छठमा छ श्रद्धा, श्रम र समानता

छठमा छ श्रद्धा, श्रम र समानता
फाइल तस्बिर ।

छठ केवल धार्मिक उत्सव मात्र होइन, यो श्रम, शुद्धता, समानता र प्रकृतिप्रति कृतज्ञताको अद्भुत संगम हो। घरभित्रको पूजा होइन, खुला आकाशमुनि जलाशयमा गरिने यो उत्सव वास्तवमा सामूहिकता र आस्था दुवैको प्रतीक हो। यस पर्वका जल, माटो, सूर्य र श्रम चारवटा महत्त्वपूर्ण तत्त्व हुन्। यो पर्वले मानिसलाई सम्झाउँछ— अस्तित्व केवल घर–परिवारको सिमानामा होइन, प्रकृतिसँगको सन्तुलनमा निहित छ। छठमा भक्तजन घाटमा, पानीको छेउमा, खुला आकाशमुनि भेला हुन्छन्। सूर्यलाई अघ्र्य दिने यो अनुष्ठान धर्मभन्दा माथि उठेर समुदाय र प्रकृति बीचको साक्षात्कार पनि हो भन्दा फरक पर्दैन।

सूर्यपूजा मानव सभ्यताका अत्यन्त प्राचीन परम्परामध्ये एक हो। ऋग्वेदमा सूर्यलाई जीवनदाता, रोग नाशक र ऊर्जा स्रोतका रूपमा उल्लेख गरिएको पाइन्छ। छठ पर्वलाई यसै सूर्यपूजाको निरन्तरता मानिन्छ। पौराणिक ग्रन्थहरूमा कुन्तीले पाण्डव पुत्र प्राप्तिका लागि छठ पर्व व्रत गरेको उल्लेख पाइन्छ। द्रौपदीले पनि यही व्रत गरेकी थिइन्। त्यसबेला सूर्य भगवान्ले कुन्तीलाई पुत्र र द्रौपदीलाई संकटमोचन वरदान दिएका थिए भन्ने विश्वास छ। मिथिला, भोजपुर, विहार र पूर्वी तराई क्षेत्रमा यसको अभ्यास अत्यन्त पुरानो छ। शताब्दीयौं अगाडिदेखि किसान र ग्रामीण समुदायले वर्षको उपज र सूर्यको कृपाप्रति आभार व्यक्त गर्न यो पर्व मनाउँदै आएका छन्।

पौराणिक मान्यताअनुसार छठी माता स्वयं सूर्यदेवकै स्त्री रूप हुन्। कथाअनुसार नारद ऋषि ब्रह्मचर्यमा गर्वित थिए। भगवान् विष्णुले उनीमाथि मायाको खेल खेल्नुभयो। साँझपख सूर्यास्त अघिको समयमा कुण्डमा नुहाइरहेकी एक अनुपम सुन्दरीलाई देखेपछि नारद ऋषि मोहमा परे। यो देखेर सूर्यदेव हासे। त्यसैले नारद क्रुद्ध भए र सूर्यलाई स्त्री रूपमा रहने सराप दिए। स्त्रीरूपमा बस्न गाह्रो हुने भनेर बिलौना गरेपछि भगवान् विष्णुको मध्यस्थतामा त्यो सरापलाई एक दिनमा सीमित गरियो। वर्षको एक निश्चित (कार्तिक शुक्ल षष्ठीका) दिन सूर्यदेव स्त्री रूपमा रहने बताएको छ। र, यस दिन सूर्यलाई स्त्री रूपमा, छठी परमेश्वरीका रूपमा पूजा गरिन्छ। त्यस्तै कतैकतै शास्त्रहरूमा छठी माईलाई सूर्यकी पत्नी उषाको रूपमा पूजिन्छ। उषालाई आकाशको पुत्री (आकाशपितृ द्यृ ः सुपुत्रा) र रात्री वा नकटाकी बहिनीका रूपमा मानिन्छ। उषा अर्थात् बिहानको पहिलो उज्यालो जसले जीवनमा आशा र नयाँ सुरुवात ल्याउँछ। फेरि कतैकतै लोक व्याख्यामा छठी मातालाई सूर्यको बहिनीको रूप पनि मानिएको छ। तर, जे जस्तो भए पनि छठमा अन्ततः सूर्यलाई नै दिनानाथका रूपमा मानिन्छ र अध्र्य दिइन्छ। कतैकतै चैत्र शुक्ल षष्ठी तिथिमा ‘चैती छठ’ पनि गर्ने गरिन्छ।

क्यालेन्डरमा छठलाई एक दिनको देखिए पनि छठ पर्व चार दिनमा सम्पन्न हुन्छ। यो कात्तिक शुल्क चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ। हरेक चरणमा धार्मिकता मात्र होइन, प्रतीकात्मक अर्थ पनि गहिरो छ। पहिलो दिन व्रतीहरू बिहानै नुहाएर शरीर र घर शुद्ध गर्छन्। नदी वा पोखरीमा स्नान गरी घर फर्केर भाँडा–भाँडाकँुडा सफा गरी शाकाहारी परिकार बनाइन्छ। त्यसै परिकारलाई प्रसाद मानेर खाने चलन छ। यस दिनबाट शुद्धता, संयम र व्रतको प्रारम्भ हुन्छ। दोस्रो दिनलाई ‘खरना’ भनिन्छ। तेस्रो दिन साँझ अस्ताउँदै गरेको सूर्यलाई घाटमा अघ्र्य दिइन्छ। चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइसके पछि मात्र छठ व्रत सम्पन्न हुन्छ। यो क्षणमा जलाशयमा झल्किएको सूर्य, दीप, गीत र भीडले एक अद्भुत आध्यात्मिक अनुभव दिन्छ। सबैको मुखमा शान्ति, मनमा आशा र अनुहारमा आनन्द झल्किरहेको हुन्छ।

छठ पर्वका विशेषता सामान्य चाडभन्दा धेरै फरक छन्। यो उत्सव सामाजिक व्यवहार, सांस्कृतिक अभ्यास र आत्मनिर्भर जीवनशैलीको ज्वलन्त उदाहरण हो। छठमा सबै पूजा सामग्री घरेलु हुन्छन्। छठ पर्वले ग्रामीण अर्थतन्त्रलाई पनि चलायमान बनाउँछ। बजारमा खरिदभन्दा आफ्नै श्रमलाई प्राथमिकता दिइन्छ। यसरी यस पर्वले स्थानीय उत्पादन, आत्मनिर्भरता र श्रमको सम्मानलाई प्रोत्साहित गर्छ। छठ केवल आस्थाको पर्व होइन, यसमा वैज्ञानिक तत्त्व पनि गहिरो छ। सूर्यका किरणले शरीरमा भिटामिन डी दिन्छ। बिहानको घाम र पानीमा नांगो खुट्टा उभिँदा शरीरलाई ऊर्जा प्राप्त हुन्छ।

व्रत, संयम र शुद्धताले मानसिक–शारीरिक अनुशासन बलियो बनाउँछ। यसरी धार्मिक अभ्यास वैज्ञानिक लाभसँग जोडिएको छ। अर्कोतिर छठमा परिवारका सबै सदस्य सक्रिय हुन्छन्। घर सफा गर्ने, प्रसाद तयार गर्ने, घाट सजाउने, गीत गाउने सबैमा सहभागिता हुन्छन्। विशेषगरी महिलाहरूले व्रतलाई अगाडि बढाउँछन्। उनीहरूको नेतृत्व र समर्पणले परिवार र समुदायलाई एकै धागोले बाँध्छ। घाटमा अघ्र्य दिने क्षणमा परिवारका सदस्य एउटै घेरामा हुन्छन्। यो केवल धार्मिक विधि होइन, भावनात्मक एकताको प्रतीक पनि हो।

आज छठ पर्व केवल मिथिला वा मधेसमा मात्र सीमित छैन। प्रवासमा रहेका नेपाली र भारतीय समुदायले अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा कृत्रिम पोखरी बनाएर छठ मनाउने गरेका छन्। छठले धेरै सन्देश दिन्छ। धनी–गरिब, जात–धर्म सबैलाई एउटै ठाउँमा उभ्याएर समानता र समाजवादको सन्देश दिन्छ। जलाशयको सफाइ, पर्यावरणप्रतिको मायाले स्वच्छता र प्रकृतिप्रेमको सन्देश दिन्छ। छठ पर्व केवल व्रत र पूजाको परम्परा होइन, यो जीवन दर्शन हो। यो पर्वले सिकाउँछ, प्रकृतिलाई मन्दिर ठान, श्रमलाई धर्म ठान, समानतालाई संस्कार ठान। जहाँ धनी र गरिब एउटै घाटमा उभिन्छन्, जहाँ जलाशयलाई घरभन्दा बढी सजाइन्छ, जहाँ पूजा सामग्री बजार होइन, आफ्नै खेतबारीबाट आउँछ, त्यस्तो उत्सव धर्मभन्दा माथिको मानवता र सामूहिक चेतना हो भन्दा फरक नपर्ला।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.