नागरिकलाई सुरक्षा प्रत्याभूति गराउनुको विकल्प छैन : आईजीपी खापुङ
काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले आमनागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन प्रहरी व्यवासायीकरुपमा सक्षम भएको बताएका छन्। शुक्रबार ७० औं प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा महानिरीक्षक खापुङले परिवर्तनको हालको परिस्थिति र आगामी दिनहरूमा समेत उत्पन्न हुने सुरक्षा चुनौतिको सामना गर्दै आमनागरिकलाई सुरक्षाको प्रत्याभूत गराउनुको विकल्प नरहेको बताए।
जेनजी युवाहरूको भ्रष्टाचाररहित समाज, सुशासन, स्थायीत्व र पारदर्शीताका साथै सहज सार्वजनिक सेवाको माग आम जनताको समेत माग भएकाले नेपाल प्रहरी त्यस्ता मागका विषयमा विगतदेखि नै संवेदनशील रहँदै आएको धारणा राखे।
आन्दोलन तथा प्रदर्शनका क्रममा प्रहरीमाथि भएको आक्रमणले प्रहरीविरुद्ध आक्रोश र अपराध बढेको लागेता पनि भ्रमको पर्दा च्यातिएको उनले बताए।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक कृष्ण बहादुर रानालाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गरिएको थियो। यसैगरी जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टलाई ‘पूर्ण शान्ति पुरस्कार’, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीलाई ‘मोतिलाल सर्वोत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार’ र प्रहरी अनाश्रित गुल्म डिल्लीबजारका प्रहरी निरीक्षक दुर्गा राईलाई ‘योगेन्द्र स्मृति साहसिक पुरस्कार’प्रदान गरिएको थियो। त्यस्तै अमर प्रहरीका छोराछोरीलाई प्रहरी छात्रवृत्ति प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !