युवाको बलिदान खेर नजाओस्

युवाको बलिदान खेर नजाओस्

जेन—जी प्रदर्शनको मुख्य उद्देश्य नातागोतामुक्त, न्यायसंगत र भ्रष्टाचारमुक्त नयाँ नेपालको निर्माण हो।

‘इतिहास दर्शन हो र दर्शन इतिहास।’ -जर्मन दार्शनिक हेगेल
 गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शनले मुलुकमा राजनीतिक भुइँचालो ल्याएको छ। पहिलो दिनको प्रदर्शन बलिदानको दिन थियो भने दोस्रो दिनको प्रदर्शन उसको रौद्र रूपको। यसले सरकारी र व्यक्तिगत सम्पत्तिको अपूर्णनीय र अकल्पनीय क्षति गर्‍यो। यो पक्कै निर्दोष, निहत्था र नेतृत्वविहीन जेन–जीको प्रदर्शनको चाहना थिएन तर यसलाई निश्चित रूपमा कुनियत सोच र योजनाबद्ध रूपले केही समूहले दुरुपयोग गरी मुलुकलाई यस्तो अवस्थामा पुर्‍याएको देखिन्छ। यसको अनुसन्धान र दोषीमाथिको कारबाही नयाँ सरकारले गर्नेछ भन्ने हाम्रो विश्वास हो। 

नवयुग क्रान्ति : कुनै पनि बलिदान अहिलेसम्म खेर गएको छैन। १९९७ सालमा चार युवाको बलिदानले २००७ सालको क्रान्तिको जग बसालेको थियो। जसले १०४ बर्से राणाशासनको अन्त्य गरे। २०४६/०४७ को बलिदानले निरंकुश राजतन्त्रलाई जनता निर्मित संविधानअन्तर्गत ल्याएको थियो। त्यस्तै २०६२/०६३ को बलिदानले राजतन्त्रलाई किनारा लगाएको थियो। मधेसी बलिदानले संघीयता स्वीकार्न राजसत्तालाई बाध्य तुल्याएको थियो र यो जेन—जीको बलिदानले नयाँ राष्ट्रनिर्माणको बाटो प्रशस्त गर्दछ। जसमा भ्रष्टाचार, स्वच्छ प्रशासन, उचित न्यायपूर्ण, नाता कृपावादमुक्त जनकल्याणकारी नयाँ समाज र राष्ट्रको निर्माण हुनेछ। 

यस प्रसंगमा नेपालको इतिहासलाई हेरौं, गोरखाका राजा पृथ्वीनारायण शाह आफ्नो राज्य विस्तार परियोजनाअनुसार काठमाडौं उपत्यका माथि (जुन नेपाल थियो) तीन छुट्टाछुट्टै राज्यमा विभाजन भई मल्ल राजाबाट शासित थिए। आधिपत्य प्राप्त गरेको ६ वर्षभित्र बिते। उनका जेठा छोरा प्रतापसिंह शाह राजा बने। र उनी पनि ३ वर्षभित्र मरे र उनका साढे दुई वर्षका छोरा रणबहादुर शाह राजा बने।

रणबहादुर शाह बालिग भएपछि राज्य विस्तार गरे। तर डेढ वर्षको छोरो गीर्वाणविक्रमलाई उत्तराधिकारी बनाउन खोज्दा उनको विरोध भयो र उनी काशीवासतिर लागे। तर दुई वर्षभित्र काठमाडौं फर्की भीमसेन थापाको सहयोगले विरोधीहरू दामोदर पाण्डे आदिलाई मारी सत्ता आफ्नो हातमा लिए। तर दुई वर्षमा उनको हत्या भयो। थापाले राज्य विस्तारका पश्चिमी सिमाना सतलज नदीसम्म लगे र काश्मीरतिर बढ्ने उनको विस्तार अभियानलाई काँगडाले रोके। भारततिर इस्ट इन्डिया कम्पनी पनि राज्य विस्तारमा लागेकोले उसले काठमाडौंलाई मात्र पहाडसम्म सीमित गर्न खोजे। यसले युद्ध निम्त्यायो। युद्धमा काठमाडौंको पराजय भयो र सुगौली सन्धिअन्तर्गत नेपालले पूर्व र पश्चिम दुवैतिरको इलाका गुमाए।

राजा गीर्वाण बालिग हुनासाथ मरे र उनका तीन वर्षका छोरा राजेन्द्रविक्रम राजा बने। बालिग भएपछि रानीको सल्लाहअनुसार राजाले माथवरसिंह थापालाई मुख्तियार बनाए। उनले राजालाई १४ वर्षका राजकुमार सुरेन्द्रलाई राजा बनाउन दबाब दिन थाले। यस शक्ति संघर्षमा माथवरसिंह थापा मारिए। र थापाको नातेदार जंगबहादुर कुँवरको कोतपर्वबाट एकलौटी हातमा शासन आयो। चन्द्रशमशेरले पहिलो विश्वयुद्धमा अंग्रेजलाई सघाए र त्यसबापत केही फाइदा पनि उठाए। र नयाँ मित्रताको सन्धि गरे, जसले नेपाललाई बढी स्वायत्तता दिइयो। उनीपछि जुद्धशमशेरले दोस्रो विश्वयुद्धमा अंग्रेजहरूलाई मद्दत गरे र सत्ता टिकाए। तर १९९७ का चार युवाहरूको बलिदानले २००७ सालको क्रान्ति निम्तायो। 

अर्ध क्रान्ति

यस क्रान्तिबाट उपत्यका बाहिरका जनता प्रवेशाज्ञाबिना नै उपत्यकामा प्रवेश गर्ने अधिकार प्राप्त गरे। तर यो क्रान्ति अर्ध–क्रान्तिमात्र भयो। किनकि क्रान्तिको एकमात्र तत्कालीन उद्देश्य राणाशासनको अन्त्य गर्नु थियो। यसले राणा शासकलाई निरन्तरता, राजालाई सत्ता पुनर्बहालीको साथसाथै नेपाली कांग्रेस र राणाका संयुक्त शासनलाई लोकतन्त्रको स्थापनाको आधारको रूपमा निर्वाचित संविधानसभाबाट नयाँ संविधान बनाई नेपाललाई जनताको परियोजना बनाउने उद्देश्य राखेको थियो। तर पछिका सबै घटनाचक्र उल्टो दिशामा चल्यो। संयुक्त सरकार चलेन। राजा अधिकार प्राप्त गरी आफ्नो शाहवंशीय शासनतिर लम्किए। नेपाली कांग्रेसको आफ्नो आन्तरिक विग्रहले लोकतन्त्रको आशामाथि तुषारापात गरिदिए। 

यो जेन—जीको बलिदानले नयाँ राष्ट्रनिर्माणको बाटो प्रशस्त गर्दछ। जसमा भ्रष्टाचार, स्वच्छ प्रशासन, उचित न्यायपूर्ण, नाता कृपावादमुक्त जनकल्याणकारी नयाँ समाज र राष्ट्रको निर्माण हुनेछ। 

राजा त्रिभुवन पछि नयाँ राजा महेन्द्रले संविधानसभाको सट्टा संसदीय निर्वाचनतिर नयाँ संविधानबाट लागे। शायद नेपाली कांग्रेसले पनि संविधानसभाको लागि प्रतीक्षा त्यागी संसदीय निर्वाचनमा होमिएर दुई तिहाइ बहुमतले विजय प्राप्त गर्‍यो र सरकार बनायो। त्यसको १८ महिनापछि २०१७ सालमा भंग गरियो र संसदीय व्यवस्था नै फाली नयाँ निर्दलीय पञ्चायती व्यवस्था मुलुकमाथि लादियो। 

यो पश्चगामी परिवर्तन थियो। मुलुकलाई पुनः एकतन्त्रीय व्यवस्थातिर लग्यो जनमतसंग्रहबाट व्यवस्था टिकाए। यसलाई २०४७ सालको प्रथम जनआन्दोलनले व्यवस्थालाई फाल्यो र संसदीय व्यवस्थाको पुनस्र्थापना गरे। २०४७ देखि २०५८ सालसम्म तीनवटा आम निर्वाचन भयो। तर राजनीतिक स्थिरता नेपाली कांग्रेसको आपसी कलह र माओवादी संशस्त्र द्वन्द्वले दिएन र करिब १० वटा सरकार बदलियो। राजा वीरेन्द्रको वंशनाश भयो र राजा ज्ञानेन्द्रले राजसत्ता आफ्नो हातमा लिए। यसले दोस्रो आन्दोलन निम्त्यायो। 

यो एक किसिमले पूर्ण कान्ति थियो। यसले राजतन्त्र फाल्यो र संसद्को पुनस्र्थापना भयो। तर राजनीतिक स्थिरता दिन सकेन। जनआन्दोलन र संविधानसभाबाट संविधान निर्माणका १० वर्षमा पनि ७ वटा सरकार बने। र संविधान बनेपछि दुईवटा आम निर्वाचन भएको हो। तर राजनीतिक स्थिरता राजनेताहरूको स्वार्थले गर्दा सपना नै भयो र जनता पुनः राज्यको केन्द्रविन्दु बन्न सकेन। आखिर राजा र राजनेताका एउटै बाटो किन ? यसका केही कारणहरू देखिन्छन्। 

शासन गर्ने अतृप्त भोक : राजा त्रिभुवनलाई दरबारभित्र सबै सुख–सुविधाहरू राणा–शासनले उपलब्ध गराएको हुनुपर्दछ। तर ती न त उनका अग्रजलाई पुगेको थिए र उनलाई। अरू माथि शासन गर्ने, निरकुंशताको भावना, असीमित अधिकारको भोक, आजीवन न त बढीभन्दा बढी शासनसत्ताको उपभोगको चाहना यसका प्रमुख कारण देखिन्छन्। आज पनि कति चोटी प्रधानमन्त्री र मन्त्री बन्ने रहर, कति वर्षसम्म शासन गर्ने सीमा नतोक्नुबाट प्रस्ट हुन्छ। आफू सत्ताबाहिर गए पनि नातागोतालाई सत्ता हस्तान्तरण गर्ने सोच र राष्ट्रपति पनि बन्ने र पछि प्रधानमन्त्री बन्ने
इच्छा राख्नु सत्ताप्रतिको मोह नै हो। 

धन सम्पत्तिको सीमा नहुनु : नेताको सम्पत्ति विवरणबाट थाहा हुन्छ कि ऊ कतिको धन आर्जन गरेको छ। त्यसलाई सार्वजनिक गर्नु पर्दैन। 
धन–आर्जन कति पुस्ताको लागि धन–सम्पत्ति आर्जन गर्ने ? 
—    एउटा राजा हटाएर प्रत्येक प्रधानमन्त्री आफूलाई राजा नै ठान्न लागे। 
—    सुरक्षा र अन्य सुविधा जथाभावी पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरूलाई दिने व्यवस्था गरे। 
—    राष्ट्रपतिलाई राजकीय सुविधा, महाभियोग लागेपछि निलम्बन नहुने व्यवस्था उनलाई स्वेच्छाचारी बनाएर।
—    राज्य वा मुलुक भन्नाले राज्यसत्ता र भूगोल वा राज्य सीमा बुझ्नु र जनतालाई गौण ठानिनु नै मूल कारण हो। राजाले आफूलाई राज्य ठाने। किनकि

राज्यको सार्वभौमिक सत्ता राजामा निहित रहन्छ। तर, लोकतन्त्रमा पनि राजनेतामा पनि त्यस्तै सोच रहेको पनि देखिन्छ। त्यसले गर्दा जनताको हित राज्यको हित होइन, राजसत्ताको हित हो जसमा राजनेताहरूको स्वार्थ सिद्धि हुन्छ। 

परिणाम, कृषि प्रधान देशका कृषि योग्य भूमि सिँचाइ र वर्षाको अभावमा बाँझो रहन्छ। विगतका दुई दशकमा युवा शक्तिका विदेश पलायन तीव्र गतिमा भयो र अहिले ६०/७० लाख युवा विभिन्न मुलुकमा रोजगारी प्राप्त गरिरहेको अवस्था सिर्जना भयो। रोजगारीको अभावमा दिनको दुई हजार युवाहरू विदेश पलायन भइरहेका छन्। र खाडी मुलुकहरूमा ५०/५५ डिग्रीको तापक्रमा काम गर्दै गरिरहेका छन्। दिनमा तीन/चारवटा शवहरू विमानबाट देश भित्रि“दै रहेका छन्।

दुई किसिमको शिक्षा अर्थात् निजी स्कुलबाट प्राप्त शिक्षाबाट युवा अमेरिका, क्यानडा, अस्टे«लिया र युरोपतिर गइराखेका छन् भने सामूहिक स्कुलबाट शिक्षा प्राप्त गरेका युवा खाडीका मुलुकहरूलाई आफ्ना गन्तव्य बनाएका छन्। उखु किसानको उत्पादनको अनुदान दिने सरकारसित स्रोत नहुनु र मिटरब्याजीको चर्को ब्याजबाट मुक्ति दिलाउन साहसको अभाव जनतालाई गौण बनाएको देखियो। 

अबको बाटो

जेन—जी प्रदर्शनको मुख्य उद्देश्य नातागोतामुक्त, न्यायसंगत व्यवस्था र भ्रष्टाचारमुक्त नयाँ नेपालको निर्माण हो। अहिले मुलुक राजनीतीकरण गरिएको प्रशासनयन्त्र, सुरक्षा निकाय, न्यायपालिका, संवैधानिक निकायहरू र भ्रष्ट राजनीतिको चक्रव्यूहमा फसेको छ। एकले अर्कोलाई जोगाउन खोज्दै आएको विगतका अनुभव छ। यस जालोलाई तोड्न गाह्रो छ तर विकल्प छैन। अहिले सरकार बनाउने मुद्दाले प्राथमिकता पाएको छ र भ्रष्टाचारविरुद्धको आन्दोलन पछाडि धकेलिएको देखिन्छ। यो अति नै चुनौतीपूर्ण र लामो संघर्षपूर्ण हुनेछ जसको लागि धैर्य आवश्यक छ। 

हामी सबैले, राष्ट्रपतिदेखि सांसद, कर्मचारी, उद्योग व्यवसायी, व्यापारीलगायत यो सोचौं कि राष्ट्र पुनर्निर्माणका लागि हामी आफ्नो कुन स्वार्थ त्याग गर्न सक्छौं र त्याग गरौं। यसमा हामी सबैको हित छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.