युवा संघले सुर्खेतबाटै बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र, जेनजी आन्दोलनमा अराजकता मच्चाउनेलाई कारबाहीको माग
वीरेन्द्रनगर : नेकपा एमाले निकट राष्ट्रिय युवा संघले जेनजी आन्दोलनमा अराजकता मच्चाउनेलाई कानुनी कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। सुर्खेतमा बृहत् र्याली निकालेर जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयमा पुगेर सुर्खेतका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै युवाहरूले देशको संस्कृति, न्याय र लोकतन्त्रमाथि जेनजीका नाममा भएको आक्रमणका विरुद्ध कडा कारबाही माग गरेको हो।
राष्ट्रिय युवा संघका कर्णाली प्रदेश अध्यक्ष जीवन शाही प्रधानमन्त्रीलाई बुझाउने ज्ञापन पत्र पढ्दै जेनजीका नामा अराजक समूहले गरेको विध्वंसले नेपालमा शान्तिपूर्ण भएका राजनीतिक तथा सामाजिक परिवर्तनका आन्दोलनहरूमाथि नै प्रहार भएको बताए।
नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं फाँट विभाग इन्चार्ज मानव बमले जेनजी आन्दोलनमा भएको मानवीय र भौतिक क्षति दुःखद भएको बताए। उनले भने, ‘जेनजी पुस्ताको चेतना, सहभागिता र परिवर्तन प्रतिको उत्साह स्वागत योग्य हो। युवा पुस्ताले उठाएका सवालहरू समय सापेक्ष र जाहेज हुन्। उनीहरूको आवाज सुन्नु र सम्बोधन गर्नु राज्यको दायित्व हो। तर आन्दोलनका नाममा देखिएका अराजक गतिविधिहरू, तोडफोड र जनता, उद्यमी, व्यापारीमाथि भएका आक्रमण आन्दोलन र नेपालको नैतिक बल कमजोर बनाउने कार्य हुन्। राजनीतिक चेतनासँगै अनुशासन, संयम र कानुनी मर्यादाको पालना पनि अनिवार्य हुनु आवश्यक छ। हामी युवा चेतनाको पक्षमा छौँ तर त्यसका नाममा हुने अराजकताको पक्षमा हुन सक्दैनौं। त्यसैले अपराध गर्ने जो कोही व्यक्ति भएपनि कानुनी दायरामा ल्याउनुपर्छ। आन्दोलनका नाममा अपराध गर्नेलाई संरक्षण हुनु हुँदैन।’
जेनजी आन्दोलनमा कर्णालीमा कति भयो क्षति ?
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कर्णालीमा अर्बौंको क्षति भयो। आन्दोलनकारीहरूले सुर्खेत, जुम्ला, कालीकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, पार्टी कार्यालय र निजी निवासहरूमा तोडफोड र आगजानी गरे। प्रहरीका अनुसार सबैभन्दा बढी सुर्खेतमा क्षति भएको छ। जसमा प्रदेश सभा, सिटी हल र अन्य सार्वजनिक सम्पत्तिहरूमा ठूलो क्षति पुगेको छ।
खासगरी कर्णाली प्रदेशका १० वटै जिल्लामा आन्दोलनरत पक्षले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० वटा संरचना तथा ४५ सवारी साधनमा तोडफोड तथा आगजनी गरेका छन्। प्रदेशका १० जिल्लाहरू मध्ये सुर्खेत, जुम्ला, कालीकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, संस्थाका कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, सरकारी निवास र जनप्रतिनिधिका निजी निवासहरूमा तोडफोडसँगै आगजनी भएका हुन्। जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुम पश्चिममा आन्दोलनकारीहरूले प्रदर्शन गरे पनि सार्वजनिक र निजी सम्पत्ति तोडफोडका घटना भएनन्।
प्रतिक्रिया दिनुहोस !