इलाममा २९० घर ध्वस्त, ४०० परिवार विस्थापित
सुनसरी : इलाममा असोज १८ देखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोले २ सय ९० घर पूर्णरूपमा ध्वस्त भएका छन्। बाढी र पहिरोले जिल्लाका ७ सय ५३ घरमा आकस्मिक क्षति पुर्याएको जिल्ला प्रशासन कार्यालय इलामले जानकारी दिएको छ।
बाढीपहिरोले व्यापक मानवीय र भौतिक क्षति पु¥याएको इलाममा ४०० घरपरिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी लक्ष्मी भण्डारीले बताए। उनका अनुसार तीमध्ये ११ परिवार सामुदायिक भवनमा बसोबास गरिरहेका छन् भने ३ सय ८९ परिवार आफन्तकहाँ आ श्रय लिएर बसेका छन्।
जिल्लामा बाढी र पहिरोबाट करिब ७ सय १८ घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यो प्राकृतिक विपत्तिबाट ३९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ जना महिला र १८ जना पुरुष छन्। त्यस्तै, १३ जना गम्भीर रूपमा घाइते भएका छन् भने १ जना अझै बेपत्ता रहेको डीएसपी भण्डारीले बताए।
इलामका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंका अनुसार असोज १८ देखि २८ सम्मको अवधिमा जिल्लाका १० स्थानीय तह बाढी र पहिरोबाट प्रभावित भएका छन्। उनले जिल्लाका सूर्योदय, माई, इलाम र देउमाई नगरपालिकाका साथै माङसेबुङ, फाकफोकथुम, सन्दकपुर र माईजोगमाई गाउँपालिका सबैभन्दा बढी प्रभावित क्षेत्र रहेको बताए।
विपत्तिपछि इलामका विभिन्न स्थानमा उद्धार र राहत कार्य जारी छ। जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घाइतेको उद्धार र विस्थापित परिवारलाई सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेको छ। स्थानीय तह र संघीय सरकारको सहकार्यमा पीडित परिवारलाई त्रिपाल, खाना, लत्ता कपडा र अन्य आवश्यक सामग्री वितरण गरिएको सहायक प्रजिअ गुरागाईंले बताए।
बाढी र पहिरोले सडक बगाएपश्चात् मेची राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। वैकल्पिक सडकमार्ग प्रयोगमा ल्याइए पनि ठूला सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ। यसले गर्दा दैनिक उपभोग्य सामग्री, औषधि र पेट्रोलियम पदार्थको ढुवानीमा समस्या उत्पन्न भएको छ। बजारमा अत्यावश्यक वस्तुको अभाव बढ्दै गएको र मूल्यवृद्धि कृतिम अभाव सिर्जना गरिएको स्थानीयले बताएका छन्।
जिल्ला प्रशासनले सडक मर्मत, उद्धार र राहत कार्यलाई प्राथमिकतासाथ अघि बढाएको छ। गुरागाईंका अनुसार क्षतिको विस्तृत विवरण संकलन भइरहेको र राहत वितरणलाई पारदर्शी बनाउन स्थानीय तहसँग समन्वय भइरहेको छ। उनले प्रभावित क्षेत्रमा आवास पुनर्निर्माण र दीर्घकालीन पुनस्र्थापनाका लागि केन्द्रसँग सहयोग मागिएको समेत जानकारी दिए।
इलाममा पहिरोले बस्ती मात्र होइन, विद्यालय, स्वास्थ्यचौकी, बिजुली र खानेपानीको पाइपलाइनसमेत क्षतिग्रस्त बनाएको छ। स्थानीयले यथाशीघ्र सडक मर्मत र राहत वितरण प्रभावकारी बनाउन सरकारसँग जोडदार माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस !