नरक चतुर्दशीमा किन स्नान र दीपदान गरिन्छ ?
काठमाडौं : प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघिको समयमा नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज बिहान विधिपूर्वक गरिएको छ ।
स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने प्रचलन छ। यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा यसलाई नरके नुहाएर बगाउने भन्ने गरिन्छ।
आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहिआएको छ। यसैकारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । आजैकै दिन कुकुर तिहार मनाइँदै छ। कुकुरको पूजा गरी मीठा कुरा खान दिइँदैछ । आज बेलुकीपछि भने औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ ।
कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण नरक चतुर्दशी कुकुर तिहार तेस्रो दिन आज परेको हो।
यस वर्ष कात्तिक १ गते शनिबारदेखि यमपञ्चक अर्थात् तिहार पर्व सुरू भएको हो । दोस्रो दिन आइतबार काग तिहार र धनवन्तरी पर्व मनाइएको थियो । यो नेपालीको बडा दशैंपछि दोस्रो ठूलो चाड हो । यसलाई उज्यालोको चाड पनि भनिन्छ । यमपञ्चक लागेसँगै शहर, बजार झिलीमिली बनेको छ । यसैले तिहारलाई उज्यालोको पर्व पनि भनिन्छ ।
प्रतिक्रिया दिनुहोस !