मोरङमा बालिकाको बीभत्स शव फेला, बलात्कारपछि हत्या गरिएको अनुमान
विराटनगर : मोरङको लेटाङमा दुई सातादेखि बेपत्ता भएकी एक बालिकाको शव शुक्रबार जंगलभित्र अत्यन्तै वीभत्स अवस्थामा फेला परेको छ।
लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको शव बेलबारी–चिसाङ साझेदारी वनभित्र फेला परेको प्रहरीले जनाएको छ। उक्त वन क्षेत्र लेटाङ र बेलबारीको सिमानामा पर्छ। मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार अंशुको शव टाउको र शरीर छुट्टिएको अवस्थामा भेटिएको हो।
शव कुहिएर दुर्गन्धित भइसकेको र वरिपरि दुर्गन्ध फैलिएको जानकारी उनले दिए। उनका अनुसार घाँस काट्न गएका स्थानीयले शुक्रबार दिउँसो करिब १ः३० बजे शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि इलाका प्रहरी कार्यालय लेटाङको टोली र स्वयं एसपी कटवाल समेत घटनाको अनुसन्धानका लागि घटनास्थल पुगेका थिए।
अंशु असोज २१ गते दिउँसो करिब ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन्। अभिभावकलाई केही जानकारी नदिइकन निस्किएकी उनी त्यसपछि कहिल्यै फर्किने भइनन्। प्रहरी, अभिभावक र स्थानीयले लगातार खोजी गरे पनि उनी भेटिएकी थिइनन्। दुई सातापछि जंगलभित्र उनको सडेको र टाउको–शरीर छुट्टिएको अवस्थामा शव फेला परेपछि गाउमाँ शोक एवं त्रास फैलिएको छ।
घटनास्थलमा अंशुले लगाएका ट्राउजर र हाफपाइन्ट लगायतका कपडा फुकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। कपडा शवको नजिकै फेला परेकाले बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। एसपी कटवालले भने, ‘शवको अवस्था अत्यन्तै डर लाग्दो छ। टाउको र शरीर छुट्टिएको छ। प्रारम्भिक रूपमा धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको जस्तो देखिन्छ। तर, जंगलभित्र जंगली जनावरको आक्रमणबाट पनि मृत्यु भएको हुन सक्ने सम्भावना नकार्न मिल्दैन।’ उनका अनुसार पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणपछि मात्रै घटनाको वास्तविकता प्रस्ट हुने छ।
लेटाङ–२ का वडाध्यक्ष तेजप्रसाद तिम्सिनाका अनुसार अंशु स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन्। ‘उनका बाबुआमाको आर्थिक अवस्था अत्यन्तै सामान्य छ। उनी विपन्न परिवारकी बालिका थिइन्। वीभत्स अवस्थामा शव फेला परेको खबर सुन्दा सिंगो गाउँ नै स्तब्ध बनेको छ,’ तिम्सिनाले भने।
स्थानीयले घटनालाई योजनाबद्ध हत्या भन्दै दोषीलाई तुरुन्त पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेका छन्। वडाध्यक्ष तिम्सिनाले पनि घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या नै गरेको ठम्याउन सकिने बताए। ‘बालिका हराएको दिनदेखि नै प्रहरीसँग मिलेर खोजी गर्ने काम भइरहेको थियो। तर, एक्कासि वीभत्स अवस्थामा शव भेटियो। अब अनुसन्धानबाट दोषीलाई पत्ता लगाएर कानुनको कठघरामा उभ्याउनैपर्छ,’ उनी भन्छन्।
प्रहरीले घटनास्थल वरपरका बासिन्दासँग सोधपुछ गरिरहेको छ। घटनास्थलबाट प्रमाण संकलन गरी विस्तृत अनुसन्धान अघि बढाइएको एसपी कटवालले बताए। उनका अनुसार शवलाई कानुनी प्रक्रिया पूरा गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि पठाइएको छ। ‘पोस्टमार्टम रिपोर्ट र फरेन्सिक परीक्षणपछि मात्रै हामी निश्चित निष्कर्षमा पुग्नेछौं,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा गम्भीर आपराधिक गतिविधि भएको आशंका छ। त्यसैले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइएको छ।’
प्रतिक्रिया दिनुहोस !