नेपाली जन–मनमा विपिन फर्किने विश्वास
तेल अभिव : शनिबार साँझ इजरायलको तेल अभिवस्थित होस्टेज स्क्वायर मानवता, आशा र साहसको केन्द्र बनेको थियो। समुद्रको हावासँगै हजारौं बत्तीको झलमल्ल उज्यालोमा चम्किएको चौरमा उपस्थित मानिस मौन थिए तर उनीहरूको मौनतामा गहिरो भावनात्मक शक्ति लुकेको आभाष हुन्थ्यो। भीडका बीच पनि ठूला अक्षरमा लेखिएको ब्यानर ‘आवर फाइट इज नट ओभर अनटिल द लास्ट होस्टेज रिटन्र्स’ प्रस्टै देखिन्थ्यो।
यसले सबैको आँखामा चम्किरहेको आशाको प्रतीकलाई झल्काइरहेको थियो। सभामा हावामा लहराउँदै गरेको रातो–नीलो रंगको नेपालको राष्ट्रिय झन्डाले त्यहाँ उपस्थित नेपालीलाई आशाभित्र पनि एकता र गर्भको अनुभूत गराइरहेको थियो। तेल अभिवमा भएको भव्य धन्यवाद सभामा नेपाली समुदायको उपस्थितिले अझै विशेष अर्थ राख्यो। इजरायलमा बस्ने नेपालीले नेपालको झन्डा बोकेका थिए। हातमा ‘ब्रिङ बिपिन होम’ लेखिएका प्लेकार्ड बोकेका थिए। नेपाली समुदायले त्यहाँ केवल आफ्नो उपस्थिति मात्र देखाएनन्, उनीहरूको भावनात्मक समर्थनले सभालाई अझै अर्थपूर्ण बनायो।
विपिन र उनकी बहिनीको संघर्ष

नेपालीका लागि विपिन केवल एक बन्धक मात्र होइनन्, उनी हजारौं युवा र परिवारका लागि आशा र मानवताको प्रतीक बने। उनको बन्धक अवस्थाले नेपाली मात्र नभई अन्तर्राष्ट्रिय समुदायलाई पनि संवेदनशील बनाएको छ। बेपत्ता विपिनको खोजीका लागि पहल गर्ने क्रममा नेपाल–इजरायल सम्बन्धमा भावनात्मक आयाम थपिएको छ।
विपिनकी १७ वर्षीया बहिनी पुष्पा जोशीले दाइको सुरक्षित फिर्तीका लागि निरन्तर प्रयास गरिरहेकी छिन्। उनी नेपाल–इजरायल दूतावास, अन्तर्राष्ट्रिय रेडक्रस समिति, संयुक्त राष्ट्रसंघसँग निरन्तर सम्पर्कमा छन्। पुष्पाको आवाजले स्पष्ट सन्देश दिएको छ, ‘हामीलाई थाहा छैन उनी कहाँ छन्, तर हाम्रो विश्वास छ कि उनी सुरक्षित छन्। हाम्रो प्रयास कहिले पनि रोकिँदैन।’
उनले केही महिना पहिले तेल अभिवको सभामा सम्बोधनसमेत गरेकी थिइन्। पीडा भरिएको उनको उक्त सम्बोधनले त्यहाँ उपस्थित नेपालीलाई भावनात्मक रूपमा निकै छोएको थियो। ‘विपिन, यदि तिमीले सुन्दै छौ भने, हामी सबै तिम्रो प्रतीक्षा गर्दैछौं। तिमी हाम्रो मात्र होइन, सम्पूर्ण नेपालीको आशाभरोसा हौं। दाइ तँ कहाँ छस्’, पुष्पाको रोदनले सभामा उपस्थित सबैका आँखा रसाएका थिए।
‘शान्ति कमजोरी होइन, उच्चतम शक्ति’
शनिबार भएको सभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टिभ विटकफ, इजरायली सेनाका प्रमुख एडमिरल ब्राड कुपर, जारेड कुशनर र इभांका ट्रम्पको पनि उपस्थिति थियो।
सभालाई सम्बोधन गर्दै विटकफले भने, ‘मैले यो रातको सपना देखेको थिएँ। जब साहस र विश्वास भेटिन्छ, चमत्कार हुन्छ। तपाईंहरूले संसारकै आशा बोकेको हुनुहुन्छ। शान्ति कमजोरी होइन, उच्चतम् शक्ति हो।’
भीडमा उपस्थित मानिसले ताली बजाए। आँसु झारे र एकअर्कालाई अँगालो हालेर साझा भावनाको अनुभूत गरे। अन्य वक्ताले पनि शान्तिको महत्वबारे बोले। उपस्थित नेपाली जनसमुदायले पनि ती शब्दमा आफ्नै आशा र पीडा मिसाउँदै कामना गरे, ‘विपिन सकुसल फर्किएस।’
नेपाली समुदायको एकता
इजरायलमा करिब १० हजार नेपाली कामदार छन्। यस्ता खाले सभामा धेरै नेपालीको उपस्थिति हुने गरेको छ। उनीहरू विभिन्न स्थानमा बसोबास गर्ने भए पनि सबैको उद्देश्य एउटै हुन्छ– विपिनको सुरक्षित फिर्ती। अनि उनीहरू नेपाली झन्डा फहराउँदै नारा लगाउँछन्, ‘पिस फर अल : ब्रिङ बिपिन होम।’ 
उपस्थित जनसमुदायको एउटै भावना छ, ‘हामी यहाँ श्रम गर्न आएका हौं, तर आज हामी मानवीय कारणका लागि उभिएका हौं। विपिन हाम्रो आशाका प्रतीक हुन्।’ नेपालीको भावनात्मक समर्थनले सभाको वातावरणलाई अझ प्रेरणादायी बनाउने गरेको छ। यसले नेपाल–इजरायल सम्बन्धमा मानवीय दृष्टिकोणको महत्वलाई पनि झल्काएको छ।
हमासको घोषणासँगै जीवनको आशा
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हमासले बाँकी रहेका सबै बन्धकहरू जीवित र मृत दुवैलाई सोमबार बिहान मुक्त गर्ने तयारी गरेको छ। जीवित बन्धकहरूलाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ। इजरायलका होस्टेज संयोजक गल हिर्शले गाजाबाट बन्धक फिर्ती प्रक्रिया सोमबार बिहान ६ वा ७ बजेदेखि सुरु हुने सम्भावना रहेको बताएका छन्। रोयटर्सका अनुसार इजरायली सरकारका प्रवक्ताले पनि २० जीवित बन्धक सोमबार बिहानै फिर्ता गरिने पुष्टि गरेका छन्।
रेडक्रसका ८ देखि १० सवारीसाधनले बन्धकहरूलाई गाजाबाट ल्याउनेछन्। ती सवारी साधनमा एम्बुलेन्स पनि छन्। इजरायल प्रवेश गरेपछि बन्धकहरूलाई मनोवैज्ञानिक सहयोग र स्वास्थ्य परीक्षणका लागि रिइम क्याम्पमा लगिने जनाइएको छ। त्यसपछि उनीहरूलाई परिवारसँग भेट गराइने र उपचारका लागि विभिन्न अस्पताल पठाइनेछ।
इजरायलले मृत बन्धकहरूको शव पनि गाजाबाट ल्याउने तयारी गरेको छ। रेडक्रसको सवारीले जीवित बन्धकहरू ल्याइसकेपछि मृतकहरूको शव ल्याउनेछ। शवहरूलाई सम्मानपूर्वक अबु कबिर फरेन्सिक इन्स्टिच्युटमा पुर्याइनेछ।
हिर्शका अनुसार नेपाली नागरिक विपिन जोशी र इजरायली नागरिक तामिर निम्रोदीको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त भएको छैन। उनले भने, ‘हामी हमाससँग उनीहरूको अवस्थाबारे निरन्तर सम्पर्कमा छौं।’ यद्यपि नेपाली समुदाय र विपिनका परिवारले भने हाल सामूहिक प्रार्थना गरिरहेका छन्। सबैको मनमा झिनो आशा अझै मरेको छैन :अब विपिन फर्किन्छन्।
बढ्दो अन्तर्राष्ट्रिय सक्रियता
विपिनको अपहरणले अन्तर्राष्ट्रिय समुदायमा संवेदना र सक्रियता बढाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्प र उनका प्रतिनिधिहरू मध्यपूर्व शान्ति र बन्धक रिहाइमा सक्रिय छन् भने इजरायल सरकारले रिहाइ प्रयासमा सहयोग गरिरहेको छ। अन्तर्राष्ट्रिय रेडक्रस कमिटी र अन्य मानवअधिकार संगठनहरूले बन्धकहरूको सुरक्षा सुनिश्चित गर्दै आएका छन्। साथै नेपाली समुदायको उपस्थितिले, पुष्पा र परिवारको प्रयासले विश्व मञ्चमा मानव अधिकार र मानवीय मूल्यको महत्व झल्काएको छ।
नेपाली समुदायको भावनात्मक एकता
तेल अभिवको सभामा नेपाली समुदायले भावनात्मक रूपमा बलियो एकता देखाएको छ। झन्डा फहराउने, फोटो बोक्ने, प्लेकार्ड प्रदर्शन गर्ने लगायतका क्रियाकलापले सभाको महत्व बढाउनुको साथै नेपालीको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ। विपिनको सुरक्षित फिर्ती अझै पूर्णरूपमा पुष्टि भएको छैन। तर, अन्तर्राष्ट्रिय समझदारी र हमासको घोषणाअनुसार सबै बन्धकहरू रिहा हुने अपेक्षा छ।
विपिनको घटनाले नेपाल–इजरायल सम्बन्धलाई केवल कूटनीतिक वा आर्थिक दृष्टिकोणमा सीमित नराखी, मानवीय र भावनात्मक आयाम थपेको छ। नेपालले मानवताको पक्षमा आवाज उठाउन सक्छ भन्ने सन्देशसँगै नेपाली समुदायले आफ्नो बल र एकता देखाएर मानवीय दृष्टिकोणमा योगदान दिएको प्रष्ट हुन्छ।
- तेल अभिवमा गरियो विशाल धन्यवाद सभा। शनिबार साँझ होस्टेज स्क्वायरमा लाखौं मानिस उपस्थित।
- इजरायलमा बस्ने नेपालीले नेपालको झण्डा फहराउँदै भनिरहेका थिए, ‘ब्रिङ विपिन होम’।
- विपिन केवल बन्धक होइनन्, नेपाली युवा र परिवारका लागि आशा र मानवताको प्रतीक हुन्।
- विपिनकी बहिनी पुष्पा दाइको सुरक्षित फिर्तीका लागि आशावादी। नेपाल–इजरायल दूतावास, संयुक्त राष्ट्रसँग लगायतसँग निरन्तर सम्पर्कमा।
- अमेरिकी प्रतिनिधि स्टिभ विटकफ, एडमिरल ब्राड कूपर, जारेड कुशनर र इभांका ट्रम्पको शनिबारको सभामा सम्बोधनले झल्कायो अन्तर्राष्ट्रिय ऐक्यबद्धता।
- विपिनको रिहाइको प्राथना गर्दै उपस्थितहरूले आँसु झारे, ताली बजाए र साझा मानवताको अनुभूति व्यक्त गरे।
- लाखौंको भेलामा नेपाली समुदायको उल्लेखनीय सहभागिता। सबैको उद्देश्य विपिनको सुरक्षित फिर्ती।
- हमासको घोषणा : बाँकी बन्धकहरू पहिलो चरणमा २० जना सोमबार मध्यरातसम्म फिर्ता हुने।
- भविष्यको आशाः विपिनको सुरक्षित फिर्ती र बाँकी बन्धकहरूको मुत्तिाmले नेपाली समुदायमा साहस, एकता र अन्तर्राष्ट्रिय ऐक्यबद्धता बढाउने विश्वास।
इजरायल–हमास युद्धविराममा राष्ट्रपति ट्रमको भूमिका
इजरायल–हमास द्वन्द्वले पछिल्ला दुई वर्षमा मध्यपूर्वमा मानवताका दृष्टिले अभूतपूर्व चुनौतीहरू सिर्जना गर्यो। सन् २०२३ को अन्तदेखि सुरु भएको यो द्वन्द्वमा हजारौं मानिसको जीवन गुम्नुका साथै लाखौं विस्थापित भएका छन ्। युद्धले इजरायल र प्यालेस्टिनी क्षेत्रमा अव्यवस्थित सुरक्षा, आर्थिक ध्वंस र सामाजिक अस्थिरता निम्त्याएको छ। यस्ता परिस्थितिमा अन्तर्राष्ट्रिय समुदाय र राजनीतिक नेताहरूको भूमिका अझ महत्वपूर्ण बनेको छ।
अन्तर्राष्ट्रिय समुदायले यस संघर्षमा मिश्रित भूमिका निर्वाह गरेको छ। संयुक्त राष्ट्रसंघ, युरोपेली संघ र अरू प्रमुख अन्तर्राष्ट्रिय निकायहरूले मानवअधिकार उल्लंघन र नागरिक क्षतिको जाँच गर्दै युद्ध विरामका लागि दबाब बनाएका थिए। विशेष गरी संयुक्त राष्ट्रसंघको मध्यस्थतामा वार्ता प्रक्रिया अघि बढाइएको थियो, जसले हमास र इजरायलबीच सीमित क्षेत्रीय युद्ध विराम स्थापित गर्न सहयोग गर्यो। तर, अन्तर्राष्ट्रिय समुदायका विभिन्न देशहरूको भिन्न–भिन्न स्वार्थले पूर्ण स्थायी समाधान कठिन बनाएको छ। कतिपय देशहरूले इजरायललाई सशर्त समर्थन दिए भने कतिपयले प्यालेस्टिनी अधिकार र मानवतावादी आवश्यकतालाई प्राथमिकता दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम र अन्तर्राष्ट्रिय समुदायको संयोजनले अन्ततः द्वन्द्वको प्रारम्भिक अन्त्यमा सहयोग पुर्यायो। ट्रम्पले मध्यपूर्व भ्रमण र उच्चस्तरीय कूटनीतिमार्फत इजरायल र हमासबीच विश्वास पुनर्निर्माणका प्रयासमा भूमिका खेले। यस क्रममा मानवतावादी राहत, बन्दी रिहाइ, र सीमा व्यवस्थापनमा पनि सहमति गराइयो। यद्यपि स्थायी समाधान हुन अझै टाढा छ। यो प्रारम्भिक युद्ध विरामले दुई वर्षे रक्तपातलाई कम गर्न, मानवीय राहत पुर्याउन र राजनीतिक संवादको ढोका खोल्न महत्वपूर्ण भूमिका खेलेको छ।
अनतः इजरायल–हमास द्वन्द्वमा ट्रम्पको भूमिका मुख्यतः इजरायलको सुरक्षा सुनिश्चित गर्ने र प्रत्यक्ष वार्ता प्रक्रियामा मध्यस्थता गर्नमा महत्वपूर्ण रह्यो।
प्रतिक्रिया दिनुहोस !