अत्यधिक वर्षाको चपेटमा महोत्तरी किसानहरू

अत्यधिक वर्षाको चपेटमा महोत्तरी किसानहरू
सुन्नुहोस्

महोत्तरी : अत्यधिक वर्षाका कारण आएको बाढीले रातु नदीको तटबन्धन कटान गर्दा यहाँका किसानहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। खेतमा लगाएको बालीनाली नष्ट हुँदा उनीहरूमा अब वर्षभरि के खाने भन्ने चिन्ता सताएको छ।

ऋण वा सापटी लिई खेतीपाती गरेका किसानहरू अहिले प्रत्यक्ष रूपमा प्रभावित भएको गौशालाका पूर्वशिक्षक भरतप्रसाद सिंहले बताए। उनले भने, ‘वर्षाले धान बाली नष्ट भएको छ। काट्ने अवस्थामा रहेको उखु ढलेको छ। तरकारी गलेको छ। जसले गर्दा किसानहरू सबैभन्दा चिन्तित देखिएका छन्।’ 

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार बाढी र वर्षाको कारण यहाँका नौ पालिकाका कृषि क्षेत्र अस्तव्यस्त भएको छ। ती पालिकामा मात्रै करिब दुई हजार हेक्टरमा लगाइएको धानबाली नष्ट भएको कृषि ज्ञान केन्द्रका प्रमुख देवानन्द यादवले बताए। 

उनका अनुसार कृषि ज्ञान केन्द्रमा प्राप्त विवरणअनुसार बाढीले यहाँका दुई हजार हेक्टर जमिनमा लगाइएको धानबाली डुबाएर नष्ट गरिएको छ। केन्द्रले दिएको जानकारी अनुसार अहिले महोत्तरी गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ। जहाँका ६०० हेक्टर क्षेत्रफलमा लगाएको धानबाली नष्ट भएको छ। 

त्यस्तै बलवा नगरपालिकामा ५०० हेक्टर, मटिहानी नगरपालिकामा ३०० हेक्टर, एकडारा गाउँपालिकामा ३०० हेक्टर, लोहारपट्टी नगरपालिकामा १०० हेक्टर, भङ्गाहा नगरपालिकामा ८६ हेक्टर, औरही नगरपालिकामा २३ हेक्टर, गौशाला नगरपालिकामा २० हेक्टर र सोनमा गाउँपालिकामा १० हेक्टर गरी एक हजार ९३९ हेक्टर जग्गामा लगाइएको धानबाली नष्ट भएको हो।

त्यसैगरी बाढीले १ हजार २९० हेक्टर उखुबाली, ६ सय ३६ हेक्टर तरकारी बाली तथा १ सय ५३ हेक्टर जग्गामा लगाइएको दलहन बाली नष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। उखुबालीमा सबैभन्दा बढी सोनमा गाउँपालिकामा ८७५ हेक्टर र तरकारी बालीमा सबैभन्दा बढी मटिहानी नगरपालिकामा १०० हेक्टर क्षति भएको जनाइएको छ।  

१५ पालिका रहेको महोत्तरीमा बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको विवरण अझ आउन बाँकी रहेको छ। हरेक पालिकाबाट क्षतिको विवरण माग गरिएको र सम्पूर्ण विवरण आएपछि क्षतिको मुआब्जाको विषयमा पहल कदमी गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ।

२२८ घरपरिवारका सदस्यहरू विस्थापित

महोत्तरी बाढी र डुबानले २२८ घरपरिवारका सदस्यहरू विस्थापित भएको तथ्यांक प्राप्त भएको छ। सबैभन्दा बढी महोत्तरीको गाउँपालिका-६ गोनरपुरकाका ७० परिवार विस्थापित भएका छन्। 

त्यस्तै बलवा नगरपालिका-६ तिलगढका २६ परिवार, औरही गाउँपालिका-२ चेवकटका २० परिवार, रामगोपालपुर नगरपालिकाको विभिन्न वडाको ७८ परिवार विस्थापित भएको प्रहरीको तथ्यांकमा उल्लेख रहेको छ। उनीहरू कोही छिमेक, कोही विद्यालय र सार्वजनिक दलानमा आश्रय लिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी शैलेन्द्र भट्टले बताए। 

असोज १९ गते आएको अविरल वर्षाका कारण जिल्लाका सयौं घरपरिवार विस्थापित भएका छन्। उनीहरूमध्ये अधिकांशको फुसको घर भत्किएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.