वास्थ्य प्रणाली राम्रो बनाउन सकिँदैन । यसैले, अब ठोस कदम चाल्नै पर्छ । हरेक प्रदेशहरूले तुरुन्त आफ्ना जनस्वास्थ्य विज्ञहरूको ड्यासबोर्ड बनाउनुपर्छ । प्रत्येक नगरपालिकामा खानेपानीको नियमित परीक्षण अनिवार्य गर्नुपर्छ, र महामारी प्रतिक्रिया टोली (रापिड रेस्पोन्स टिम)हरू गठन गर्नुपर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.